कोरोनाका कारण बन्द चालक अनुमतिपत्रको परीक्षा खुल्यो

घोराही, ११ पुस । कोरोना संंक्रमणको जोखिमका कारण ९ महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षा मंगलबार देखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै पुस १४ गते मंगलबार देखि सवारी चालक अनुमति पत्रको परीक्षा खुल्ला हुने जनाएको हो ।

विभागले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्ड परिपालना गर्दै अनलाइनबाट फाराम बुझाउन सकिने व्यवस्था गरेको जनाएको छ । कोरोना संक्रमण फैलँदै गएपछि सरकारले चैतदेखि परीक्षा फाराम लिन नै बन्द गरेको थियो ।

यसअघि सवारीचालक र सवारीसाधन नवीकरण लगायतका काम जारी राखिए पनि सवारी चालक अनुमति पत्रको परीक्षा भने खुलाइएको थिएन । यातायात व्यवस्था कार्यालय सेवाग्राहीको धेरै भीडभाड हुने प्रमुख कार्यालयमा पर्ने गरेको जनाइएको छ ।

Blog Post Ad