संरक्षण नहुँदा जिर्ण बन्दै दाङको ५५ झ्याले दरबार

Advertise with us


दिवाकर पोख्रेल
देउखुरी,जेठ ५ । पचपन्न झ्याले दरबार यति भन्दा बित्तिकै सबैको ध्यान भक्तपुर तर्फ मोडिन सक्छ । दाङमा पनि पचपन्न झ्याले दरबार छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । अचम्म मान्नु पर्दैन दाङको गढवा गाउँपालिका गोवरढीयामा उक्त पचपन्न झ्याले दरबार देख्न सकिन्छ । तर प्रचारप्रसारको अभावमा आफ्नै ठाउँको पचपन्न झ्याले दरबारको वारेमा स्थानीयहरु नै बेखबर जस्तै छन् ।

Advertise with us

Buddha International Hospital

कुनै बेला ५५ वटा झ्याल रहेको दरबार बनाएकै कारण राजपरिवारको मुद्धा खेपेको दाङ देउखुरीमा रहेको भवन पछिल्लो समय संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । देउखुरी गढवा गाउँपालिका वडा नं ३ गोवरढीयामा रहेको दरबार विसं १९३८ सालदेखि १० बर्ष लगाएर १९४८ सालमा निर्माण सम्पन्न भएको थियो । राज परिषदका सभापति परशुनारायण चौधरीका बाजे जोखनप्रसाद चौधरीले भारतको गोरखपुरबाट कालिगढ मगाएर भवन निर्माण गर्नुभएको थियो । मासको पिठो,ढुङगाको धुलोसँगै बालुवाबाट भवन निर्माण गरिएको थियो ।

भवन निर्माण गरेसँगै भवनको टपमा चार वटा सिंह राखेको कारण र उक्त भवनमा ५५ वटा झ्याल बनाएकै कारण चौधरी परिवारले दश बर्षको अवधिमा तत्कालिन सरकारबाट दुई पटक मुद्धा खेप्नु परेको जोखन चौधरीका पनाती मनोज चौधरीले जानकारी दिनुभयोे ।

तत्कालिन समयमा सिंह दरवार जस्तो भवन निर्माण गरेको र भवनको टपमा सिंह र हात्ति राखेकै कारण चौधरी परिवारले मुद्धा खेप्न परेको थियो । भवन अत्यन्त ठुलो भएको र घरमा धेरै व्यक्तिको स्वामित्व भएका कारण कुरा नमिल्दा भवन संरक्षणमा समस्या देखिएको मनोज वताउनु हुन्छ । जोखन चौधरीका तीन छोरा टंकनाथ,लिलाराम र गणेशरामको स्वामित्व हुँदै उनीहरुबाट पनि छोरा सम्म जाँदा धेरैजनाको स्वामित्वमा दरवार परेपछि संरक्षण कस्ले गर्ने भन्नेमा पनि अन्यौता देखिएको छ ।

दरबार संरक्षणको लागि कुरा हुने गरेपनि सबै भाइछोराहरु जम्मा भएर भेटघाटको अवसर नमिल्दा समस्या भएको गणेशराम चौधरीका छोरा भुवनेश्वर चौधरीले बताउनुभयो । बाजेले बनाए बाँड्दा भाइहरुलाई भाग लागेको छ, कसरी संरक्षण गर्ने मेसो मिलेको छैन, उहाँले भन्नुभयो । घरको संरक्षण गर्न सके पुर्खाको चिनो संरक्षणसँगै आफनो परिवारको इज्जत बढ्नेमा सबै एकमत भएपनि आपसी असहमतीका कारण समस्या भएको उनिहरु बताउँछन ।

आर्थिक वर्ष २०६५ ÷०६६ मा जिल्ला विकास समितिवाट जिल्ल विकास समितिबाट भवनको संरक्षणको पहल सार्थक हुन सकेन । प्रदेश सरकारबाट थारु सङग्रालय बनाउनको लागि २५ लाख रुपियाँ बजेट विनियोजन भएपनि हाल सम्म काम हुन सकेको छैन । ऐतिहासिक महत्व वोकेको दरवारलाई थारु सास्कृतिक संग्राहलयको रुपमा विकास गर्न सकिने प्रदेशसभा सदस्य इन्द्रजीत थारु बताउनुहुन्छ ।

उक्त भवनको संरक्षणसँगै पर्यटकिय केन्द्रका रुपमा विकास गर्नकालागि उक्त भवनलाई ‘परशुनारायण चौधरी थारु संग्रालय’का रुपमा आफुले विकास गर्ने सोच बनाएका समेत प्रदेशसभा सदस्य थारुले वताउनुभयो । दरबारसँगै त्यस क्षेत्रमा रहेको थारु जातिसँग सम्वन्ध गाँसिएको जंगलकुटी धार्मिक क्षेत्रलाई जोडेर थारु जातीका विभिन्न कला संस्कृतिमा सहयोग पुग्ने अनुसन्धानकर्ता उदयराज आले बताउनुभयो ।

३६ वटा कोठाहरु रहेको उक्त भवन करिव चार पाँच कट्ठा जमिनमा फैलिएको छ । ३६ कोठाहरु मध्य अहिले जम्मा दुई वटा कोठाहरु मात्र प्रयोगमा ररहेका छन् ।