विदेशबाट फर्किएर तरकारी खेति, जस्ले महिनामा लाखौँ कमाउछन्

नवीन अभिलाषी
दाङ, जेठ ९ । पाँच वर्षसम्म विदेश बसेर फर्किएपछि मनिकलाल थारुलाई गाउँमै खेती गर्नुपर्छ भन्ने लाग्यो । ३ वर्ष मलेसिया र २ वर्ष दुवईमा काम गर्दा भोग्नु परेको दुःखले थारुलाई गाउँमै काम गर्न प्रेरणा दियो । त्यहि प्रेरणाले दुई वर्षमै जिल्लाकै नमुना कृषकको रुपमा मनिकलाल थारुलाई स्थापित पनि गरायो ।

घोराही उपमहानगरपालिका वडा नं. १० स्थित नारायणपुर बजारदेखि ३ किलोमिटर दक्षिण पुगेपछि टाढैबाट शिवशक्ति कृषि फार्म देखिन्छ । १५ कठ्ठा जग्गामा नेट हाउस निर्माण गरेर सुरु गरिएको फार्म अहिले जिल्लाकै उत्कृष्ट कृषि फार्मको रुपमा चर्चित छ । १५ कठ्ठा जग्गा पुरै नेट (जाली)ले छोपिएका कारण बाहिरबाट हेर्दा पनि भब्य देखिन्छ ।

Buddha International Hospital
Advertise with us

‘बाबुबाजेले गर्दै आएको कृषि पेसा नै हो, त्यसैलाई निरन्तरता दिएको हँु ।’ थारुले भन्नुभयो, ‘पाँच वर्ष खाडीमा रहँदा कमाएको केहि रकम थियो, त्यसमा केहि संघसंस्थाहरुबाट सहयोग लिएर यो फार्म सञ्चालन गरेको हुँ, अहिले राम्रै भैरहेको छ ।’ धेरैजसो युवाहरुले विदेशबाट कमाएर ल्याएको पैसा घरघडेरी र जग्गा किनेर सिध्याए । तर मनिकलाल अहिले पनि पुरानै घरमा हुनुहुन्छ । कच्ची घर अगाडी भब्य कृषि फार्म देखेर जो सुकै लोभिने गर्छन् ।

२०७३ सालदेखि सुरु गरेको फार्म निर्माणका लागि मनिकलालले आधा जग्गा १० वर्षको लागि भाडामा लिनु भएको छ, भने बाबुबाजेले परम्परागत रुपमा खेति गर्दै आएको जग्गा पनि छ । १५ कट्ठा जग्गमा नेट हाउस प्रविधि निर्माण गरेर फार्म सञ्चालन गरेपछि आम्दानी बढेको थारुले बताउनुभयो । ‘जिल्ला कृषि विकास कार्यालयमा पुगेर सल्लाह गरेँ, उहाँहरुले उपाय बताईदिनुभयो, यसबारेमा मलाई केहि थाहा थिएन ।’ थारुले भन्नुभयो । उहाँले सल्लाह अनुसार चितवन पुगेर नेट हाउसको बारेमा अध्ययन अबलोकन गरेपछि आफुले पनि नेट हाउस भित्र तरकारी खेति गर्ने योजना बनाएको बताउनुभयो ।

‘म सँग ३१ लाख रुपैया जति थियो, त्यति लगानीले मात्र नपुग्ने देखिएपछि सहयोग गर्ने निकायहरु पनि खोजेँ ।’ आफुसँग भएको ३१ लाख रुपैया र साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाबाट २५ लाख रुपैयाको अनुदानमा सुरु भएको कृषि फार्मको लगानी अहिले एक करोड रुपैया भन्दा बढि पुगेको थारुले बताउनुभयो ।

फार्ममा अहिले काँक्रो र भेडे खुर्सानी फलेको छ । प्राविधिकहरुको सहयोगमा उन्नत जातको काँक्रो लटरम्म फेलेको छ भने भेडे खुर्सानीले पनि आम्दानी दिन सुरु गरेको थारुले बताउनुभयो । ‘अहिले दैनिक ४ क्वीन्टल काँक्रो विक्रि हुँदै आएको छ ।’ उहाँले भन्नुभयो । दाङकै स्थानीय बजारमा खपत हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार दैनिक २ क्वीन्टलसम्म भेडे खुर्सानी बजारमा पुग्ने गरेको छ । यस अगाडीको मौसममा उहाँले तने बोडी र टमाटर खेति गरेको बताउनुभयो ।

नेट हाउसको प्रयोगले बाह्य किराहरु प्रवेश गर्न नपाउने भएकाले जोखिम कम हुने मनिकलालले बताउनुभयो । ‘किराको माध्यमबाट सर्ने रोगहरुबाट बच्नको लागि, बातावरण अनुकुलन बनाउनको लागि यो नेट हाउसले सहयोग गर्छ ।’ यो हाउस ७÷८ वर्षसम्म टिकाउ हुने भएकाले लामो समयसम्म तरकारी खेतिकालागि उपयुक्त हुने बताउनुभयो । घोराही उपमहानगरपालिका कृषि महाशाखा प्रमुख भरत पोख्रेलले नेट हाउस प्रविधि अहिलेको सबै भन्दा सुरक्षित प्रविधि भएको बताउनुभयो । बेमौसमी तरकारी खेतिका लागि धेरै मनिकलाल थारुले जस्तै अन्य स्थानका कृषकहरुले पनि सुरु गरिसकेको बताउनुभयो ।

४५ वर्षीय मनिकलाल थारुको अहिले गाउँमा छुट्टै प्रतिष्ठा निर्माण भएको छ, गाउँलेहरुले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ । कृषि फार्म हेर्नको लागि दैनिक जसो मानिसहरु पुग्ने भएपछि मनिकलाल आफै प्रेरणाको स्रोत बन्नु भएको छ । ‘विदेशमा कमाई नहुने हैन, हुन्छ, तर त्यो कमाई लामो समयसम्म रहँदैन, र धेरै दुःख छ, आफ्ने गाउँ जस्तो देश जस्तो हुँदैन ।’ थारु भन्नुहुन्छ, ‘मेहनत गर्ने हो भने गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ ।

Advertise with us