दाङ, ८ मंसिर । रेखा शर्मा पूर्व सामान्य प्रशासन मन्त्री भइसकेकी छन् । १७ वर्षको हुँदा विद्यार्थी राजनीतिमा होमिएकी शर्माले तत्कालिन माओवादीले चलाएको दश वर्षे शसस्त्र युद्धमा होमिइन । २०५८ सालमा सेनाले पक्राउ गरेपछि उनले निर्मम यातानासमेत भोगेकी थिइन ।
यस्तो छ उनको विगत
२०२६ साल असोज ९ गते घोराहीको मसिनामा जन्मेकी रेखा २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीति जीवन शुरुवाद गरेकी थिइन । महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्र्तिण गरेकी रेखा पढाईको क्रममा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन । त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन ।
२०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य भएकी थिइन । त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन । उनी २०५३ सालदेखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष, २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट पार्टीको केन्द्रीय सदस्य र काठमाडौं उपत्यमा उपब्युरोको प्रमुख भएर काम गरिन ।
रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन युद्धकालमै जितेकी थिइन । युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए । युद्धको उत्कर्ष संकटकालको समय २०५८ साल चैतमा उनी काठमाडौंको चाहविलबाट पक्राउ परिन ।
उनी श्रीमान कृष्णध्वज खड्का सहित पक्राउ परेकी थिइन । सेनाले रेखा र कृष्णध्वज माथि यातनाका विभिन्न ‘प्रयोग’हरु गरे । नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिर्नेसम्मको यातना रेखाले बेहोरेकी थिइन ।
२०५९ सालमा सरकार र माओवादीको वार्ता शुरु भएपछि रिहाई भएसँगै उनी पार्र्टीको काममा लागिन । २०७० र ०७४ सालमा समानुपातिक सांसद बनेकी रेखाले ०७० सालमा डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन ।
यस २०७९ सालको आम निर्वाचनबाट एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै उनी संसदमा पहिलो पटक प्रत्यक्ष निर्वाचित भएर पुगेकी छन् ।