दाङ, २ मंसिर । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइँनभ्याइँ भएको हो । उनको दिनचर्या बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बीउ लगाएका हुन् ।

अहिलेसम्म उनले ८० क्विन्टल अदुवा निकालेका छन् । उनले २० क्विन्टल अदुवा लगाएकामा ८० क्विन्टल अदुवा फलेको हो । अदुवाखेती गर्न निकै सजिलो हुने भएकाले मकै छाडेर अदुवा खेतीमा आकर्षित भएको खड्काले बताए ।

‘व्यापारीले ३ हजारमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्ने गर्छन्, बजारको कुनै समस्या छैन,’ खड्काले भने । किसानको घरमै व्यापारी पुगेर अदुवा खरिद गरिदिन्छन् । गाउँगाउँमा सडक पुगेको छ । व्यापारी ट्रयाक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै पुग्ने गर्छन् ।

गाउँपालिकामा एउटा किसानले अदुवा बेचेर सिजनमा २ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गर्दछन् । पोखरी गाउँमा मात्रै ३२ घरपरिवारले व्यावसायिक रूपमा अदुवाखेती गरेका छन् ।
गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोट डाँडामा अदुवा संकलन गरी जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडामा राम्रो अदुवा उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौं रकम भित्रिने गरेको छ । जिल्लामा उत्पादन हुने अदुवाको मूल्य भने निर्धारण गरिएको छैन । व्यापारीले फरक–फरक मूल्यमा अदुवा खरिद गर्ने गरेका छन् । नुवाकोट, झुल्नेटा, पाखेरी, सिम्रुतुमा अदुवाको मूल्य फरक–फरक छ ।