नर्सको राम्रो तलब हुनुपर्छ: उपकुलपति डा. विकास लामिछाने

दाङ, ३१ वैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले नर्सबिनाको हस्पिटल सम्भव नभएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि डा लामिछानेले लोकसेवाबाट वेष्ट नर्सिङ छनोट गरेर मात्रै राख्ने गरेको बताउनुभयो । दक्ष नर्सहरुले राम्रो सेवा दिएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

Blog Post Ad

नर्सिङ कोर्डिनेटर एवं प्रतिष्ठानका रजिष्टार श्याम लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा डा. लामिछानेले माष्टर्स र एमविविएस पढाइ चलाउने तयारी गरेको जानकारी दिदै यहीं अध्ययन गर्न र करिअर बनाउन नर्सहरुलाई आग्रह गर्नुभयो ।

Blog Post Ad

‘अर्थले साथ दियो भने अन्यत्र भन्दा सेवा सुविधा बढी दिनेछाैं’– उहाँले थप्नुभयो– ‘नर्सको राम्रो तलब होस् भन्ने चाहेका छौं ।’ उहाँले प्राविधिक क्षेत्रमा काम गर्नेको तलव अन्य क्षेत्र भन्दा कम भएकोमा दुःख व्यक्त गर्नुभयो ।

प्रतिष्ठानमा अघिल्ला वर्षहरुभन्दा धेरै विकास भएको नर्सिङ प्रशासक शर्मिला शर्माले बताउनुभयो । ‘नर्स भनेकै मिठो बोल्न आएको हो’– उहाँले भन्नुभयो– ‘सक्छौ ह्दयदेखि नै राम्रो बोलौं, सक्दैनौ ड्युटीको अवधिभर नाटक गरेरै भए पनि मिठो बोल्नुस् ।’ घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एवं प्रतिष्ठानका नर्सिङ इकाई प्रमुख राधा पौडेलले सरकारले नर्सलाई सुविधामा विभेद गरेको बताउनुभयो । उहाँले प्रशासनको सुब्बा भन्दा नर्सिङ सुब्बाको तलव कम भएकोमा दुःख व्यक्त गर्नुभयो । ‘नर्सलाई विभेद छ’– उहाँले भन्नुभयो– ‘चौबिसै घण्टा विरामीसित खट्ने नर्सको तलब पीडादायी छ ।’ यही कारण पनि नर्सहरु विदेश पलायन भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नर्सहरुले विरामीलाई सेवा गरेको आधारमा पारिश्रमिक नभएको कुरा कवितामार्फत व्यक्त गरे । आफूले गरेका काम र त्यस अनुरुप सुविधा नपाएको उनीहरुको गुनासो थियो । बिएनएसका आसिका गिरी, एनआइसियुका स्टाप सिर्जना न्यौपानेले कविता सुनाउनुभएको थियो । बिबिएसका ज्यास्मेन पोख्रेलले गीत गाउनुभएको थियो । ‘काम अनुसार आधारभूत तलव नभएको साथीहरुको गुनासो छ’– नर्सिङ स्टाप नविना चौधरीले भन्नुभयो । नर्सिङ प्रोफेसर गीता बेलवासेको स्वागतबाट शुरु भएको दुई सय चार औं नर्सिङ दिवसको औपचारिक कार्यक्रम सञ्चालन प्रतिष्ठानमा अध्ययनरत नर्सिङका विद्यार्थी हुनान रावलले गर्नुभएको थियो ।