दाङ उवासंघको सचेतना अभियानबाट चार सयबढी लाभान्वित

गोविन्द खड्का

Blog Post Ad

दाङ, २१ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले चार सयबढी व्यवसायीका ढोका–ढोकामा पुगेर सेवा दिएको छ । संघले गत १३ गते शुरु गरेको व्यावसायिक सचेतना कार्यक्रममा तीन सय ५५ जनाको नवीकरण गरिएको संघका सह कोषाध्यक्ष एवं सदस्यता तथा कोष बृद्धि उपसमिति संयोजक माधव खनालले जानकारी दिनुभयो । अभियानका क्रममा संघमा २७ जना नयाँ सदस्य थप भएका छन् ।

Blog Post Ad

‘यस पटकका लागि सचेतना कार्यक्रम स्थगित भएको छ’– उहाँले भन्नुभयो– ‘क्लोजिङको बेला आएको छ । सबै व्यवसायी व्यस्त हुनुपर्छ ।’ मुख्य बजारका सबैजसो पसलमा टोली पुगेको थियो । धेरैले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नचलेको भन्दै चिन्ता व्यक्त गरेका थिए । भर्खर खोलेको चल्छ कि चल्दैन थाहै छैन । चले दर्ता गरौंला भन्नेहरु पनि थिए ।

यसैगरी ग्राहक भन्दा धेरैजना साहु आउने गरेको पनि व्यवसायीले पीडा पोखेको उहाँले बताउनुभयो । ‘माग्नेहरु आउने गरेका छन् । कुनै दिन एउटा पनि ग्राहक आउँदैन, तीन चारजना माग्नेहरु ढोकामा आइपुग्छन् । व्यापार मन्दीका कारण घर भाडा तिर्नेसम्म जुटाउन नसकिएको, दिनभरि नगरेरै फर्किनुपरेको सुनाए । ग्राहक पर्खेर बस्ने तर कोही नपस्ने समस्या रहेको सुनाए’– उहाँले भन्नुभयो ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, उपाध्यक्षहरु धु्रवकुमार गहतराज, लीलाराम खड्का, सचिव विकास वली, कोषाध्यक्ष जगतप्रसाद आचार्य लगायत कार्यसमितिका धेरैजसो सहभागी भएका थिए । संघका कर्मचारीहरुले व्यवसायीको नवीकरण पसलमै गरिदिएका थिए । व्यवसायीलाई सल्लाह सुझाव, कागजात राख्ने तरीका, करको कारोबार गर्ने तरिका सिकाएका थिए । म्याद गुजे्रको वस्तु अलग गराउने, खरिद बिक्री बिल राख्ने लगायत सिकाइएको थियो ।