स्थानीय तहको निर्वाचनको मिति आउन १६ दिनमात्रै बाँकी छ । चुनावको मिति नजिकिदै जाँदा दलहरु चुनावी अभियानलाई तिब्रता दिएका छन् । उमेदवारले पनि आफ्नो पक्षमा मत पार्नका लागि घरदैलो अभियानलाई तिब्रता दिएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आगामी नेतृत्वका लागि नेकपा एमालेबाट उमेदवारी दिएका टिकाराम खड्कासंग चुनाव विषेश कुराकानी गरेका छौँ ।–सम्पादक
टिकाराम खड्का
मेयर उमेदवार
तुलसीपुर उपमहानगरपालिका
नेकपा एमाले

१. तपाईको उमेदवारी किन ?
धन्यवाद, तुलसीपुर उपमहानगरपालिका भित्रका अपुरा विकास निर्माणको पुरा गर्न र नगरलाई सुशासनमैत्री बनाई अनि समृद्धिको मार्गमा लैजान मेरो उमेदवारी हो । नगरमा पर्याप्तरुपमा रहेको गरिबी हटाउन पर्याप्त रोजगारीको व्यवस्था गर्नेदेखि शिक्षा, स्वास्थ्य लगायतको पहुँच सहज गराउने मेरो पहिलो प्रथामिकतामा रहेने छ ।

२. मत माग्न मतदाता कहाँ पुग्नुभयो ?
अवश्य पनि । मतदातासमक्ष पहिलेदेखि नै पुगिरहेको छ । उमेदवारी दर्ता गरेपछि फेरि पुग्दैछु । घरदैलोमा म निर्वाचनको समयमामात्रै होइन्, अन्य समयमा पनि पुग्ने भएकाले मतदाता अर्थात नागरिकमाझ पुग्नु समस्या होइन् । म लामो समयदेखि नागरिकसंगसगै छु । राजैतिक यात्रामा लागेको करिब ४० वर्ष बढी हुँदा धेरै पटक नागरिकमाझ पुगेको छु । अब साँच्चै भोट माग्नका लागि पुगिरहेको छु ।
३. नेतृत्वमा पुग्न मतदाताले विश्वास गर्लान त ?
यसमा मेरो कुनै शंका छैन् । मतदाताको अपार मायाँ अनि विश्वासले नै म नेतृत्वमा आउन सक्छु भन्ने विश्वासका साथ नेतृत्वमा उमेदवारी दिएको हुँ । मतदाताले टिकाराम खड्का सर्वाहारा नेता हो भन्ने नजिकबाट चिन्नुभएको छ । किनकी म राजनीतिसंगै सामाजिक सेवामा निरन्तर लागिरहेको छु । नागरिकका हरेक सुख दुख संग जोडिन पाएको छु । हरेक समस्यसंग नजिक भइ समाधान गर्ने काममा म निरन्तर लागिरहेको हुँदा पनि निर्वाचनको मत परिणाम मेरो पक्षमा आउँछ भन्ने विश्वासमा छु ।

४. गठबन्धनसंगको प्रतिष्पर्धामा अलि बढी चुनौति होला नि ?
म प्रतिकुलतामा रमाउने व्यक्ति हुँ । सानै उमेरदेखिको मेरो निरन्तर संघर्ष चलिरहेको छ । सानै उमेरमा बुवा आमालाई गुमाएपछि म अर्काको घरमा काम गरेको हुर्केको व्यक्ति हुँ । तैपनि म कहिल्यै हार खाएन । निरन्तर चुनौतिको पहाडलाई छिचोल्दै आएको छु । खेल हो जित÷हार हुन्छ । तैपनि आम मत मेरो पक्षमा आउँछ भन्नेमा विश्वस्त छ । गठबन्धनले केहि प्रभाव पार्नेवाला छैन् ।

अब अहिलेको निर्वाचनमा पनि ३÷४ दल एकातिर हुँदा नेकपा एमालेको उमेदवार म अर्कोतिरबाट प्रतिष्पर्धामा छु । मतदाताले व्यक्ति चिन्नुभएको छ । कसलाई मतदान गरेपछि भोलिका दिनमा सहज हुन्छ भनेर मतदाताले राम्रोसंग चिनेका कारण पनि मेरो पक्षमा मत कम आउँछ भन्ने सोचेको पनि छैन् ।
५.मतदातले विश्वास गर्नुभयो भने परिवर्तनको अनुभूतिहुने गरी के गर्नुहुन्छ ?
आगामी नेतृत्व मतदाताले मलाई सुम्पिुनुभयो भने मैले शुरुमा गरिबी हटाउछु । समस्याको रुपमा रहेको गरिबीलाई हटाउनका लागि पर्याप्तमात्रामा रोजगारीको व्यवस्था गर्न मेरो विशेष पहल रहने छ । आर्थिक विकासका लागि आम नागरिकलाई स्वरोजगार बनाउने, शिक्षा,स्वास्थ्यलाई नागरिकको पहुँचमा लैजाने, सफा र सुन्दर सहर बनाउने मेरो योजना छ ।
सुशासनमैत्री नगर निर्माणदेखि कृषिको आधुनिकिकरण, उद्योग , पर्यटन लगायतसंग तुलसीपुरलाई जोडेर आम परिवर्तन हुने गरी काम गर्छु । अनि अझ विषेशत भूमिहिन सुकुमवासीलाई लालपुर्जा दिलाउनका लागि विषेश पहल रहनेछ । सुकुम्बासीको व्यवस्थापनका लागि गठन भएको भूमि आयोग परमादेश सरकारले खारेज भएपछि अहिले त्यो मुद्धा अलपत्र छ । केपि ओली प्रधानमन्त्री अहिलेसम्म भइदिएको भए सायद धेरै भूमिहिन सुकुमवासी नागरिकले लालपुर्जा पाइसकेका हुनेथिए ।
तर वर्तमान सरकारले भूमिहिन नागरिकको समस्यालाई गम्भिररुपमा लिन सकेन् । जसले गर्दा अहिले भूमिहिन नागरिकको समस्या अलपत्र अवस्थामा पुगेको छ । यसका लागि म स्थानीय सरकार प्रमुख जिम्मेवारी पाए भने भूमिहिन नागरिकका समस्यालाई समाधान गर्नेछु ।
६.नगर ऋणमा डुबेको छ, काम गर्न सहज होला र ?
म के स्पष्ट पार्न चाहन्छु भने पहिलो कुरा नगर ऋणमा छ भन्ने कुरा गलत हो । विकास निर्माणका काम गर्दा भुक्तानी बाँकी रहँदा त्यसलाई ऋण भन्ने हो भने त प्रदेश र संघ सरकारमा पनि यस्तो समस्या हुन्छ त , खै किन त्यसलाई ऋण भनिदैन् ।
असारमा हुनुपर्ने विकास निर्माणका काम मंसिरमै भए, अनि संकलन हुने राजश्व अझै उठिसकेको छैन् । त्यसकारणले केहि रकम भुक्तानी गर्न बाँकी होला, अब मलाई लाग्छ त्यो असार मसान्तसम्म भुक्तानी भइसक्छ ।
अर्को आर्थिक वर्षमा यस्तो हामीले ल्याएका योजनालाई कार्यान्वयन गर्न सक्छौँ । नगरको ऋण बढेको भनेर भ्रम छरिएको हो । बरु विकास निर्माणका काम धेरै समयमै भए, असार मसान्त आउन धेरै बाँकी छ ,त्यसैले पनि यस्तो किसिमको समस्या देखिएको होला ।
७.विभिन्न नाममा हुने अनियमितता रोक्नुहुन्छ ?
हो,एकदम सहि प्रश्न गर्नुभयो । सुशासन भन्ने कुरा मुख्य कुरा हो । नागरिकले तिरेको एक÷एक पैसा करको सहिरुपमा सदुपयोग हुनुपर्छ । त्यसैले विभिन्न नाममा हुने भ्रष्टाचारको अन्त्य गर्न नेतृत्व नै अग्रसर हुनुपर्छ ।
मैले आफुले नेतृत्व गर्ने ठाउँमा पनि भ्रष्टाचारलाई शून्यमा झार्नका लागि सबैको सहयोग आवश्यक हुन्छ । मेरो अठोटलाई सबैले साथ दिने हो भने अनियमितता रोक्ने र नागरिकले सानो रकमको पनि परिवर्तनको अनुभूति हुने गरी विकास पाउन सक्छन् । यसमा पूर्णरुपमा सक्रिय भएर म लाग्ने छु ।