न्यायीक समितिमा १३ मुद्धाको मात्रै टुंगो

यमकला भुसाल
तुलसीपुर, जेठ ७ । विभिन्न किसिमका विवाद र झगडाको बारेमा अहिले न्यायीक समितिले धमाधम काम अघि बढाएको छ । न्यायीक समितिबाट सहयोग लिनेहरुको समेत भीड लाग्न थालेको छ । तुलसीपुर उपमहानगरपालिकामा दैनिक जसो विभिन्न प्रकारका मुद्दा लिएर आउने सेवाग्राहीको सङ्या बढदो छ ।

Buddha International Hospital
Advertise with us

उपमहानगरपालिकामा रहेको न्यायीक समितिका संयोजक माया आचार्यले विभिन्न जिम्मेवारी मध्ये न्यायीक समितिको काममा निकै सक्रिय भएर काम गरिरहेको बताउनुहुन्छ । कहिले घरपरिवारका त कहिले विभिन्न विवादका विषय ल्याएर न्याय माग्न उपमहानगरपालिकामा आउने गरेको उहाँले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकामा रहेको न्यायीक समितिले अहिलेसम्म १३ वटा मात्र विवाद मिलाएको तथ्याङकमा उल्लेख छ । अधिकांश मानिसहरु मुद्धा दर्तापछि फर्केर नआउने, समितिमा मुद्धा दर्ता पछि घरमा गएर विवाद मिलाउने जस्ता कारणले गर्दा कम विवाद फैसला हुन गएको न्यायीक समिति संयोजक आचार्यको भनाई छ ।

आचार्यका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनादेखि जेठ ६ गते सम्ममा ८७ वटा विवाद समितिमा दर्ता भएका छन् । जसमध्ये २०७५÷०७६ को साउन महिनामा ९ वटा, भदौ महिनामा ३, असोज महिनामा ४ र कार्तिक महिनामा ४ वटा, मसिंर महिनामा ९ वटा, पौष महिनामा १० वटा माघ महिनामा ५ वटा, फागुन महिनामा १२ वटा, चैत महिनामा १४ वटा, बैशाख महिनामा १३ र जेठ महिनामा ६ गते सम्म ३ वटा गरि ८७ वटा विवाद समितिमा दर्ता भएको उहाँले बताउनुभयो ।

न्यायीक समितिमा आएका ८७ वटा विवाद मध्ये हालसम्म १३ वटा विवाद मिलाई सकेको र अन्य बाँकी केही मुद्धा छलफलको प्रक्रियामा रहेका छन् । उहाँका अनुसार न्यायीक समितिमा आउने मुद्धामा अनुसार खान लाउन नदिएको, जग्गा विवाद, घरायसी झैझगडा, माना चामल, कुटपीट, पालन पोषण, कुलोपानी, जेष्ठ नागरिकलाई खान लाउन नदिएको सम्बन्धमा, घरेलु हिंसा, सम्बन्ध विच्छेद र लेनदेन लगाएतका रहेका छन् ।

यसैगरी गत वर्षको तुलनामा यस वर्ष न्यायीक समितिमा मुद्धाको चाप बढेको छ । स्थानीय तहमा न्याय सम्पादन हुन्छ भन्ने विषयमा जनतालाई विश्वास छ, त्यसैले पनि मुद्दाको चाप बढ्दै गएको छ, न्यायीक समितिका उजुरी प्रशासक नासु यादवबहादुर डाँगीले भन्नुभयो । अदालतमा जाँदा धेरै पैसा खर्च हुने भएकाले मेलमिलापबाट नै स्थानीय मुद्दाको निरुपण भएको चाहाने उहाँले बताउनुभयो ।

न्यायीक समितिमा तालिम प्राप्त सुचिकृत मेलमिलापकर्ताको माध्यमबाट सहज तरिकाले विभिन्न प्रकारका मुद्दाको टुंगो लगाउदै आएको डागीँले बताउनुभयो । साथै उहाँले घरेलु हिसांमा परेका, निवेदन लेख्न नसक्ने, अशक्त व्यक्तिहरुका लागि सहायता कक्षको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।

Advertise with us