द्धन्द्धको घाउ बोकेर बाँचेकाहरु

Advertise with us


रीता लामा
घोराही, ४ जेठ । पुरानो घर रुकुम भएका घोराही १६का नन्दराम पुनको खुट्टामा अझै २५ वटा गोलीका छर्रा छन् । खुट्टाको मासुभित्र पसेका ती छर्राले मासुसँग मिसिएर घर बनाइसके । जसको कारण फेरी काटेर फाल्नै मिल्दैन । गोलीले प्वाल पारेको घाउँ अझै सन्चो हुन सकेको छैन ।

Advertise with us
२०५७ सालमा १७ बर्षको उमेरमा उनी माओवादी बने ।

Buddha International Hospital

न गाउँमा बस्न सक्ने, न भागेर कतै जान पाउने, वातावरण बने पछि बाच्न नै लागि उनी तत्कालिन माओवादीको जनमुक्ति सेना बनेका थिए । सुरुमा जनमिलिसिया, स्वाइट प्लाटुन, कम्पनी कमान्डर, बटालियन हुदै विग्रेड कमाण्डरसम्म भए । सयौ जनमुक्ति सेनाको मुख्य कमाण्डर भएर काम गरे । २०५८ सालमा जुम्लाको सदरमुकाममा आक्रमण हुदाँ उनको बाँया हातमा गोली लाग्यो । उपचार गर्दै, माओवादी सेना मै सक्रिय रहे । २०५९ सालमा बेनी आक्रमणको क्रममा उनको खुट्टामा गोली लाग्यो र त्यसको दुइ दर्जन बढी छर्रा अझै खुट्टामा बाँकी छ ।
सेना समायोजना नहुदासँम्म २०६८ सालसम्म उनी व्यारेक मै रहेर सकेको जति काम गरे ।

तर सेना समायोजना पनि उनी खुट्टामा गोली लागेको कारण असरक्षम बने र बाहिरिए । बाहिरीदा पाएको ५ लाख रुपैया उनको उपचार मै सकियो । तर द्धन्द्धको घाइतेको नाममा उनले पाएको ४० हजार मात्रै हो । जो उपचार गर्न आउजाउ गर्दा बाटो मै गाडी भाडा मै सकियो । उनको खुट्टाको घाउँ बल्झिएर उनी फेरी निरन्तर २० महिना देखि उपचारमा छन् । देशमा १२ बर्षे द्धन्द्ध सकियो त उनको घाउ सन्चो हुन सकेको छैन ।

भन्छन ‘हामी काम गरेर खानेको छोरा काम गरेरै खानुपरेको छ ।’ तर खुट्टा र हातमा लागेको घाउँको कारण उनले बलको काम गर्न सक्दैनन । पत्नीले गरेको सानो किराना पसलले उनको जिन्दगी चलेको छ । आमाबुवा, एक श्रीमती र दुई छोरी पाल्न उनलाई मुस्किल छ । द्धन्द्धमा आधा जीवन सकेर अंगभंग भए पनि उनको घाउँ दुःख छोड्ने कुनै बाटो देखेका छैनन ।


घोराही १७की चुमा आचार्यको पति वेपत्ता पारियो । बेपत्ता पछि घर परिवार र समाजमा आफुले भोगेको पीडाले अझै उनको आँखा ओभानो हुन सकेको छैन । शिक्षण पेसा गर्दै आएका पति धनेश्वर आचार्य विद्यालय जाने भनेर हिडेको न विद्यालय पुगे । न साँझ घर फर्के । कमाई दिने पति वेपत्ता भए पछि उनको दैनिकी निकै दुखदायी बन्यो । वेपत्ता परिवार भन्दै उनलाई पटक पटक गरेर १० लाख रुपैयाँ दिइयो तर सबै आफ्नो र बालबच्चाको उपचारमा सकियो । बालबच्चा पढाउन घर धितोमा राखेको हुदाँ आफु झन् धेरै मानसिक तनावमा रहेको उनी बताउछिन् ।

‘पुरानो कुरा विर्सदै गयो तर अहिलेको समस्याले झन् पोलेको छ ।’ उनी भन्छिन् ‘छोराछोरी पढाउदा नै घरमा धेरै ऋण लाग्यो ।’ छोराले इन्जिनियर पढ्छु भने पछि छोरा पढाउन एक पैसा पनि नहुदाँ उनले घर धितोमा राख्नुपरेको हो । वेपत्ताको परिवार भएको हुँदा परिवारमा रोजगारीको व्यवस्था गरिदिए आफुहरुलाई राहात हुने उनको गुनासो छ ।


किशोर अवस्थामा पुग्दै गर्दै बुबा गुमाएका घोराहीका छल्लु चौधरीको पनि सरकारले दिएको सहिद परिवार वापतको पैसा आमा विरामी हुदाँ सकियो । कमाउने आड भरोसाको बुवा विते पछि उनले पनि निकै कष्ठसँग बाच्नु प¥यो जसका कारण उनले सोचे जति न पढ्न पाए न परिवारको पालपोषण गर्न पाए ।

यस्तै आफ्नो देवर गुमाएकी सुनकुमारी चौधरीलाई पनि समस्या नै छ । आर्थिक अवस्था निकै कमजोर भएका उनीहरुलाई आफ्नो र देवरको छोराछोरी हुर्काउन समस्या भएको छ । सरकारले दिएको ५ लाखले साना बच्चाको नाममा जग्गा जोडिदिए पनि अरु पाउनुपर्ने थप ५ लाख पाउन नसकेको उनले बताइन । साथै साना बालबच्चाको लालन पालन र शिक्षाको लागि सरकारको तर्फबाट कुनै सहयोग नभएको उनको भनाई छ ।

अहिले जिल्ला प्रसासन कार्यालयमा समेत जिल्लामा के कति द्धन्द्ध पीडित छन् भन्ने बारे कुनै तथ्याङ्क छैन । सरकारले प्रत्येक बर्ष द्धन्द्ध पीडितको नाममा पठाउने बजेटमा के कतिले पैसा लगे उनीहरुको मात्रै तथ्याङक राख्ने गरिएको छ ।

विगतमा प्रत्येक जिल्लामा गठन गरिएको शान्ती समितीले केही तथ्याङ्कहरु राखेको थियो । जसमा दाङ जिल्लाका हकमा १३७ जना वेपत्ता, ४६३ जना शहिद, विस्तापित ५ सय, अपहरण ६ सय र घाइते अंगभंग भएका १ हजार बढी रहेका थिए ।

पछिल्लो समयमा द्धन्द्ध पीडितको क्षेत्रमा पैरवि गरिरहेको संस्था महिला कानुन र विकास मञ्च र इन्टर नेशनल अलर्ट द्धारा गठित जिल्ला संजालले जिल्लामा अझै पनि धेरै द्धन्द्ध पीडित समस्यामा रहेको जनाएको छ । संस्थाका कार्यक्रम संयोजक प्रकाश चौधरीले शहिद, वेपत्ता र द्धन्द्धको समयमा अंगभंग भएकाहरुलाई चासोका साथ सरकारले हेर्नुपर्ने देखिन्छ ।

विशेषगरी उनीहरुको शिक्षा, स्वास्थ्य र रोजगारको ज्ञारेन्टी दिने खालको कार्यक्रम ल्याउनुपर्ने उनको बुझाई छ । संस्थाकी अध्यक्ष गोमा महरा पनि द्धन्द्ध पीडितको मुद्दालाई सरकारसमक्ष पु¥याउन संचार क्षेत्रको भुमिका महत्वपुर्ण हुने हुदाँ त्यस तर्फ ध्यान दिनको लागि आग्रह गर्छिन ।