लमहीमा साढे एक करोड महशुल उठ्न बाकी


टेकबहादुर पुन
लमही, ३० वैशाख । नेपाल बिद्युत प्राधिकरण लमही उपवितरण केन्द्रबाट करिब साढे एक करोड बिद्युत महसुल उठाउन बाँकी छ ।

Advertise with us
न्युनतम ३ महिना देखि २२ महिना सम्म महसुल नबुझाएका १२ सय ४३ ग्राहकबाट जरिवाना बाहेक १ करोड ४०लाख ९५हजार १सय ८५रुपैँया ६७ रकम उठाउन बाँकी रहेको बिद्युत उपवितरण केन्द्र लमहीले जनाएको छ । जसमध्य सबैभन्दा धेरै एस.एम.बि. फुड प्रोडक्टको ६ लाख १९हजार ५ सय ४ रुपैँया बिद्युत महसुल बाँकी रहेको छ ।


त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लमहीको १ लाख ७५ हजार ७ सय २४ रुपैँया, मनकामना एग्रिगेट बालुवा उद्योगको १ लाख ४ हजार रुपैँया, चिरण राईस मिल (पाण्डे राईस आयल मिल) को ४ लाख ७८ हजार ७ सय ४६ रुपैँया, खानेपानी योजनाको १ लाख ६७ हजार, खड्का स–मिलको १ लाख ६७ हजार १सय ५० रुपैँया, लमही नगरविकाश समितिको ५१ हजार रुपैँया महसुल बाँकी छ ।

Buddha International Hospital


यसैगरी बगिया खानेपानी भैँसहवाको १लाख ९७हजार, छम्पाली आयल मिलको १लाख ९हजार, दाङ्गभ्याली ह्युम पाईप सुन्डबरीको ६४हजार, नर्ति रेञ्जपोष्टको ५३हजार, राप्ती उद्यम प्रा.लिको ३लाख १५हजार, भन्सार कार्यालयको ५७हजार, हमाल राईस तथा आयल मिलको ६३हजार, शिबशक्ती कृषक सहकारी सँस्थाको १लाख १२ हजार, गोराराम बोहोरा (खा) को नाममा रहेको मिटरमा ३लाख ६४हजार बिद्युत महसुल बुझाउन बाँकी रहेको देखिन्छ ।

बिद्युत प्राधिकरण लमही उपवितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योग हरुको महसुल बाँकी छ । उनले महसुल नबुझाएका ग्राहकहरुको तत्काल बिद्युत कनेक्सन काटिने बताए । रिडिङ्ग भएको ६० दिनभित्र महसुल नबुझाए कनेक्सन काट्ने प्राबधान रहेपनि उपवितरण केन्द्र लमहीले २२ महिनासम्म पनि महसुल नबुझाएका ग्राहकको बिद्युत कनेक्सन काट्न भने सकेको छैन । ठुलाबडाका उद्योगहरुको लाईन नकाटिएको पाईएको छ ।

सर्बसाधारण घरको उपयोगको लागी भने २ महिनामै कनेक्सन काटिदा ग्राहक चिन्तित छन् । ‘कानुन ठुलाबडाकै लागि रैछ ।’ लमही ७ निवासी किशोर कुमार घर्ती मगरले भने ‘२२ महिना नबुझाएको लाईन काटिदैन तर २ महिनाको महशुल बाकीको लाईन काटिन्छ ।’ गरिब र दिनदुखीको जमाना रहेन उनले गुनासो गरे । महशुल नबुझाएको ३१औँ दिनदेखी नै जरिवाना लाग्ने भए पनि अटेरी स्वाभावले गर्दा बर्षौ दिनसम्म बिद्युत महसुल नबुझाउनेको सँख्या धेरै रहेको कार्यालयले जनाएको छ । त्यसो त घरायसी प्रयोगका मिटरहरुबाट समयमै महसुल बुझाउने गरेको कार्यालयको भनाई छ ।

कार्यालयले अनलाईन मार्फत पनि भुक्तानी लिने गरेको छ । सिस्टम लागू भएदेखी अहिलेसम्म २६ हजार ग्राहकहरुबाट करिब १ करोड २०लाख भुक्तानी लिईसकेको प्रमुख शर्माले बताए । लमही बजार देखि बिद्युत कार्यालय पुग्न करिब आधा किलोमिटर उकालो चढ्नुपर्छ । सबैलाई सहज होस भनेर अनलाईनको व्यवस्था गरेको शर्माले जानकारी दिए । ई सेवा, पे पोईन्ट, महालक्ष्मी बैँक, नविल बैँक, हिमालय बैँक, प्रभु बैँक, आई एम ई पे, सि एफ एस, सिटि एक्सप्रेस र एन ई ए क्याब मार्फत बिद्युत महसुल बुझाउन सकिने छ ।

उत्तर तर्फ चुरे पहाड, पुर्ब तर्फ कपिलबस्तुको सितगँगा र अर्घाखाँचीको शिवराज, दक्षिण तर्फ भारतको सिमाना, पश्चिमको बाँकेको सिमाना बीचका ग्राहक हरुले यसै कार्यलयमा महसुल बुझाउने गर्छन । पुर्वका ग्राहकलाई टाढा पर्ने भएकाले कार्यालयले भालुबाङ्गमा बिल भुक्तानीको लागी मुबायल काउन्टरको पनि स्थापना गरेको छ ।

“यस कार्यालयको एरिया ठूलो छ, ९०रुपैँया बुझाउन आउँदा ५सय खर्च भईदिन्छ, त्यसैले पारदर्शी हिसाबले सम्झाई बुझाई गरि ३र४महिनाको भुक्तानी एकैचोटी पनि लिने गरेका छौँ शर्माले भने ।“ त्यसो त कार्यालय समय भन्दा अघि पछि कोही ग्राहक बिल बुझाउन आए भुक्तानी लिने गरेको शर्माको भनाई छ ।

लोडसेडिङ्ग मुक्त घोषणा गरेपनि पटक–पटक लाईन जाने समस्या भने कुनै नौलो हैन । गर्मिमा बिद्युतको माग बढ्ने र हावा हुरी सँगै बर्षात पनि हुने भएकाले सिस्टम बचाउनको लागि लाईन काटिने गरेको प्रमुख शर्माको भनाई छ । “यो लोडसेडिङ्ग होईन, सिस्टम बचावटको लागी बेला बेलामा लाईन काटिन्छ शर्माले भने( केही दिनपछि ग्राहकले यो समस्या भोग्नुपर्ने छैन ।“