बाढी पीडितले राहत पाएनन्

Advertise with us

बाँके बैशाख २९ । साढे चार वर्षदेखि राहत रकमका लागि दौडधुप गरिरहेका बाँकेको राप्तीपारिका एक हजार बढी बाढी पीडितले अझै राहत रकम पाएका छैनन् । पटक पटक राहतका लागि सदरमुकाम धाउँदै आए पनि सरकारी उदासिनताका कारण जिल्लाका बाढीपीडितले करिब साढे चार वर्षदेखि राहत रकम पाउन नसकेको गुनासो गरेका छन् ।

Buddha International Hospital

Advertise with us

२०७१ सालका बाढी पीडितलाई सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन डिभिजन विभागमार्फत वितरण गर्ने विशेष राहत प्याकेजको रकम अहिलेसम्म पनि नपाएको बाढीपीडित संघर्ष समितिका अध्यक्ष जगदिशबहादुर सिंहले बताए । अध्यक्ष सिंहका अनुसार मन्त्रालयले जग्गा हुनेलाई तीन लाख र जग्गा नभएकालाई तीन लाख ५० हजार दिने घोषणा गरेको थियो । तर, साढे चार वर्ष बितिसक्दासमेत सो रकम नपाइएको उनले जनाए ।

सहरी विकास तथा भवन डिभिजन विभाग डिभिजन कार्यालय नेपालगन्जका अनुसार २०७१ को बाढीबाट बाँकेमा एक हजार ६ सय ५२ परिवार प्रभावित भएका थिए । कार्यालयका अनुसार २०७४ सालमा ५ सय ९० जनालाई प्रतिव्यक्ति ५० हजारका दरले पहिलो किस्ता बुझाइएको थियो । बाँके र बर्दियाका बाढी पीडितका लागि ५९ करोड बजेट आएको बताउँदै सो कार्यालयले पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता एक लाखदेखि एक लाख ५० हजार दिने भने पनि दोस्रो किस्ता अहिलेसम्म आएको छैन ।

बर्दियामा ३ हजार ५ सय ७९ जना बाढी प्रभावित रहेकामा तीन हजार २ सय ४८ जनाले पहिलो किस्तावापत ५० हजार बुझेका छन् । राहतका लागि पीडित नआएपछि गएको वर्ष पहिलो किस्तावापत झन्डै २८ करोड रुपैयाँ फिर्ता पठाएको र त्यसयता दोस्रो किस्ता नआएको जनाइएको छ ।

२०७१ सालमा आएको बाढीमा मुख्य गरी तत्कालीन होलिया, बेतहनी, गंगापुर, मटेहिया, फत्तेपुर क्षेत्र बढी प्रभावित भएका थिए । २०७४ सालका सबै बाढीपीडितले अझै राहत पाउन सकेका छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार यसअघि १९ करोड विनियोजन गरिएकोमा राप्तीसोनारी–८ र डुडुवा गाउँपालिका–३ मा रकम वितरण हुन सकेको थिएन । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले सबै सम्बन्धित गाउँपालिकामा रकम पठाइसकेको छ । कतिपय स्थानमा आन्तरिक कारणले वितरणमा ढिलाइ भएको हो ।

संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयले यसअघि राहत पाउनका लागि छनोटमा परेका बाँकेका बाढीपीडितका लागि एक अर्ब ३७ करोड ७४ लाख माग गरेको थियो । २०७३ सालमा छनोटमा परेका बाढीपीडितलाई राहत वितरणका लागि रकम मन्त्रालयसँग माग गरिएको र उक्त रकम आएलगत्तै राहत वितरण गर्ने आयोजना इकाई कार्यालयले जनाएको छ ।