बजेट निर्माणको समयमा लुम्बिनीमा योजना आयोग रित्तै, मुख्यन्यायाधिवक्ता र सचिवालय पनि बन्न सकेन

दाङ, ३० बैशाख । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग तथा न्यायाधिवक्ता नियुक्तिमा ढिलाइ गर्दा आगामी बजेट निर्माण र विभिन्न कानुनका विषयमा समस्या भइरहेको छ ।

Blog Post Ad

प्रदेश सरकारले अहिले बजेट निर्माणको तयारी गरिरहेको छ । तर योजना आयोगमा कुनै पदाधिकारी नहुँदा आवश्यक नीति निर्माण तथा योजनाका महत्त्वपूर्ण कामहरू कमजोर भएका छन् ।

Blog Post Ad

चैत २३ मा मुख्यमन्त्री बनेका जोखबहादुर महराले यो विषयमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्र तथा आर्थिक मामिला मन्त्रालय सम्हालेको नेकपा एमालेसँग छलफल गरेर छिटो टुंगाउनुपर्नेमा ढिलाइ गरिरहेका छन् ।

अहिलेसम्म उनले आफ्नो सचिवालयसमेत बनाउन सकेका छैनन् । प्रेस संयोजकमा महराले यसअघिबाटै निरन्तर काम गरिरहेका भरत नेपालीलाई जिम्मेवारी दिए पनि माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले रुपन्देहीका कमल रायमाझीको नाम प्रस्ताव गरेपछि त्यो निर्णय पनि यतिकै रोकिएको छ ।

यद्यपि नेपालीले निरन्तर काम गरिरहेका छन् । चैत २५ मा मुख्यमन्त्री महराले शपथ लिएर वैशाख ६ गते मन्त्रिपरिषद् बिस्तार गरे पनि त्यो भन्दा एक महिना पहिलेबाटै सरकार काम चलाऊ भएकाले बजेट तयारीका विषयमा आवश्यक तयारी पुगेको छैन ।

प्रदेशका आन्तरिक स्रोत पनि कम रहेको र संघीय अनुदान पनि घट्दै गएकाले बजेट करिब ३० प्रतिशत घटाउनुपर्ने अवस्थामा पुगेको विभागीय मन्त्री चेतनारायण आचार्यले संकेत गरेका छन् । यस्तो गम्भीर अवस्थामा योजना आयोगमा पदाधिकारी नहुँदा बजेट कमजोर हुनसक्ने चिन्ता हुन थालेको छ ।

त्यसैगरी संसदमा पठाउनुपर्ने थुप्रै कानुन र विभिन्न कार्यविधि नभएका कारण धेरै काम रोकिएको अवस्थामा मुख्यन्याधिवक्ता नियुक्ति नभएका कारण समस्यामा परेको सत्तारुढ दलकै सांसदहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले केही दिनमै धेरै नियुक्ति प्याकेजमै गरिने जनाएका छन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक भरत नेपालीले नियुक्तिका विषयमा मुख्यमन्त्रीले तयारी गरिरहेको र एक दुई दिनमा सार्वजनिक गर्ने बताए । तर अहिले प्रदेशमा प्रमुख सचिव नभएकाले नेपालीले भनेअनुसार तत्काल त्यो निर्णय सम्भव देखिँदैन ।

यसअघिका प्रमुख सचिव राधिका अर्याल बढुवा भएर सरुवा भएसँगै यहाँ नयाँ प्रमुख सचिव केन्द्रले नपठाएकाले यी निर्णयहरूमा ढिलाइ भएको हो । प्रदेश सचिव तथा मुख्यमन्त्री कार्यालयका प्रवक्ता नीराजन घिमिरेका अनुसार प्रमुख सचिव नभएको र निमित्त पनि कसैले नपाएकाले यस्ता निर्णय रोकिएको हो ।

‘अहिलेसम्म प्रमुख सचिव को आउने टुंगो लागेको छैन, सम्भव त आजभोलिमा टुंगो लाग्छ होला, प्रमुख सचिव नभएको र अरूले निमित्त नपाएकाले नियुक्ति तथा अन्य निर्णयहरू रोकिएका हुन्, मुख्यमन्त्रीले आफ्नो तयारी त गरिरहनुभएकै छ’ उनले भने ।