स्वर्गद्वारी आश्रमको २०९ बिघा ११ कठ्ठा जग्गा व्यक्ति तथा संस्थाको कब्जामा

दाङ, १५ जेठ । स्वर्गद्वारी आश्रमको नाममा दाङमा रहेको २०९ बिघा ११ कठ्ठा जग्गा व्यक्ति तथा संस्थाले कब्जा गरेको पाइएको छ । स्वर्गद्वारी आश्रमको नाममा दाङको विभिन्न स्थानमा रहेको एक हजार ३४ जग्गामध्ये २०९ विघा ११ कठ्ठा जग्गा व्यक्ति तथा संस्थाले कब्जा गरेका हुन् ।
व्यक्ति तथा संस्थाले स्वर्गद्वारी आश्रमको जग्गा अतिक्रमण गरी कब्जा गरेको कुरा महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आफ्नो ६१औँ प्रतिवेदनमा पनि औंल्याएको छ ।
“स्वर्गद्वारी आश्रमको नाममा दाङको विभिन्न स्थानमा एक हजार ३४ बिघा जग्गा रहेकोमा ७५० बिघा जग्गामा मोही कायम भएको, ७५ बिघा ९ कट्टा जग्गा आश्रम आफैँले प्रयोग गरेको र दाङको रामपुर, लमही एवं घोराहीस्थित २०९ बिघा ११ कठ्ठा जग्गा विभिन्न व्यक्ति तथा संस्थाले कब्जा गरी अतिक्रमण गरेको विवरण प्राप्त भएको छ,” महालेखाले प्रतिवेदनमा भनेको छ ।
दाङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले मोही कायम भएको जग्गामध्ये १५० बिघा जग्गाको मोहियानी हकको लगत कट्टा गरेको छ । उक्त कार्यालयले अतिक्रमित जग्गा हटाउने कार्यको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो । हालसम्म पनि उक्त जग्गा अतिक्रमित अवस्थामा नै रहेको छ ।
मुलकी देवानी संहिता, २०७४ को दफा ३०६ र ३०७ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ मा सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा आफ्नो कब्जामा राखेमा वा आबाद गरेमा सम्बन्धित मालपोत कार्यालयले जग्गा छुट्याई जग्गाबाट उब्जेको बाली लिई जग्गा खाली गराउनुपर्ने र सार्वजनिक जग्गाको अतिक्रमण रोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख छ ।
स्वर्गद्वारी गुठी, नेपाल सरकार र गुठी संस्थानबाट संरक्षित विशेष प्रकृतिको निजी गुठी भएको सर्वोच्च अदालतले २०६२ चैत १४ गतेको परमादेशमा उल्लेख गरेको छ ।
यसकारण आश्रमको नाममा दर्ता रहेको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिन आवश्यक संरक्षण प्रदान गर्नु/गराउनु भनी विपक्षीहरू भूमिसुधार तथा व्यवस्था मन्त्रालय र गुठी संस्थानको नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । अदालतले परमादेश जारी गर्दा पनि भूमिसुधार तथा व्यवस्था मन्त्रालयले कब्जा गरेको स्वर्गद्वारीको जग्गा खाली गराउन सकेको छैन ।

Blog Post Ad