१५ वर्षमा वैदेशिक रोजगारीमा गएका झण्डै १२ हजार नेपालीको मृत्यु

दाङ, २९ जेठ । वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया जाने हरेक नेपाली श्रमिकबाट जीवन बिमाबापत रकम संकलन गरिन्छ । तर, रोग लागेर तथा दुर्घटनामा परेर मृत्यु भएका ८१ प्रतिशत कामदारका आश्रित परिवारले क्षतिपूर्ति पाउन सकेका छैनन् । परदेशमा असीमित जोखिम भए पनि बिमाले भने ड्युटीमा रहेको सीमित समयलाई मात्र समेट्ने भएकाले धेरैजसो परिवार क्षतिपूर्तिबाट विमुख छन् ।

Blog Post Ad

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो १५ वर्षमा खाडी र मलेसियामा कम्तीमा ११ हजार ७ सय ६० जना नेपालीको मृत्यु भएका छन् तर २ हजार २ सय ६९ श्रमिकका परिवारले मात्र क्षतिपूर्ति पाएका छन् । पछिल्लो १५ वर्षमा खाडी र मलेसियामा सवारी दुर्घटनामा परी मृत्यु भएका श्रमिक १ हजार ४ सय ९३ र कार्यस्थल दुर्घटनामा मृत्यु हुने ७ सय ७६ श्रमिकका आश्रित परिवारले मात्रै क्षतिपूर्ति पाएका छन् ।

Blog Post Ad

क्षतिपूर्ति नपाउने ८१ प्रतिशतमध्ये २ हजार ३ सय २८ (१९.७९ प्रतिशत) को मृत्यु प्राकृतिक रूपमा भएको हो भने २ हजार ५ जना (१९.६ प्रतिशत) को मृत्यु हृदयाघात र मुटुजन्य रोगबाट भएको हो । त्यस्तै १ हजार ३ सय १५ (११.१८ प्रतिशत) ले आत्महत्या गरेका हुन् । कोभिडबाट ज्यान गुमाउनेको संख्या २ सय २३ (१.८९ प्रतिशत) छ । अन्य विभिन्न कारणबाट मृत्यु भएका ३ हजार ३ सय २० (२८.२३ प्रतिशत) का आश्रित परिवारले पनि क्षतिपूर्ति पाएका छैनन् ।

खाडी मुलुकमा अत्यधिक काम र चर्को गर्मीका कारण हृदयाघात, मुटुजन्य रोगबाट हुने मृत्युको परिमाण निकै धेरै छ । सन् २०१९ मा गरिएको अध्ययन कार्डियोलोजी जर्नलमा प्रकाशित भएको छ जसमा कतारमा नेपाली श्रमिकका मृत्युका मुख्य कारण अत्यधिक गर्मीलाई मानिएको छ ।