आगोमा जलेको भविष्य

दाङ, वैशाख २८ । जंगली डढेलोका कारण माले र सिरुखर्कको सिंगो गाउँ नै खरानी बन्यो । दाङको घोराही उपमहानगरपालिका १ तल्लो माले र सिरुखर्कका अग्नी पिडितहरु अहिले बारी र रुखमुनी छन् । जिन्दगी भर कमाएर, जोगाएर राखेको सम्पती र भविष्यको योजना आगो खाएपछि खुल्ला आकाशमुनि सुत्न बाध्य छन् ।

Buddha International Hospital

Advertise with us

‘आगोले घर गोठ सँगै सबै सरसमान जलेर नष्ट भए’ पीडित हेमलाल थापाले भन्नुभयो, ‘बारी र रुखमुनी दिनरात बस्नु परेको छ ।’ तल्लो माले र सिरुखर्क गाउँमा वन क्षेत्रबाट आएको आगोले २० घरगोठ जलेर नष्ट भएका छन् । आगलागिबाट झण्डै ५१ लाख रुपैयाँको क्षति भएको छ । जंगलबाट आएको आगो गाउँमा सल्कीदा एकै परिवारका १० घरगोठ समेत जलेर नष्ट भयो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ५० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

‘रेडक्रसले दिएको त्रिपाल टाँगेर बारीमा बसेका छौँ’ प्रेमबहादुर थापाले भन्नुभयो, ‘शरिरको एक सरो कपडा सँग रहेका अग्नी पिडितहरुलाई चर्को घाम, पानीको अभावसँगै बास नहुदा निकै पिडा भएको छ ।’ पानीको अभाब र तिव्रगतिमा चलेको हावाका कारण आगो निभाउन नसेकको पिडितहरुको भनाई छ । यस अघि अस्ती बेलुका सोही वडाकै तल्लो माले गाउँमा पनि वन क्षेत्रबाट आएको आगो पस्दा ४ परिवारका १० घरगोठ जलेर खरानी भएको थियो ।

उता देउखुरीको राजपुर गाउँपालिका १ पटौली नाकाका गगन बस्नेतको घरगोठमा आगलागी भएको छ । सोलारको तार सर्ट भएर भएको आगलागीबाट ४ वटा बाख्रा मर्नका साथै घरगोठ पूर्णरुपले जलेको छ । यस्तै दाङको शान्तिनगर गाउँपालिकामा गत सोमबार दिउँसो एकै परवारको तीन घरमा आगलागी भयो । जुम्लेकुलामा एकै परिवारका बुद्धिराम रेउले, गौरीलाल रेउले र कुलबहादुर रेउलेको घरमा आगलागी हुँदा लाखौंको क्षति भयो । केहिदिन अघि मात्रै तुलसीपुर टरिगाउँ एयरपोर्ट नजिकैको ऊँ बहादुर चौधरीको काठ मिलमा भएको आगलागीबाट लाखौंको काठ, काठ चिर्न प्रयोग हुने औजार, एउटा मोटरसाइकल, दुइटा साइकल लगायतका सामग्री जलेर नष्ट भएको छ ।

वर्षेनी आगलागीका कारण करोडौँ रुपैया बराबरको धनमाल खरानी हुने गरेको दाङमा पाँच वर्षको अबधीमा ६ सय ७९ घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयले तथ्यांक राखेको छ । आर्थिक वर्ष २०६९÷७० मा १०४ घर जलेर खरानी भएका छन् भने २०७०÷७१ मा १३७ घर खसाप भएका छन् । यस्तै २०७१÷७२ मा १८० घरहरु आगलागीका कारण प्रभावित बने भने आर्थिक वर्ष २०७२÷७३ मा ११८ घर परिवारहरुले घरबास गुमाउन बाध्य हुनुप¥यो । यस्तै २०७३÷७४ मा ८५ घरमा आगलागी भएको थियो । यसवर्षको फागुन २५ गतेसम्म ५५ घरमा आगलागी भएको जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका सुचना ब्यवस्थापन अधिकृत खिलानाथ दाहालले बताउनुभयो ।

‘आजभोलिको सुख्खा र हावाहुरी चल्ने मौसममा आगो पूर्ण रूपमा ननिभाउँदा र मानवीय त्रुटिका कारण आगलागी हुने गरेको छ ।’ दाहालले भन्नुभयो, ‘मानिसले आनीबानीमा सुधार गर्नुपर्छ, यस्तो मौसममा जथाभावि आगो छोड्नु हुँदैन, जंगलमा आगो लगाउनु हुदैन ।’ जंगलमा आयो लगाउँदा त्यो आगो बस्तीसम्म आएर गाउँ नै सखाप पार्ने जोखिम रहेको उहाँले बताउनुभयो ।

दाङमा अहिले ४ वटा मात्रै दमकल छन् । घोराही उपमहानगरपालिकामा १, तुलसीपुर उपमहानगरपालिका–१ र लमही नगरपालिकासँग भएका दुई वटा दमकलले सिंगो जिल्लाका सबै स्थानमा सेवा दिनुपर्ने अवस्था छ । आगलागीका घटनाहरु जिल्लाको शहरबजार भन्दा धेरै टाढा ग्रामिण भेगमा हुनु र दमकल शहरमा केन्द्रित भएका कारण समयमै आगो रोकथाम गर्न समस्या भएको लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले बताउनुभयो ।

Advertise with us