लुम्बिनी सरकारले पायो पूर्णता

दाङ, २२ जेठ । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । १२ औं मन्त्रीका रुपमा कृष्णा केसी नियुक्त हुनुभएको छ । यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबण्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पु¥याएको थियो ।

Blog Post Ad

मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं. १ को ‘क’बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीमा नियुक्त गर्नुभएको छ । उहाँको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको हो । मुख्यमन्त्री महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय आफैले राख्नु भएको थियो । नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुखसमक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।

Blog Post Ad

लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्री सहित पाँच, माओवादीबाट मुख्यमन्त्रीसहित तीन, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट एक–एक मन्त्री छन् । स्वतन्त्रबाट एकजना मन्त्री भएका छन् । ८७ सदस्यीय प्रदेशसभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ ।