दाङसहित देशभर एकसाथ मतदान सुरु, मतदाताको घुइँचो

दाङ, ३० वैशाख । दाङसहित देशैभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो देखिन्छ । दाङमा कुल ५ सय २० पदका लागि २ हजार २ सय सात जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका विभिन्न दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले रेडियो मध्यपश्चिमलाई दिनुभएको जानकारी अनुसार घोराही, तुलसीपुर र लमहीको ३ वटा नगर प्रमुख पदका लागि ३३ जना प्रतिष्पर्धामा छन् । यस्तै, ३ जना उपप्रमुख पदका लागि २५ जना प्रतिष्पर्धामा उत्रिएका छन् । ७ वटा गाउँपालिका अध्यक्ष पदका लागि ४७ जना प्रतिष्पर्धामा छन् भने उपाध्यक्ष पदका लागि ३८ जना चुनावी मैदान उत्रिएका छन् ।

Blog Post Ad

जिल्लाको सय वडाको वडा अध्यक्ष पदका लागि ५ सय ६ जना प्रतिष्पर्धामा रहेका छन् भने सोही संख्यामा महिला सदस्य पदका लागि ३ सय ९३ जना चुनावी प्रतिष्पर्धामा रहेका सूचना अधिकारी कुँवरले बताउनुभयो । यस्तै, दलित महिला सदस्य पदका लागि ३ सय ५३ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् भने वडा सदस्य पदका लागि सबैभन्दा बढी ८ सय १२ जना भोलि हुने स्थानीय तहको चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

Blog Post Ad

यस्तै दाङमा स्थानीय प्रशासनले ढुक्क भएर मतदानमा सहभागि हुन सबै मतदाताहरुलाई अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा ढुक्कका साथ मतदान गर्ने वातावरण बनाएको बताउनुभएको छ । रेडियो मध्यपश्चिमसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले सबै मतदान स्थलहरु व्यवस्थित रहेको र सुरक्षा व्यवस्था पनि चुस्त एवं कडा पारिएको उहाँको भनाई छ । यसैगरी दाङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक, सुरेशप्रसाद काफ्लेले ढुक्कका साथ मतदान गर्ने वाताबरण बनाईएको बताउनुभयो ।

अर्को तर्फ आज पानी पर्ने सम्भाबना देखिएकाले सबै मतदाताहरुले आफ्नो सुरक्षा गर्न समेत आग्रह गरिएको छ । मतदान स्थलमा पनि सोही ढंगले कर्मचारी एवं सुरक्षाकर्मीहरुले आबस्यक व्यवस्थापन गरेको बताउनुभयो ।

निर्वाचनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान र म्यादी गरि ३ हजार बढी सुरक्षाकर्मीहरु निर्वाचनमा परिचालन भएका छन् ।