घरेलु मदिरामा चप्पल र पिसाब

महिला, प्रहरी र जनप्रतिनिधिद्धारा घरघरमा छापा, २ हजार ५ सय लिटर मदिरा नष्ट

 

Buddha International Hospital

दीपक जिएम

Advertise with us

दाङ, वैशाख २७ । गाउँघरमा बनाईने मदिराले सिंगो गाउँमा नै विकृती हुन थाल्यो । ७ वर्षका बालबच्चा देखि ७० वर्षसम्मका बृद्धहरुले समेत मदिरा सेवन गर्न थाले । मदिरा सेवनले गाउँमा दैनिक होहल्ला हुन थाल्यो । झैझगडा, कुटपिटको साथै घरेलु हिंसा बढ्यो । दैनिक झगडा हुने र मिलापत्रका लागि जनप्रतिनिधिहरुले आधा समय त्यसमा खर्चिनु पर्ने अबस्था आयो ।

त्यसको समाधारका लागि घोराही ४ बाह्रहांगेका स्थानीय महिला पुरुषहरु नै जागेर मदिरा फाल्ने अभियान सुरु गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ४ को कार्यालयसंगको समन्वय गरेर बाह्रहांगे टोल विकास संस्था र स्थानीय महिलाहरुले घरेलु रुपमा उत्पादन गरिएका मदिरा नियन्त्रणमा लिएर नष्ट गर्ने काम सुरु गरेको स्थानीय रिखा घर्तिले बताउनुभयो । ‘गाउँमा बस्न नसक्ने भइयो, दिउँसै रक्सी खाएर बाटामा पल्टिने, बेलुका घरमा झगडा गर्ने र अर्को दिन मिलापत्र गराईदिनुपर्ने दैनिक काम जस्तै भयो ।’ घर्तिले भन्नुभयो, ‘कति दिन सहने ? सबै समस्याको एउटै कारण घर पालुवा रक्सी हो भन्ने हामीलाई लाग्यो, त्यसपछि रक्सी फाल्ने अभियान सुरु भयो ।’

अभियानको पहिलो दिन २ हजार ५ सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । घोराही उपमहानगरपालिका ४ बाह्रहांगे, माथिल्लो भकारे र तल्लो भकारे गरि तीन वटा टोलमा रहेका केहि घर परिवारले उत्पादन गरेका घरेलु मदिरा नष्ट गरेको अस्थायी प्रहरी चौकी गोग्लीका धनवीर खड्काले बताउनुभयो । १४ वटा घरबाट २ हजार छ सय लिटर मदिरा नष्ट गरेर मदिरा उत्पादन गर्ने सम्पुर्ण भाँडाहरु नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

‘यो क्षेत्रमा धेरै उच्छृखल गतिविधिहरु भैरहन्छ, त्यसको कारण मदिरा नै देखियो ।’ उहाँले भन्नुभयो, ‘दिनभर काम गर्ने बेलुका रक्सी खाने र झैझगडा गर्ने गरेपछि मदिरा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।’ स्थानीय महिला समूह, टोल विकास संस्था र वडा कार्यालयले अभियान सुरु गरेपछि आफुहरुले सहयोग गरेको अस्थायी प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णु बुढाथोकीले बताउनुभयो ।

मदिरामा चप्पल र पिसाब

घरेलु रुपमा उत्पादन हुने मदिरामा विभिन्न पदार्थहरु मिसावट हुने कुरा धेरैले सुन्ने गरेको थिए । तर घोराही उपमहानगरपालिका वडा नं. ४ का केहि टोलमा उत्पादन हुने मदिरामा पुराना चप्पल र पिसाब मिसावट हुने गरेको पाईएको छ ।

घरेलु मदिराको विरुद्धमा स्थानीय रुपमा सञ्चालन भएको अभियानले छापा मार्दा केहि घरमा चप्पल मिसाईएको जाँड बरामद गरेको हो भने, एक ग्यालेन मानिसको पिसाब संकलन गरेर राखिएको अबस्थामा फेला परेको प्रहरी हवल्कार धनवीर खड्काले बताउनुभयो । टोल विकास संस्थाको पार्वती रानाले रक्सी पार्न राखिएको जाँडको ड्रम भित्र दुई जोर चप्पल समेत भेटिएको बताउनुभयो । ‘रक्सी पार्नको लागि राखिएको जाँडमा पुराना चप्पल राखिएको छैन, त्यो फाल्ने क्रममा भेटियो ।’ उहाँले भन्नुभयो, ‘एउटा घरमा एक जर्किन मान्छको पिसाव संकलन गरेर राखिएको थियो ।’

प्रहरीले त्यो पिसाब रक्सीमा मिसाउनका लागि राखिएको हुन सक्ने बताएको छ । त्यसको लागि प्रहरीले अनुसन्धान गर्ने र त्यस्तो गतिविधि गर्नेलाई कारबाही गरिने प्रहरी चौकी गोग्लीका इन्चार्ज विष्णु बुढाथोकीले बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्कीले घरेलु मदिराले उत्पन्न गरेको अपराधलाई न्युनिकरण गर्न मदिरा फाल्ने अभियान सुरु भएको छ, यसलाई नियमित रुपमा अगाडी बढाउने बताउनुभयो ।