मनकारी शान्ता, तीन सय बढीलाई न्यानो कपडा

रीता लामा
दाङ, २२ पुस। वि.स २०७० सालमा प्रकाशित ‘कमलही देखि सभासदसम्म’ पुस्तकमा उल्लेख भए अनुसार नेपाल कम्युनिष्ट पार्टीकी नेता शान्ता चौधरी सात बर्षको उमेर देखि कमलहरी जीवन बाच्नुभयो । लगातार १८ बर्षसम्म उहाँले कमलही जीवन विताउनुभयो र अर्काको फाटेको कपडाले दशकौँ हिउँदे जाडो छेक्नुभयो ।

हिजो अर्काको फाटेको कपडा लगाउने शान्ता अहिले अरुलाई निरन्तर न्यानो कपडा वितरण गरिरहनुभएको छ । यसपटक पनि उहाँले हिउँद सुरु भए देखि दाङका विभिन्न वस्तीहरुमा पुगेर तीन सय बढीलाई कपडा वितरण गर्नुभएको छ । विशेषगरी गरीव, निम्नवर्गका थारु, दलित, सुकुम्वासी, मुक्त कमैयावस्तीहरुमा पुगेर न्यानो कपडा वितरण गरेको उहाँलेब बताउनुभयो ।


हिजो घोराहीको बजार नजिकै पर्ने सुकुम्वासी वस्तीका २८ जना विपन्न आमाहरुलाई न्यानो सल वितरण गर्नुभयो । कपडा वितरण गर्दैगर्दा भेटिनुभएकी नेता चौधरीले गरीव वस्तीमा पुग्दा आफुलाई आफ्नो विगत याद आउने बताउनुहुन्छ । ‘गासँ, वास र कपासको अभावमा मैले विताएको दिन सधै सम्झाना आउछ ।’ उहाँले भन्नुभयो ‘गरीव वस्तीमा पुग्दा केही न केही लिएर जान पाए पनि हुने भन्ने लाग्छ । सोही कारण हरेक हिउँदमा न्यानो कपडा वितरण गर्दैआएको छु ।’

Blog Post Ad


केही समय अघि घोराही उपमहानगरपालिका वडा नम्वर १६को सुकुम्वासी वस्तीका ६७ घर परिवारलाई उहाँले कम्वल वितरण गर्नुभएको थियो । यस्तै देउखुरी स्थित मुक्त कमलहरी छात्रावासमा वस्दै आएका करिव ७० जना मुक्त कमलहरी छात्राहरुलाई कपडा पनि दिनुभयो ।

गत आइतवार घोराहीको विकट क्षेत्रमा पर्ने जनता प्राथमिक विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत ७१ जना बालबालिकालाई उहाँले न्यानो कपडा वितरण गर्नुभएको छ । सोमवार पनि उहाँले देउखुरीको मुक्त कमैया शिविर मै पुगेर ४१ घर परिवारलाई न्यानो कपडा वितरण गनुभएको थियो । यो हिउँदको समयमा न्यानो कपडा वितरण गर्दा कतिपय जेष्ठ नागरिकहरु रुदै आर्शिवाद दिएको सम्झदा आत्म सन्तुष्टी हुने गरेको उहाँको अनुभव छ ।

हिउँदमा मात्रै होइन कसैको घर जल्दा होस् वा वाढी पहिरो प्रभावितहरुलाई पनि उहाँ सबैभन्दा चाँडो सहयोग लिएर पुग्ने गर्नुभएको छ । अरुको दुःखमा थोरै भए पनि मलम लगाउने प्रयास स्वरुप आफन्त, साथीभाईहरुबाट सहयोग मागेर र केही आफ्नै कमाईबाट सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ ।


वि.स २०६४ सालमा समानुपातिक समाभासद भए देखि निरन्तर दुई पटक सभासद र हाल विघटित संसदिय दलकी सचेत रहनुभएकी चौधरीले संविधानसभा सदस्य चुनिएदेखि हालसम्म हरेक हिँउदमा आफ्नो गृह जिल्लामा न्यानो कपडा वितरणको काम गर्दै आउनुभएको छ ।