Ad Area Ad Area
Ad Area
Ad Area

दाङका कृषक मतदाता भन्छन् : सरकारले किसान चिनेन, दुःखमा हेरेन

टोपेन्द्र रोकामगर

दाङ, १६ बैशाख । दाङको घोराही उपमहानगरपालिका वडा नं ५ नैनवारका वासुदेव चौधरीले व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेको २० वर्ष बढी भइसक्यो । ०५५/५६ सालबाट तरकारी खेती गर्ने थाल्नुभएका बासुदेवले अहिले आएर तरकारी खेतीलाई विस्तारै कम गर्दै लग्नुभएको छ ।

Blog Post Ad

तरकारी खेती विस्तार गर्नु पर्नेमा उहाँ अझ कम गर्दै भैसी पालन पेशामा लाग्नुभएको छ । घरमा खानका लागि तरकारी खेति गरेपनि पहिले जस्तो तरकारी खेतीमा नै लाग्न उहाँले छाडिसक्नुभएको छ । यसरी तरकारी खेतीलाई विस्तारै कम गर्दै लग्नुका पछाडिको कारण सरकारको नीति भएको उहाँसँगको कुराकानीमा बुझ्न सकिन्छ ।

Blog Post Ad

वास्तविक किसानलाई सरकारले चिन्न नसक्नुले किसान आफ्नो पेशाबाट पलायन हुनु पर्ने अवस्था आएको बासुदेव बताउनुहुन्छ । ‘खास किसानलाई सरकारले केहि गर्दैै गर्दैन, चिन्दैन पनि,’ उहाँले भन्नुभयो, ‘अनुदानका कार्यक्रम आउछ तर हामीलाई थाहा हुँदैन ।’

अनुदानमा सरकारले ट्याक्टर बाँडेको बासुदेवले पनि देख्नुभएको छ । अन्य अनुदानका कार्यक्रम आएको पनि थाहा पाउनुभएको छ । तर २० वर्ष बढी कृषि पेशामा लागेका बासुदेवलाई भने यी कार्यक्रमले छुन सकेको छैन ।

Blog Post Ad



अनुदानका कार्यक्रम आउँछ तर यहाँ ल्याएर खाइसकेपछि हामीलाई थाहा हुन्छ,’ उहाँले आक्रोसित हुँदै भन्नुभयो, ‘अनुदानमा ल्याएको ट्याक्टर पुरानो भइसकेपछि गाउँमा थाहा हुन्छ ।’ यी अनुदानका कार्यक्रम मात्र होइन । सरकारले कृषका लागि केहि नगरेको जस्तो बासुदेवालाई लागेको छ ।

Blog Post Ad

दुई वर्ष कोरोना भाइरसका कारणले तरकारीबाट धेरै घाटा भयो । अघिल्लो वर्ष बेमौसमी वर्षाले धानमा क्षेति भयो । तर यति धेरै क्षेति हुँदा पनि आफूहरुले सरकारबाट कुनै राहात नपाएको बासुदेवको गुनासो छ ।

बासुदेवालाई जस्तै सरकारले खासै किसानका लागि केहि गर्न नसकेको नैनवारकै अर्की कृषक अशोक कुमारी चौधरीलाई पनि लागेको छ । ‘दुई वर्ष कोरोनाले गर्दा काँक्रा लगायत तरकारी बेच्न पाइन । तर सरकारले केहि गरेन ।’ उहाँले भन्नुभयो ।

कोरोनाले गर्दा तरकारीमा क्षेति भएका कृषलाई सरकारले ८ सय रुपैयाँ दिएको थियो । तर त्यहि पनि झन्झटिलो हुदा कृषले ल्याउन पाएनन् । ८ सय रुपैयाँ पाउनका लागि बैंकमा पुगेर खाता खोल्नु पर्ने लगायतको समस्याले गर्दा उक्त रकम आफूहरुले नल्याएको कषक अशोक कुमारीले बताउनुभयो।

‘आठ सयजति राहात पाइएको थियो । तर पनि बैंककमा खाता खोल्ने रे । कति झन्झटिलो रहेछ,’ उहाँले भन्नुभयो, ‘यहाँबाट घोराही आउँदा जाँदा नै त्यो भन्दा बढी पैसा सकिने भयो । बरु त्यो पैसा नल्याएकै राम्रो भनेर ल्याएन ।’

उहाँले स्थानीय सरकारले कृषकहरुलाई हेर्न नसकेको बताउनुभयो । वडा तहका जनप्रतिनिधिले कृषकमुखी काम नगरेको कृषक बासुदेवको भनाई छ । नैनावार पूर्ण रुपमा कृषि पेशामा आवद्ध रहेको गाउँ हो । यहाँका कृषकहरु तरकारी विक्रि गर्नका लागि हरेक दिन विहान ५ बजेअघि घोराही आइपुगेका हुन्छन् ।

यस्तै घोराही ७ शुक्रवारका मनिराम चौधरी करिब १२ वर्ष ओमनमा काम गरेर फर्किनुभएको हो । ४७ वर्षीय मनिराम उहाँ फेरि कृषि पेशामा नै हुनुहुन्छ । कोरोना महामारी आएपछि उहाँ घर फर्किनुभएको हो । घरमा कृषि पेशाबाहेक अन्य काम नभएपछि उहाँ अहिले तरकारी खेती गरिरहनुभएको छ ।

तर तरकारी खेतीबाट अपेक्षित लाभ भने ल्याउन सकेका छैनन् । ‘घरमा खान पुगेको छ । मेहनत अनुसार लगानी उठाउन समस्या छ,’ मनिरामले भन्नुभयो, ‘स्थानीय सरकारले बाटोघाटो बनाइदिएर सहज त भएको छ तर बजारीकरणको समस्या छ ।’

उहाँले पनि अहिलेसम्म सरकारबाट अनुदान ल्याउन सकेको छैन । अर्को मनिरामलाई तरकारी खेती गर्न पानीको समस्या हुने गरेको छ । शुक्रवार गाउँका अधिकांश नागरिक कृषि पेशामा नै छन् ।

तर सिंचाई गर्न समस्या रहेको अर्का किसान दशुराम चौधरीले बताउनुभयो। नेपाल कृषि प्रधान देश हो । पछिल्लो तथ्यांकअनुसार करिब ६० प्रतिशत नागरिक कृषिमा आश्रीत छन् । देशको उन्नति र आर्थिक समृद्धि कृषिबाटै सम्भव छ भन्ने चर्को नारा नेताहरुको भाषणमा बारम्बार सुनिन्छ । तर भाषण अनुसार काम भने हुन नसकेको कृषको गुनासो छ ।

Ad Area