कथा : छोरी

दीपक जी.एम. ” आर्जव ”

समाजमा अहिले पनि छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने गरिन्छ । छोरी जन्मिदा दुखित हुने र छोरा जन्मिदा खुशी हुने मानिसहरु धेरै भेटिन्छन् । समाजमा विभिन्न किसिमका मानिसहरुको बसोबास रहेको हुन्छ तर पनि आजको दिनहरुमा धेरै उदाहरणहरु सजिलैसँग हामीहरु देख्न सक्छौं । छोरीप्रति माया नहुने होइन तर पनि छोराको आशमा नरहने बुवाआमा कमै होलान् ।

Blog Post Ad

“ए भेषे तेरो भाग्यमा छोरा छैन जस्तो छ । मलाई त आश लाग्ने छोड्यो । छिमेकी रणेको कुरा सुनेर भेषे निराश भई पुर्पुरोमा हात राखी थचक्क भुइँमा बस्छ । ज्योति बुवाको निन्याउँरो अनुहारलाई नियालिरहेकी हुन्छे । छोराको आशमा तीनवटी लगातार छोरीहरु जन्मिदा भेषे अत्यन्त दुःखी हुन्छ । पुनः रणे बोल्छ– हेर भेषे मैले भनेको मान्छस् भने अर्की स्वास्नी भित्र्याउने तरखर गर । होइन भने कहिलेसम्म यसरी एकपछि अर्को छोरा पाउने आशमा छोरीहरु जन्माइरहन्छस् । त्यतिकैमा स्वास्थ चौकीबाट डाक्टरनी बाहिर निस्किन्छिन् र रिसाउँदै भेषेलाई झपार्छिन् । तपाईलाई आफ्नी श्रीमतीको माया छ कि छैन । किन तपाई बुझ्न खोज्नु हुन्न ।

उहाँको शरीर निकै शिथिल र कमजोर भइसकेको छ । अब पनि अर्को बच्चा जन्माउने सोच्नु भयो भने उहाँको ज्यानलाई खतरा हुनसक्छ । डाक्टर्नीको कुरा सुनेर भेषे केही नबोली भित्र छिर्छ । शान्ति रुदै बोल्छिन् । ए हजुर मलाई माफ गर्नुस् मैले तपाईलाई छोरा दिन सकिन । बरु मैले भनेको मान्नु हुन्छ भने अर्को बिहे गर्नुस् ।

शान्तिको कुरा सनेर भेषे निमुख हुन्छ अनि केही नबोली बाहिर निस्किन्छ । जसले जे भने पनि भेषेको अर्को बिहे गर्ने इच्छा थिएन किनकी शान्तिलाई ऊ असाध्यै माया गथ्र्यो जसस्वरुप उसलाई शान्तिको कुरा आफ्नो मन राख्नको लागि भनेको हो भन्ने बुझेको थियो । दिनहरु बित्ने जारी रहन्छ ।

समय बित्दै जान्छ शान्तिले यसपालि पनि बच्चा जन्माउने सोच बनाउँछिन् । भेषेको मुहारमा दिनप्रतिदिन निराशापन देखेर शान्तिको चिन्ताको विषय बनेको थियो । शान्तिलाई ज्यानको खतरा छ भनेर अब कुनै बच्च नजन्माउने भनेर भेषेले सल्लाह गर्छ । तर पनि शान्तिले आफ्नो श्रीमान र परिवारको खुशीको लागि अन्तिममा बच्चा जन्माउने निधो गर्छिन् । महिनौ बित्दै जान्छ शान्तिको पेटमा रहेको बिज बढ्दै जान्छ । शान्तिले आफूसँग ढाँटेको थाहा पाएर भेषेले शान्तिलाई नजन्माउन आग्रह गर्दछ ।

तर शान्तिले भेषेको कुरालाई बेवास्ता गर्दै अन्त्यमा छोरा जन्माउन सफल हुन्छिन् । यो कुरा भेषेले थाहा पाउँछ र खुशी हुँदै भित्र छिर्छ । छोरालाई देखेर भेषेको मुहारमा अनौठो चमक आउँछ आँखाबाट आँशुको थोपाहरु खसाल्दै छोरालाई आफ्नो छातीमा टाँस्छ । अनि शान्तितिर नजर दौडाउँदा उसको खुशी क्षणभरमै दुःखमा परिणत हुन पुग्छ । शान्तिको प्राण गइसकेको हुन्छ । रुदै भेषे शान्तिको छेउमा बस्छ र ग्लानी गर्न थाल्छ ।

समयको रफ्तार रोकेर रोकिदैन । छोरा बिस्तारै हुर्किदै जान्छ । छोरीहरुलाई सरकारी स्कूलमा भर्ना गराउँदै छोरालाई उच्च शिक्षाको लागि प्राइभेट स्कुलमा भर्ना गराउँदछ । छोरालाई मिठो मिठो खान दिनुका साथै राम्रो लुगाहरु किनिदिन थाल्छ । ठूली छोरी ज्योतीले सबै कुरा राम्रोसँग बुझेकी थिइ । तर पनि भाइप्रतिको मायाले बाबाको आफू अनि बहिनीहरुप्रतिको व्यवहार बेवास्ता गर्दै खुशीसाथ अघि बढ्न थाल्छिन् । एक दिन गाउँमा निःशुल्क स्वास्थ्य शिविर भइरहेको थाहा पाएर ज्योति दगुर्दै त्यस ठाउँमा पुग्छिन् ।

त्यहाँ अधिकांश स्वास्थ्यकर्मी महिलाहरु देखेर अचम्म पर्छिन् । त्यतिकैमा एकजना स्वास्थ्यकर्मी बोल्नुहुन्छ । छोराछोरी दुबै बराबरी हुन्, त्यसैले उनीहरुबीच कहिले पनि भेदभाव नगर्नुस् । सबैजना ताली पट्काउँछिन् । ज्योति पनि खुशी हुँदै यता उता नजर दौडाउँदै जाँदा आफ्नो बाबालाई देख्न पुग्छिन् । भेषेले ज्योतितिर आँखाको इशारा गर्दै घर जाने संकेत दिन्छ । ज्योति निराशभई घरतिर लुखुरलुखुर लाग्छिन् ।

बाटोभरि अघिका स्वास्थ्यकर्मीले भनेका कुराहरु सम्झिदै म पनि धेरै पढ्छु अनि यस्तै समाजको लागि काम गर्छु भनि मनमनै सह्रान थाल्छिन् । साँझ पर्छ सबै जना खाना खान थाल्छन् । त्यत्तिकै बाहिर कोही हिँडेको जस्तो आवाजले ज्योति आफ्नो कान ठाडा पार्छे । अनि हात धुने बहानाले दैलोमा निस्किन्छे ।

अँध्यारोले केही देखिदैनथ्यो तर पनि केही टल्केको दृश्यले ज्योतिले त्यो ठाँउमा जान बाध्य बनाउँछ । नजिकै पुगेर के रहेछ भनि हातले छुदा झोला उनको हातमा पर्छ । साथै टल्केको वस्तु अरु केही नभएर घडी हुन्छ । हत्तनपत्त झोला बोकी कोठातिर लाग्छे । र झोलाभित्र के रहेछ भनि हेर्न थाल्दा । स्वास्थ्य सम्बन्धी किताबहरु हुन्छन् । साथै एउटा पत्र पनि हुन्छ । जसमा लेखिएको हुन्छ– यो घडीले तिमीलाई समयको महत्व बताउनेछ र किताबहरुले ज्ञान प्रदान गर्नेछ । ज्योतिका आँखा रसाउन बाध्य हुन्छन् । साहस गर्दै ज्योति आफ्नो बुबा सामु गई बोल्छे । बाबा म अझै पढ्न चाहन्छु र आफ्नै गाउँमा केही गर्ने मन छ । भेषे मुख बिगार्दै बोल्छ ।

पढेर को ठूलो मान्छे भएको छ र त्यही माथि तँ अर्काको घर जाने जात परिस् । पढ्ने कुरा नगर । तँभन्दा मुनिका भाइबहिनीहरु छन् । म एक्लैले के के नै गर्न सक्छु । बरु अब तेरो बिहे गरिदिने सोँचमा छु । बुबाको कुरा सुनेर ज्योति निकै दुःखी हुन पुग्छे । र केही नबोली ऊ कोठामा आई घुक्क घुक्क गरी रुन थाल्छे ।

बहिनीहरु दिदीलाई रोएको देखेर नरुनुस् भनि सम्झाउन थाल्छन् । घरको हालत त्यति खराब त थिएन। तर पनि बुबाको कुराहरुलाई बेवास्ता गरेर ज्योति शहर जाने सोच बनाउँछिन् । भोलिपल्छ विहान शिविरको टोली शहर फर्किन लागेको थाहा पाएर घरमा थाहा नदिई ज्योति त्यही शिविरको टोलीसँगै शहरतिर लाग्छिन् ।

गाडीमा उनको प्रतिभा र बोलिचालीप्रति सबैको ध्यानआकर्षण हुन जान्छ । रुदै ज्योतिले आफ्नो व्यथाहरु पोख्छे । पढेर आफ्नै गाउँमा गरिब दुःखीलाई सहयोग गर्ने बताउँछे । स्वास्थ्य शिविरका टोली ज्योतिले भनेका कुराहरुप्रति भावुक हुँदै उनलाई सहयोग गर्ने निर्णय गर्छन् । हामी तिमीलाई पढाउँछौं भन्दै एक जना स्वास्थ्यकर्मी बोल्नु हुन्छ । आफूप्रति सकारात्मक व्यवहार देखेर ज्योतिका आँखाबाट आँशुका थोपाहरु खस्न पुग्छन् । यता गाउँमा भेषे चिन्तित भएको हुन्छ । यसरी एकाएक ज्योति केही नभनी कहाँ गई भन्दै गाउँतिर पुरै खोज्दा पनि ज्योतिको कुनै अत्तोपत्तो पाउँदैन ।

समय बित्दै जान्छ । ज्योति पनि सबथोक बिर्सेर पढाईतिर तीव्र गतिले अघि बढ्न थाल्छे । प्रथम श्रेणीमा पास हुँदै ज्योति अब्बल हुन पुग्छिन् । चारैतिर ज्योतिको प्रशंसा हुन थाल्छ । आफ्नो सबै श्रेयहरु सहयोगीहरुलाई हृदयदेखि नै प्रदान गर्छिन् । शहरमा अध्ययन लगत्तै महिला पुनःस्र्थापना केन्द्रमा आबद्ध भई काम गर्न थाल्छिन् । छोराछोरी भेदभाव , महिला हिंसाहरु रोकथामको लागि विभिन्न ठाउँहरुमा गई कार्यक्रमहरु गर्न थाल्छिन् ।

शारीरिक, मानसिक, योनिक, छुवाछुत र घरेलु हिंसाको कसरी रोकथाम गर्ने र निर्मुल पार्ने भनि कार्यक्रमहरु गर्दै जाँदा एक दिन टेलिभिजनमार्फत आफ्नो गाउँमा हैजा फैलिएको थाहा पाउँछिन् । रत्तिभर पनि ढिला नगरी स्वास्थ्यकर्मीहरुसँग ज्योति गाउँ पुग्छिन् । गाउँलेहरुको अवस्था नाजुक भएको देख्दा ज्योति निकै चिन्तित हुन पुग्छिन् ।

ढिला नगरी स्वास्थ्यकर्मीहरुसँग गाउँहरुलको उपचार गर्न थाल्छिन् । आफ्नै गाउँठाउँकी छोरीलाई यसरी कुनै स्वार्थबिना उपचार र सहयोग गरेको देखेर गाउँलेहरु हर्षित हुन पुग्छन् । हैजाको रोकथामप्रति पूर्ण रुपमा लाग्दै ज्योति घर घर पुगेर उपचार गर्न थाल्छिन् भने गाउँलेहरु माझ छोराछोरीबीच भेदभावको अन्त्य गरौं भनि चेतना फैलाउन थाल्छन् । घर पिच्छे जाँदा आफ्नै बाल्यकाल आँगनमा पाइला टेक्छिन् । भाइबहिनीहरु ज्योतिलाई देखेर अत्यन्त खुशी हुन्छन् ।

कान्छि बहिनी ज्योतिलाई कोट्याउँदै बोल्छिे– दिदी दिदी हामीलाई छोडेर नजानुस् है । रुन्चे स्वरमा ज्योतिले बहिनीलाई अंकमाल गर्दै भन्छिन्– हुन्छ नानी म कतै जान्न तिमीहरुलाई छोडेर, सधै तिमीहरुसँगै बस्नेछु । ज्योतिको बुबालाई हैजाले ग्रस्त बनाएको हुन्छ । रुदै ज्योतिले आफ्नो बुबाको उपचार गर्न थाल्छिन् ।

उपचार गलत्तै बिस्तारै बिस्तारै भेषेमा सुधार आउँन थाल्छ । छोरीलाई यसरी आफ्नो आँखा अगाडि नौलो रुपमा देखेर बिगतका दिनहरुलाई सम्झिदै लज्जास्पद महसुश गर्छ । र छोरी ज्योतिसामु माफी माग्न थाल्छ । छोरीमलाई माफ गरिदे । मैले तलाई बुझ्न सकिन, सधै भेदभाव गरेँ तर आज तैले गर्दा मेरो आँखा खुल्न गएको छ । अब म माइली र कान्छी छोरीलाई पनि पढाएर तँ जस्तै ठूलो मान्छे बनाउनेछु । बुबाको मुखबाट निस्केका कारुणिक शव्दहरुले ज्योतिका आँखा रसाउन पुग्छन् । र भावुक हुँदै “बुबा भन्दै अंगालो मार्छिन् ।

” रुदै भेषे पनि छोरीलाई अंकमाल मार्छ भने छोरीको सफलता देखेर गर्व महसुश गर्छ । गाउँभरि छोराछोरीबीच भेदभाव नगरौं भनि प्रचार प्रसार गर्न थाल्छ । बुबामा आएको बदलाव देखेर ज्योति निकै खुशी हुुन्छिन् र गाउँमा एउटा स्वास्थ्य चौकीको स्थापना गर्छिन् साथै छोराछोरी बीच भेदभावरहितको संस्था खोल्छिन् ।

“छोरा होस् या छोरी दुबै बराबरी ।”