दाङसहित देशभर आजदेखि कक्षा ११ को परिक्षा शुरु

Advertise with us


तुलसीपुर, २९ बैशाख ।
दाङ सहित देशभर आजदेखि कक्षा ११ को परिक्षा शुरु भएको छ । कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी रहेका छन् । जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

Advertise with us

कक्षा ११ को परीक्षामा सबैभन्दा कम मनाङ जिल्लाबाट ५१ जना र सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ७१ हजार ५ सय २७ परीक्षार्थी रहेका छन् । बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरेको छ ।

Buddha International Hospital

जसमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय २२ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १÷१ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि प्रदेश १ मा १ सय ९७, २ मा १ सय १५, ३ मा ३ सय ३, गण्डकीमा १ सय १८, प्रदेश ५ मा १ सय ६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा १ सय १९ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था गरिएको छ ।

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरेको छ । बोर्डले केन्द्रमा प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ । बोर्डको मुख्यालयमा रहेको कन्ट्रोल रुमबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने समेत व्यवस्था गरिएको बोर्डले जनाएको छ ।।