मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

धनगढी। कैलालीमा सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । आइतबार राती कैलालीको टीकापुरमा भएका दुई वटा घटनामा परी उनीहरुको ज्यान गएको हो ।

Buddha International Hospital


Advertise with us
टीकापुर नगरपालिकाको ७ खैरीमा राती साढे ८ बजेतिर अनटेष्ट मोटरसाइकल डल्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर ७ बैदीका ३८ वर्षीय जिवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि टीकापुर अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी सहायक निरीक्षक (प्रसनि) भानु बजगाईंले बताए ।

मोटरसाइकल चालक पवन पाण्डेको हात भाच्चिएको छ । उनको कोहलपुर मेडिकल कलेजमा र अर्का घाइते डल्लप चालक बम्पर चौधरीको नेपालगञ्जमा उपचार भैरहेको छ । मोटरसाइकल चालक पवनका जिवानन्द मामा र विष्णु भिनाजु रहेको प्रसनि बजगाईंले जानकारी दिए ।

त्यस्तै टीकापुर नगरपालिका २ बन्दिपुरमा टायर पञ्चर भई रोकिराखेको ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नं.को मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक आशिष चौधरी घाइते भई उपचारका लागि कोहलपुर रेफर भएकोमा उनको पनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार महेन्द्र चौधरीको टीकापुर अस्पतालमा उपचार भएको छ ।

मृतक जिवानन्द र विष्णुको शब टीकापुर अस्पतालमा राखिएको छ भने चौधरीको शव पनि कोहलपुरबाट टीकापुर ल्याइएको प्रसनि बजगाईंले जानकारी दिए ।