२० वर्ष दुबई बसेका दाङका वली व्यावसायिक पशुपालनमा रमाउँदै

रञ्जिता अधिकारी

Blog Post Ad

दाङ, २८ जेठ । कुनै भर्खरै व्याएका र कुनै केही महिना अघि व्याएका भैसी छन् । एकनासका पाडापाडी आरामले बसेका छन् । घोराही उपमहानगरपालिका –६ बचाहाका बाबुराम वलीले विगत तीन वर्ष देखि व्यावसायिक रुपमा भैसी पाल्दै आएका छन् ।

Blog Post Ad

बाबुराम बहुउदेश्यीय कृषि तथा पशुपंछी नामको फर्म दर्ता गरेका छन् । २० वर्ष दुबइमा बसेका वलीले फर्मको प्रोप्राइटरमा श्रीमती बिमला वलीलाई राखेका छन् । महिलाको नाममा व्यवसाय दर्ता गर्दा सहुलियत पाइने भएकाले यसो गरेको उनले बताए । उनले ३६ वटा भैसीबाट व्यावसाय सुरु गरेका थिए । अहिले उनीसंग आठ वटा दुहुना भैसी र तीनका आठ वटा पाडापाडी छन् भने देउखुरीको बेलामा नौ वटा गरी जम्मा १७ वटा भैसी छन् ।

दुध दिँदासम्म भैसी आफै राख्ने दुध दिन छोडेपछि (बकेर्नो) भयो भने दाङको देउखुरीको बेला गाउँपालिकाको यादव समुदायलाई मासिक एक हजार दिएर पाल्न लगाउने र व्याउने भएपछि आफ्नै फर्ममा ल्याउने गरेको वलीले बताए । “विहान बेलुका गरी दैनिक ९६ लिटर दुध आफैले बजार पुर्याउने गरेको छु”, उनले भने । २८ लिटर दुध ७५ रुपैयाँ प्रति लिटरका दरले तुलसीपुर –१८ दुधरासको डेरीबाट किनेर एक सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । “डेरीलाई दुध दिँदा कम मूल्य लिने गर्छन् त्यसैले घाटा हुन्छ । डेरीले लिटरको ७०÷७५ रुपैयाँ दिन्छन् आफूले बिक्री गरेमा एक सय रुपैयाँ लिटरमा बिक्री गर्न पाइन्छ ।”

महिनाको ३० हजार भैसीको दानापानी र अन्य खर्च कटाउँदा तीनलाख ४० हजार आम्दानी हुने गरेको उनले बताए । आफैले मोटरसाइकलमा क्यान राखेर दुध घोराही बजारका ग्राहकलाई घरघरमा पुर्याउने गरेको उनले बताए । आफ्नो काम गर्न लाज मान्नु हँुदैन । पसिनाको कमाई मिठो हुन्छ । सबै भैसीको बिमा गरेको उनले बताए । भैंसीको दुधका साथै मल पनि बिक्री हुन्छ । “एक टेक्टर मल चार हजार पाँच सय रुपैयाँमा बिक्री गर्ने गरेको छु”–उनले भने । अलिकती जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैसीको दुध, मल र बाख्रा बेच्दा पैसा आउँछ ।

गतवर्ष दुध बिक्री गरेको पैसाले साढे दुइ कठ्ठा जग्गा थपेको उनले बताए । २० लाख रुपैयाँ कठ्ठाका दरले ५० लाखमा किनेको बताए । ‘भैसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नु पर्दैन’, उनले भने । गोठको एउटा कोठामा बरसिम घाँस र गहुँको भुस र भरिभराउ रहेको छ । चार बिघा खेतबारी आफ्नै छ, साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने शर्तमा घाँस खेती गर्नलाई भाडामा लिएका छन् । आफ्नै लगानीमा सबै खर्च गरेको उनले बताए । “कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन”– उनले भने । कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उनी बताउँछन् । स्थानीय तहले दिने अनुदानका बारेमा अनबिज्ञ रहेको उनले बताए ।

बाख्रा पालन पनि छ

बाबुराम वलीले भैसीका साथमा बाख्रा पनि पालेका छन् । उनीसंग १७ वटा खसी, बोका र बाख्रा छन् । भैंसीका लागि दानापानी जुटाउन परिहाल्छ त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरको उनले बताए । यही बैशाख महिनामा ७० किलोको खसी कटाउँदा ५६ हजार आम्दानी भएको थियो । “बाख्राबाट पनि राम्रो आम्दानी भएको छ”, उनले भने । भैसी जस्तो दैनिक आम्दानी नभएपनि मासिक रुपमा बाख्राबाट आम्दानी हुने गरेको उनले बताए ।

उनको आफ्नै कथा छ

रोल्पाको तिला गाउँपालिका पुरानो बास स्थान भएका वली नेपाल आर्मीमा भर्ना हुन काठमाडौ गए । त्यहाँ नाम निस्केर तालिम पनि गरे । उनी आर्मीमा भर्ना हुँदा देशमा माओवादी युद्ध चलिरहेको थियो । त्यहाँ गएको नेकपा माओवादीले थाहा पाए र आर्मीमा भर्ना भएका कारण कारबाही गर्ने चेतावनी दिएपछि उनी भागेर भारत गएर छ महिना काम गरेको बताए । त्यहाँ ६ महिना इन्डियन फोर्स सेक्युरेटी गार्डका रुपमा काम गरेर ८० हजार रुपैयाँ ल्याएर घोराही –६ बचाहामा जग्गा किनेको बताए । भारतबाट फर्केपछि दुबइका लागि भिसा लगाए र दुबइ गए । त्यहाँ २० वर्ष काम गरेपछि वलीले अर्काको भूमिमा काम गर्नुभन्दा आफ्नै भूमिमा केही काम गर्नुपर्छ भन्ने सोचाइ आएर यतै व्यावसाय गरेको बताए ।

आफ्नो मेहनतमा रमाउने मान्छे सधैं खुसी हुन्छ, स्वाभिमानी हुन्छ त्यसैले आफ्नो भूमिमा काम गर्न उनले सबैलाई आग्रह गरेका छन् । घरपरिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । सबैले काममा सघाउने भएकाले बाहिर मान्छेलाई काम दिनु नपरेको उनले बताए ।