दंगीशरणका ज्योति चौधरी लघुवित्तको करोडौं रकम ठगेर भागेको खुलासा

चेतन वली

Blog Post Ad

दाङ, २६ जेठ । दाङको दंगीशरण गाउँपालिका–५ मिरौलीका ज्योति प्रसाद चौधरी लघुवित्तको करोडौं रकम ठगेर भागेको खुल्न आएको छ । दंगीशरण–३ मा रहेको सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापकसमेत रहेका चौधरी विगत लामो समयदेखी सम्पर्कबिहिन भएका छन् ।

Blog Post Ad

तुलसीपुरमा केन्द्रिय कार्यालय रहेको सुपर लघुवित्त वित्तिय संस्थाको करोडौं रुपैयाँ अपचलन गरेका चौधरीका विरुद्ध उच्च अदालत तुलसीपुरले २०८१ साल बैशाख ४ गते पक्राउ पुर्जी जारी गरेपछी उनी फरार भएका हुन् । २०७९ साल असोज ७ गते चौधरीबाहेक ३४ जनाविरुद्ध नेपाल राष्ट्र बैंकले मुद्धा दर्ता गरेपछि ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने अन्य सबैलाई सोधपुछ गर्दा यसमा मुख्य भुमिकामा ज्योति चौधरी नै देखिएपछि ती ३ जनालाई धरौटीमा छाडिएको थियो ।

चौधरीसहितको गिरोहले १२ हजार १ सय २६ जना सदस्य रहेको सुपर लघुवित्त वित्तिय संस्थाको ३२ करोड ५२ लाख २७ हजार ९ सय ८७ रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । लघुवित्तको अध्यक्ष ज्योति चौधरीका छोरा किरण चौधरी रहेपनि उनीहरु सबैको मिलेमतोमा रकम अपचलन भएको बुझिएको छ । उनीहरुले संस्थाको नाममा विभिन्न बैंकहरुबाट करोडौं रुपैयाँ ऋण लिएर नक्कली सदस्य र ऋणी खडा गरी संस्थाको नाममा आएको रकम अपचलन गरेका हुन् ।

ज्योति चौधरीलाई खोजीरहेका छौं : प्रहरी
यता जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लले ज्योति चौधरी प्रहरीको फरार सुचिमा रहेको बताउनुभएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै खोजतलासको काम अगाडी बढाएको प्रहरीले अहिलेसम्म निरन्तर खोजी रहेपनि फेला पार्न नसकेको उहाँले बताउनुभयो । अहिलेसम्म ज्योति कहाँ छन भन्ने बारे कुनै जानकारी प्राप्त हुन नसकेको उहाँले बताउनुभयो । जति बर्ष लागेपनि एकदिन उनी पक्राउ परेरै छाड्ने डीएसपी मल्लले बताउनुभयो ।

कहिकतै उनको बारेमा जानकारी भए प्रहरीलाई खबर गर्नसमेत उहाँले आग्र्रह गर्नुभएको छ । कुनै किसिमको जानकारी पाए तत्काल पक्राउ गर्ने उहाँको भनाई छ । प्रयास गर्दापनि पक्राउ नपरेको अवस्थामा फरार सुचिमा राखेर अदालतमा मिसिल पेश गर्ने उहाँले बताउनुभयो । त्यसपछी अदालते उनको नामको सम्पति रोक्का गर्ने या के गर्ने भन्नेबारे निर्णय लिने डीएसपी मल्लले बताउनुभयो ।