कागलाई बेल पाक्यो ‘हर्ष न बिस्मात

शुसी बस्नेत

Blog Post Ad

दाङ, २५ फागुन । आज ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस देशैभर विविध कार्यक्रम गरी मनाइँदै छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि सन् १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा महिलाहरूले समान अधिकारको माग लिएर हडताल र विशाल जुलुस प्रदर्शन गरे । अमेरिकी गार्मेन्ट कारखानामा काम गरिखाने महिलाहरूले श्रम गर्ने उचित वातावरण माग्दै संघर्ष थालेपछि एउटा गौरवमय इतिहास सिर्जना भएको थियो । नेपालमा मनाइने ११४औँ विश्व श्रमिक महिला दिवस त्यही इतिहासको निरन्तरता हो ।

Blog Post Ad

महिलामा लगानी सभ्य र समुन्न्त समाजको थालनी भन्ने मूल नारासहित मार्च ८ अर्थात् आज मनाइने यो दिवस साँच्चिकै श्रमिक महिलाहरू पक्षमा वकालत गरिरहेको छ त ? सहर–बजारमा भव्यताका साथ नाराबाजी गरेरै दुर्गमका महिलाहरूको समस्या सम्बोधन हुन्छ होला ? नेपालका पछिल्ला राजनीतिक तथा सामाजिक घटना क्रमलाई हेर्ने हो भने ठुल्ठूला राजनीतिक संघर्ष र परिवर्तनहरू पनि भएका छन् । ती संघर्षमा महिलाको उपस्थिति पनि उल्लेख्य छ । तर अझैसम्म नेपालमा महिला उत्पीडनको भयावह अवस्था छ । समावेशितासँगै महिला हिंसा दिनहुँ बढिरहेका छन् । महिलाहरूका संघर्षले अनेकौँ सफलताका इतिहास रचिए पनि लैङ्गिक भिन्नता भने कायमै रहेको छ । महिलाले पुरुषसरह समान काम र समान ज्याला पाउनुपर्ने मागसहित मनाइने दिवस हेर्दा नेपालमा राजनीतिक रूपमा केही अधिकारहरू संरक्षित गरिए पनि महिलालाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन आउन सकेको छैन् ।

आज सबैतिर महिला दिवसको शुभकामना आदानप्रदान भइरहेका छन् । विभिन्न संघ–संस्थाले विशेष रूपमा कार्यक्रम गरेका छन् । भ्याइनभ्याइ शान्तिपूर्ण जुलुस निकालिएका छन् । श्रमिक महिलाले गरेको संघर्षलाई उत्सवका अवसरमा मनाइने यो दिवसमा साँच्चिकै जो श्रमिक हुन्, जसले एक छाक कटाउनकै लागि ज्याला–मजदुरी गरिरहेका छन् । उनीहरूलाई के यो महिला दिवसले हर्षित पारिरहेको छ त ? उनीहरूलाई श्रमिक महिला दिवस के हो ? जानकारी नै छैन । दिनरात शारीरिक श्रम गरेर जसले जीवन धानिरहेका छन् । उनीहरूलाई आफ्नो अधिकारप्रति सचेत पार्न सकिएको छैन । आफ्नै संघर्षको दिन अर्थात् दिवसबारे केही थाहै छैन । वास्तवमा यो दिवस महिला समानताको आन्दोलनका लागि हो । तर यहाँ सहरका हुने–खाने, जान्ने–सुन्ने र राजनीतिक दलका सचेत महिलामा मात्र सीमित रह्यो ।

यो एक दिन सभा, भाषण, नारा हुँदा साँच्चिकै श्रमिक महिलालाई हेप्ने गरेको जस्तो लाग्छ । दुर्गम गाउँका महिलाहरूको अवस्था नबुझी, उनीहरूका समस्यासँग परिचित नभई महिला दिवस मनाउन सकिन्छ र ? महिला सशक्तीकरणको अभियानलाई विश्वव्यापी रूपमा बुलन्द पारिँदै महान् संकल्प र अठोटका साथ मनाइने यो दिवसलाई सार्थक बनाउन साँच्चिकै श्रमिक महिलाको हित सोचिनुपर्छ, उनीहरू र उनीहरूका छोराछोरीको उत्थानका लागि कार्यक्रम ल्याउन दबाब दिनुपर्छ । समाजमा विद्यमान दाइजो प्रथाको अन्त्य गरिनुपर्छ । बोक्सीको आरोप लगाउने र कुनै पनि प्रकारको महिला हिंसा गर्नेलाई कडा कारबाही हुनुपर्छ । समाजका भेदभाव र असमानता हटाइनुपर्छ । अन्यथा हामीले मनाउने श्रमिक महिला दिवस नारामै मात्र सीमित हुनेछ ।हरेक वर्ष श्रमिक महिला दिवस मनाइरहँदा के साँच्चै समाजमा सकारात्मक परिवर्तन आयो त ? महिला हिंसा कम भयो त ? समाजमा भएका समस्यामध्ये महिलाहिंसा अग्रपंक्तिमा पर्छ, यसमा समाजका शिक्षित र अशिक्षित दुवै वर्गका महिला पीडित छन् । उनीहरूले शारीरिक, मानसिक तथा सामाजिक शोषण खेपिरहेका छन् । श्रमको उचित मूल्य पाइरहेका छैनन् । महिलालाई कमजोर सोच्ने प्रवृत्ति समाजमा अझै हाबी छ ।

नारी दिवसमा आफ्नो क्षेत्रमा उपलब्धिपूर्ण काम गर्ने महिलाहरू वा कुनै एक महिलाको सम्मान गरिदिए पनि उनीहरूलाई आफ्नो कामप्रति खुसी मिल्छ । भाषण गर्नमै सोखिन हामीलाई सकारात्मक कुराले कसरी स्थान लिन्छ र ? महिला दिवस होस् या लैङ्गिक हिंसाविरुद्धको सप्ताहव्यापी कार्यक्रम होस्, यी दुवै मनाइँदा तल्लो वर्गका महिलालाई जोडेको देखिँदैन ।

घरेलु हिंसाका घटना बढ्दो छ । नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने बितेको ६ महिनामा घरेलु हिंसाबाट मात्रै सात हजार ४०१ महिला पीडित छन् । साउनदेखि पुससम्म घरेलु हिंसासम्बन्धी हिंसा बढेको तथ्यांकले देखाउँछ । जबर्जस्ती करणी र बलात्कारका घटना पनि उत्तिकै बढ्दो अवस्थामा छन् । अझ पछिल्ला दिनमा बाहिरिएका रिपोर्टहरूले महिलाहरू आफ्नै दाजुभाइ, बाबु, काका भनिने आफन्तहरूबाट बलात्कृत हुने दर बढेको देखाउँछ । प्रत्येक दिन महिलाहिंसा बढिरहँदा हामीले वर्षमा एक दिन मनाउने यो दिवसले कसरी यी विषयको वकालत गर्छ ? यो दिवस त केवल महिलाहिंसा उन्मूलनका नारा–ब्यानरमा मात्रै सीमित भयो । नेतृत्व तह वा शिक्षित वर्ग नै नारामा मात्रै सीमित हुन पुगेपछि नारीहरू सुरक्षित कहिले हुने हो ? श्रमिक महिलाहरूको जीवनमा कस्तो प्रभाव पारिरहेको छ भनेर खोजी गर्नुपर्ने हो, तर उनीहरूका लागि यो दिवस कागलाई बेल पाक्यो ‘हर्ष न बिस्मात’जस्तै भएको छ ।