प्रकोप जोखिम कम गर्न विश्वव्यापी प्रयास जरुरी : चौधरी

दाङ, २ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बेलायतमा विपद् संकट व्यवस्थापन सम्बन्धी सम्मेलनमा सहभागि हुनुभएको छ । बैशाख ३० देखि जेठ १ गतेसम्म सम्पन्न सम्मेलनमा नेपाल, ताइवान लगाएतका शिक्षाविद् र नीति विज्ञहरुको सहभागिता रहेको थियो । ताइवान र नेपालका सरोकारवाला संस्थाहरूबीच संकट र प्रकोप सम्बन्धी अनुसन्धानमा आपसी सहयोग सुदृढ गर्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको हो ।

Blog Post Ad

कार्यक्रमले विपद् व्यवस्थापनमा निरन्तर सहयोग र ज्ञान आदानप्रदानको आधार तयार गरेको छ । संकट र प्रकोप अनुसन्धानमा सहकार्य र नवीनतालाई बढावा दिने उद्देश्यले एस्टन युनिभर्सिटीले सम्मेलनमा विश्वव्यापी प्रकोप व्यवस्थापन विशेषज्ञहरूको प्रतिनिधिमण्डललाई स्वागत गरेको थियो ।

Blog Post Ad

बेलायतको एस्टनमा आयोजित कार्यक्रमले त्यहाँको हौंस्लो बरो काउन्सिल र बर्मिङ्घम सिटी काउन्सिलसँग ताइवान र नेपालका संस्थाहरूको सहयोग र सहकार्य बढाउन भूमिका खेल्ने बिश्वास लिइएको छ । सन् २०१९ को मध्यदेखि नेपाल, फिलिपिन्स र भुटानमा भू–जलवायु जोखिम अनुगमनका लागि नवप्रवर्तनात्मक प्रविधिहरू प्रयोग गर्ने प्रयास भइरहेको छ ।

भूकम्प गतिविधि, वर्षाको ढाँचा र प्रभावकारी संकट व्यवस्थापनका बिषयमा सम्मेलनमा गम्भिर बहस भएको कार्यक्रममा सहभागी नेपाल नगरपालिका संघका महासचिव एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । प्रकोपका जोखिम कम गर्न बिश्वव्यापी प्रयास आबश्यक रहेको उहाँले बताउनुभयो । यस कार्यक्रमले बेलायत, नेपाल र ताइवानभरिका शिक्षाविद्, नीति निर्माता, उद्योगी, आपतकालीन सेवा र मानवीय स्वयंसेवकहरूबीच साझेदारी बढाउने काम गरेको उहाँले जानकारी दिनुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एस्टन युनिभर्सिटीसँगको यो सम्बन्धले संकट व्यवस्थापन प्रयासहरूलाई बलियो बनाउन सहयोग गर्नेछ । विशेषगरी दक्षिण एसियाका नेपाल जस्ता भूकम्प लगाएतका प्राकृतिक प्रकोपहरूको जोखिम रहेका देशलाई प्रभावकारी योजना बनाउन मद्धत पुग्नेछ ।’ समुदायलाई जोखिम न्यूनीकरणका काम गर्न र संकटको समयमै प्रभावकारी सामना गर्न आवश्यक ज्ञान र स्रोतहरू प्रदान गर्न यस्ता सहकार्यहरू महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

सम्मेलनमा एस्टन युनिभर्सिटीका संकट र विपद् व्यवस्थापन विषयका प्राध्यापक डा. कोमल अर्यालले स्थानीय संकट र विपद् व्यवस्थापनका चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल, भुटान, फिलिपिन्स र अन्य हिमाली क्षेत्रहरूको सम्बन्ध बलियो बनाउन आबश्यक रहेको बताउनुभयो ।

एस्टन विश्वविद्यालयको कलेज अफ बिजनेस एन्ड सोशल साइन्सेजका कार्यकारी डीन प्रोफेसर जो राडनोरले संकट र विपद्मा अनुसन्धानका लागि सहयोग बढाउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।