बेसाहारा भएर श्रममा लाग्न बाध्य एक बालकलाई तुलसीपुरबाट उद्धार


जीतसागर जी.एम. ।

तुलसीपुर, २१ पुस ।
श्रममा लाग्न बाध्य एक बालकलाई तुलसीपुरबाट उद्धार गरिएको छ । बेसाहरा भएर बसमा सहचालकको रुपमा काम लाग्न पुगेको तुलसीपुर–३ डाँडाकुटीका १४ वर्षिय बालकलाई उद्धार गरी बालबालिका ट्रान्जिट होममा राखिएको छ ।

आमाले छोडेर गएको र बुबा सम्पर्कबिहिन भएपछि रा १ ख २१९६ नम्बरको बसमा सहचालकको रुपमा काम गर्न लागेको भन्ने सुचना पाएपछि तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा , प्रहरी र स्थानीयको सहयोगमा ति बालकलाई सोमबार साँझ तुलसीपुरको नयाँ बसपार्कबाट उद्धार गरिएको हो ।

Blog Post Ad

श्रममा लगाउने यातायात व्यवसायीलाई आज सोधपुधका लागि बोलाइएको र पहिलो पटकमा चेतावनी दिने , अटेर गरेमा कानुन अनुसार कार्बाहीको दायरामा ल्याइने तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ति बालक कार्तिकदेखि बसमा सहचालकको रुपमा काम गर्न लागेको पत्ता लागेको छ । बालबालिकालाई श्रममा लगाउन नपाइने कानुनी प्रावधान भएपनि विभिन्न बहानामा श्रममा लगाउने क्रम बढेपछि अहिले खोजि तथा उद्धार अभियान संचालन गरिरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकालाई बालश्रम मुक्त सहरको रुपमा विकास गर्ने उद्देश्यका साथ काम अहिले श्रममा लाग्न बाध्य बालबालिकालाई उद्धार गरी सकेसम्म परिवारको जिम्मा लगाउने र परिवारबिहिन बालबालिकालाई सरकारले सम्पूर्ण जिम्मेवारी लिने उहाँको भनाई छ ।