घरेलु मदिरामा चप्पल, पिसाब र प्याड

दीपक जीएम

Buddha International Hospital

घोराही, जेठ ३ । लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही ४ का जनप्रतिनिधि र महिलाहरुले नियन्त्रण अभियान सुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडाहरु नियन्त्रणमा लिएर नष्ट गरेका छन् ।

Advertise with us

गाउँघरमा बनाईने मदिराले सिंगो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान सुरु गरिएको घोराही ४ का वडा अध्यक्ष भिमबहादुर सार्कीले बताउनुभयो । ‘७ वर्षका बालबालिकादेखि ७० वर्षसम्मका बृद्धहरुले समेत मदिरा सेवन गर्न थाले, मदिरा सेवनले गाउँमा दैनिक होहल्ला हुन थाल्यो । झैझगडा र कुटपिटले बढेको घरेलु हिंसा बढ्यो ।’ वडा अध्यक्ष सार्कीले भन्नुभयो, ‘दैनिक झगडा हुने र मिलापत्रका लागि जनप्रतिनिधिहरुले आधा समय त्यसमा खर्चिनु पर्ने अबस्था आयो ।’

वडाका विभिन्न टोलमा गरेर अहिलेसम्म ५ हजार लिटर भन्दा बढि उत्पादित घरेलु मदिरा र कच्चा पदार्थहरु नियन्त्रणमा लिएर नष्ट गरिएको बाह्रहांगे टोल विकास संस्थाका रिखा घर्तिले बताउनुभयो । ‘गाउँमा बस्न नसक्ने भइयो, दिउँसै रक्सी खाएर बाटामा पल्टिने, बेलुका घरमा झगडा गर्ने र अर्को दिन मिलापत्र गराईदिनुपर्ने दैनिक काम जस्तै भयो ।’ घर्तिले भन्नुभयो, ‘कति दिन सहने ? सबै समस्याको एउटै कारण घर पालुवा रक्सी हो भन्ने हामीलाई लाग्यो, त्यसपछि रक्सी फाल्ने अभियान सुरु भयो ।’

अभियानको पहिलो दिन २ हजार ५ सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । विहिबार पनि विभिन्न टोलमा पुगेर मदिरा नियन्त्रणमा लिएको अस्थायी प्रहरी चौकी गोग्लीका ईन्चार्ज विष्णुबहादुर बुढाथोकीले बताउनुभयो । घोराही उपमहानगरपालिका ४ बाह्रहांगे, माथिल्लो भकारे र तल्लो भकारे, त्यसैगरी माझडाँडा, डाँडागाउँ, ढुंगेडाँडा, फल्ले डाँडा, राजधानी टोल, पारखेत लगाएका टोलमा पुगेर मदिरा नियन्त्रण अभियान चलाईएको ईन्चार्ज बुढाथोकीले बताउनुभयो ।

घरमै उत्पादन गरेर विक्रि वितरण हुने मदिरामा महिलाहरु महिनावारी हुँदा प्रयोग गरिने प्याडहरु, पुराना चप्पल, पुराना कपडा र पिसाब मिसावट हुने गरेको वडा अध्यक्ष सार्कीले बताउनुभयो । नियन्त्रणमा लिएर नष्ट गर्ने क्रममा कच्चा पदार्थ राखिएका ड्रम भित्र प्रयोग गरिएका सेनेटरी प्याड, पुराना चप्पल, कपडाहरु भेटिएको उहाँले बताउनुभयो । साथै कच्चा पदार्थसंगै राखिएको राखएको अबस्थामा अभियानकर्मीहरुले एक ग्यालेन मानिसको पिसाव समेत बरामद गरेको अस्थायी प्रहरी चौकीका इन्चार्ज बुढाथोकीले बताउनुभयो ।

घरेलु मदिराको विरुद्धमा स्थानीय रुपमा सञ्चालन भएको अभियानले छापा मार्दा केहि घरमा चप्पल मिसाईएको जाँड बरामद गरेको हो भने, एक ग्यालेन मानिसको पिसाब संकलन गरेर राखिएको अबस्थामा फेला परेको हो । टोल विकास संस्थाको पार्वती रानाले रक्सी पार्न राखिएको जाँडको ड्रम भित्र दुई जोर चप्पल समेत भेटिएको बताउनुभयो । ‘रक्सी पार्नको लागि राखिएको जाँडमा पुराना चप्पल राखिएको छैन, त्यो फाल्ने क्रममा भेटियो ।’ उहाँले भन्नुभयो, ‘एउटा घरमा एक जर्किन मान्छको पिसाव संकलन गरेर राखिएको थियो ।’

प्रहरीले त्यो पिसाब रक्सीमा मिसाउनका लागि राखिएको हुन सक्ने बताएको छ । त्यसको लागि प्रहरीले अनुसन्धान गर्ने र त्यस्तो गतिविधि गर्नेलाई कारबाही गरिने प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णु बुढाथोकीले बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्कीले घरेलु मदिराले उत्पन्न गरेको अपराधलाई न्युनिकरण गर्न मदिरा फाल्ने अभियान सुरु भएको छ, यसलाई नियमित रुपमा अगाडी बढाउने बताउनुभयो ।

‘यो क्षेत्रमा धेरै उच्छृखल गतिविधिहरु भैरहन्छ, त्यसको कारण मदिरा नै देखियो ।’ उहाँले भन्नुभयो, ‘दिनभर काम गर्ने बेलुका रक्सी खाने र झैझगडा गर्ने गरेपछि मदिरा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।’ स्थानीय महिला समूह, टोल विकास संस्था र वडा कार्यालयले अभियान सुरु गरेपछि आफुहरुले सहयोग गरेको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज बुढाथोकीले बताउनुभयो ।