राजतन्त्र ढाल्नेको उठिबास, राजाका मान्छेलाई खसोखास

Advertise with us

सशस्त्र द्वन्द्वकालीन जनमुक्ति सेनाका सुप्रिम कमाण्डर प्रचण्डले प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकाल पूरा गरेर तेस्रो कार्यकालको प्रतीक्षा गरिरहनुभएको छ । विद्रोही सैन्य फर्मेसनको कमाण्ड गरेर आउनुभएका नन्दबहादुर पुन (पासाङ) उपराष्ट्रपतिको रुपमा दोस्रो कार्यकाल सम्हाल्दै हुनुहुन्छ । रामबहादुर थापा (बादल) रक्षाबाट गृहमन्त्रीमा पुग्नुभएको छ । तर, त्यही विद्रोहका एकजना कमाण्डरले भने यही गणतन्त्रमा धुरुधुरु रोएर हिँड्नुपर्ने दिन पनि आएको छ ।

Buddha International Hospital

Advertise with us

यदि जनताका ती छोराको आँशु थामिएन भने सोझो बाहुनमाथि मात्र अत्याचार गरिएको ठानिने छैन । हिजो देश र समाजकै परिवर्तनका लागि ज्यान हत्केलामा राखेर लडाइँमा हिँडेका र आज नाफाको जिन्दगी बाँचिरहेका अरु थुप्रै मानिसमाथिको सामुहिक अत्याचार मानिने स्थिति पैदा हुनेछ । हिजोका एकजना अयोग्य लडाकु आज बालसेना प्रयोगको मुद्दा बोकेर बेल्जियमतिर दौडिँदै छन्, लेनिन विष्ट । श्रीलंकामा पनि लिट्टे सकियो भनिएकै हो । तर, नयाँ–नयाँ द्वन्द्वमा फस्दैछ, त्यो मुलुक । यता, नेपाली सेनामा चलिरहेको भेदभावको शिकार समायोजनबाट गएका कमाण्डरहरुलाई बनाइँदा यस्ता अनेकन अनुमान गर्न थालिएको छ ।

नेपालको सैनिक नियमावलीअनुसार विदेशस्थित दूतावासमा सैनिक सहचारी भएर जाँदा दुई वर्षबीच कुनै पनि पदोन्नति लिन्नँ भन्ने कागजमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । तर, कसैका लागि भने त्यो कुरा लागू भैदिएन । पहिला अख्तियार प्रमुख लोकमान सिंह कार्कीले आफ्ना भतिजी ज्वाइँ सागरबहादुर केसीको हकमा त्यो नियमलाई धोती लगाइदिए । उनी ढाकामा पोष्टिङ जाँदा एक वर्षमै बढुवा दिलाए, अहिले राष्ट्रिय निकुञ्ज हेर्ने काममा खटिएका छन् । ठूलो बजेट भएको अड्डा हो त्यो ।

नेकपाको वर्तमान सरकारले यदि विवेक गुमाएन भने देशमा गणतन्त्र ल्याउने लडाइँका कमाण्डरलाई केही वर्षपछि सैनिक प्रमुख हुने अवसर जुर्नसक्छ । यदि विवेक जानी–नजानी बन्धक बनाइयो हो भनेचाहिँ महाराजका भित्री सेवकहरु पालैपालो गणतन्त्र नेपालको सैन्य प्रमुख हुने दुर्भाग्यपूर्ण घडी सन्निकट छ ।

यसप्रकार सात वर्षपछिको प्रधानसेनापतिमा पूर्वराजाका अंगरक्षकलाई नियुक्तिको ढोका खुल्नै लागेको छ । यो प्रसंग सैनिक नियम, प्रचलन र मापदण्डभित्रै रहेर जनमुक्ति सेनाबाट समायोजित यमबहादुर अधिकारी (प्रतीक्षा) सँग जोडिएको छ । प्रतिक्षा, जसले धादिङको कृष्णभीरमा सेनालाई एम्बुस थापेर ठूलो परिमाणमा हतियार कब्जा गर्न सफल भए, उनको र दरबार हत्याकाण्ड हुँदा अधिराजकुमार निराजनको एडिसी रही पछि ज्ञानेन्द्रद्वारा सबैलाई बर्खास्त गरी आफ्नो अंगरक्षकमा टपक्क टिपिएका मधुकर कार्कीमध्ये यो सरकारले कसलाई छनौट गर्ला ? प्रश्न एकदमै पेचिलो बनिरहेको छ ।

दरबार हत्याकाण्डलगत्तै राजा वीरेन्द्रदेखि सबैका अंगरक्षकलाई हटाई बेलायतमा तालिम लिन पठाइएका प्रियपात्र, लोकमानसिंह कार्की र राप्रपा नेताका भतिज हुन्, मधुकर । अमेरिकास्थित नेपाली दूतावासमा तैनाथ उनलाई आजभोलि नै प्रधानसेनापतिको लाइनमा हाल्न लागिएको छ । यमबहादुर अधिकारीले चाहिँ ‘मैले लडेको र देखेको सबै सपना सखाप हुने भयो’ भन्दै रोएर हिँड्नुपर्ने अवस्था छ । वीरेन्द्र जिउँदै हुँदा जंगी अड्डालाई तह लगाउने सैनिक सचिवालय थियो । त्यसले मेजरभन्दा माथि सबैको पदोन्नती, सरुवा, बढुवा, विदेश भ्रमण, तालिमको काम हेथ्र्यो । ०४६ सालसम्म त्यहाँ जर्नेल ऋषिकुमार पाँडे सैनिक सचिवका रुपमा थिए ।

ऋषिकुमारपछि शान्तकुमार मल्लले ६ वर्ष मुलुक चलाए । त्यसबेला नारायणहिटीमा दुई जर्नेलको हालिमुहाली थियो, शान्तकुमार र ताराबहादुर थापा । शान्तकुमारका बुबा शेरबहादुर विश्वयुद्ध लडेका, सार्जेन्ट हवल्दार । ताराबहादुरका बुबा चित्रबहादुर । यी दुबैलाई राजा महेन्द्रले लप्टनमा दरबार भिœयाएका थिए । दीपेन्द्रको एडिसीमा सहायक रथी धरणीधर कार्की, राष्ट्रियसभाका पूर्वअध्यक्ष बेनिबहादुर कार्कीका भाइको छोरा राजु थिए । दरबारको परम्परा थियो, युवराज हुँदाको एडिसी राजा भएपछि उनैको एडिसी हुने । ०५७ मा शान्तकुमार हटेपछि विवेक शाह सैनिक सचिव भए ।

०५८ दरबारमा हत्याकाण्ड भयो । त्यसअघि नै युवराजको सुरक्षा हेर्न पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहोराका छोरा तथा २८ बेसिकका खुकुरी होल्डर गजेन्द्र पनि दरबार छिराइएका थिए । दरबार हत्याकाण्डपछि राजु, जो तीन दिनपछि तालिमको निम्ति अमेरिका जाँदै थिए, उनीसहित गजेन्द्र र वीरेन्द्रका एडीसी सुन्दरप्रताप रानासमेत बर्खास्तीमा परे । सत्ता ज्ञानेन्द्रको हातमा गयो । त्यतिबेलासम्म मुमाबडामहारानीको एडिसी, अधिराजकुमारका एडिसी पनि कर्णेलमात्र हुन्थे ।

ज्ञानेन्द्रले महेश चन्दलाई राखे । जो पछि पेस्तोल हराएको काण्डमा साइड लगाइए र मुमाबडामहारानीका एडिसी विनोज बस्न्यातलाई आफ्नोमा छिराए । उनीपछि राजु, गजेन्द्र स्वतः राजाको एडिसी हुने रोलक्रममा थिए । उनीहरु सैनिक सचिव पनि हुन्थे । यी सबैलाई पाखा लगाउँदै–लगाउँदै ज्ञानेन्द्रले बाहिरबाट गजेन्द्रबहादुर लिम्बूलाई सहायक रथीमै दरबार भिœयाए । अमेरिकामा राजदूत थिए, जयप्रताप राणा । उनका छोरा सविन पेस्तोल पड्काउँदै हिँड्ने । लागु औषध र युवती भिडाएर दीपेन्द्रलाई राजु र गजेन्द्रले बिगारेजस्तो पारसलाई सविनले बिगारेको भनिन्छ । पारसलाई कन्ट्रोल गर्न सकेन भनेर सविनलाई हटाइयो । अर्का छन्, निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीका कान्छो भाइ रतिन्द्र खत्री ।

अब हुनेवाला प्रधानसेनापति प्रभुराम शर्माको दौंतरी २० बेसिकको खुकुरी होल्डर । विवेक शाहपछि लिम्बू, विनोज र रतिन्द्र रोलक्रममा थिए । निराजनका एडिसी मधुकर कार्की महासेनानीमै रिटायर्ड हुने गरी दरबार भित्रिएका । उनी राजाका व्यापारिक साझेदार, विराटनगरिया पञ्च नेता जनक कार्की र मेजर जनरल महेशविक्रम कार्कीका भतिजा । उनैलाई हो, सर्लक्कै एक नम्बरमा सहायक रथी बनाउन लागिएको । पूर्वी पृतना जान लागेका निरञ्जन श्रेष्ठको ठाउँमा रिक्त हुने एकतारे जर्नेलमा अहिले वासिङ्गटन डिसीमा कार्यरत मधुकर ल्याइँदैछन् ।

पहिलाको चलन कस्तो थियो भने, दरबारमा काम गर्नेहरु जागिरको १५ वर्षबाट १६ वर्ष लाग्नेबित्तिकै लेफ्टिनेन्ट कर्णेल हुने, १९ वर्ष लाग्दा स्वतः फुल कर्णेल हुने । विनोज र रतिन्द्र यही प्रावधानअन्तर्गत महासेनानी बन्न पुगे । मधुकर पनि १५ वर्षमै प्रमुख सेनानी बने । बाहिर रहेकाहरुलेचाहिँ लेफ्टिनेन्ट कर्णेल हुन २१ वर्ष, महासेनानी हुन २५ वर्ष काम गरेकै हुनुपर्ने । एडिसी टोलीलाई यसरी विशेष सुविधा दिएर छोटो अवधीमा बढुवाको बाटो खोलिएको थियो ।

०६३ मा राजतन्त्र गयो । गजेन्द्र लिम्बूको दुर्भाग्य शुरु भयो । दरबारबाट बाहिर निस्किएर दुईतारे जर्नेलमै घर गए । विनोज बस्न्यात, रतिन्द्र खत्री, मधुकर कार्की पनि दरबारबाट बाहिरिएर जंगी अड्डा पुगे । विनोजलाई सहायक रथी बनाइयो । अहिले उनी पदमा रहिरहेको भए पूर्णचन्द्र थापाको ठाउँमा प्रधानसेनापतिका दावेदार हुन्थे । पूर्णचन्द्र १६ बेसिकका, विनोज १८ बेसिकका । त्यसमध्ये विनोज डेढ वर्षअघि काण्ड लागेर घर गइसके । रुक्माङ्द कट्वाल आफू पनि दरबारबाटै आएको नाताले उनलाई च्याप्नु स्वाभाविक थियो । छत्रमानसिंह गुरुङले प्रभुराम शर्माको ठाउँमा चिफ हुने रोलक्रममा रहेका रतिन्द्र खत्रीलाई पद रिक्त हुँदा पनि पदोन्नती दिएनन्, फुलकर्णेलमै घर पठाइदिए । फलस्वरुप अब सर्लक्कै मधुकर कार्कीको खुदो पल्टिँदैछ । उनको नोकरी जम्मा २६ वर्ष भएको छ ।

जबकि ३० बेसिकका, स्याण्डहस्र्र्ट गरिसकेका र मधुकरसँगै बेलायत तालिममा गएका सुवाषजंग थापा बल्लतल्ल प्रमुख सेनानीबाट भर्खरै महासेनानीमा सिफारिस भएका छन् । सँगैका मधुकरचाहिँ एक नम्बरमा सहायक रथी हुँदैछन् । उनीसँग वासिङ्गटनस्थित नेपाली दूतावासमा पत्राचार गरेर जंगीअड्डाले बढुवाको कागजपत्र मागिसकेको छ । जबकि, राजाको एडिसी वा वरिपरि बसेकाहरुलाई प्रधानसेनापति नबनाउने भनेर यसबीच अनेकन सैनिक अधिकारीहरु हटाइएका थिए । मधुकरलाई पनि कसैले लिन नमानेपछि राजेन्द्र क्षत्रीका दाइ रमिन्द्रले मनोवैज्ञानिक कार्य महाशाखामा तीन वर्ष राखे, लोप्रोफाइलमा । उनी तिक्ष्ण बुद्धि भएका व्यक्ति हुन् भन्ने कुरामा कुनै शंका छैन । लोप्रोफाइलमा राखिनुका कारण अर्को फाइदा भयो, गौरवसमशेर र पवन पाँडेलाई स्वास्थ्य राम्रो हुन्छ भनेर साइकल सवारीको पार्टनर बनाए । अनेकथरिका साइकल चढ्न सिकाए ।

छत्रमानले गौरवसमशेरलाई ११ महिनासम्म बढुवा नदिएर राख्दा साइकल सिकाउन झन् राम्रो अवसर मिल्यो । गौरव चिफ भए । उनैले ०६८÷६९ मा फास्टट्रयाक लगाए । र, ३० बेसिकका मधुकरले २७ बेसिक, अर्थात् चार तहलाई टपेर महासेनानीमा पदोन्नती पाए । मापदण्ड पूरा गर्नको निम्ति उनलाई जगदलको गणपति पनि बनाइयो । गौरवसमशेरको कार्यकालभरि प्रधानसेनापतिको सबभन्दा नजिकको अफिसर उनै रहे । गौरवको एक वर्ष कार्यकाल थप्ने खेलमा पनि उनले भूमिका खेले । पछि राजेन्द्र क्षत्रीले इटहरीस्थित पूर्वीपृतना हेक्वा पठाए । राजेन्द्र पनि केमा चुके कुन्नी, दुई वर्षमै आफ्नो सैनिक सहायकका रुपमा जंगी अड्डा भिœयाउन बाध्य भए ।

सहायक रथी हुन हायर कमाण्डको तालिम अनिवार्य छ । दुई वर्षअघि मधुकरले अनलाइन सर्टिफिकेट बुझाएका हुन्, स्नातकको । आफू शक्तिशाली, अर्थात् सैनिक सचिवालयमा भएको बेला सबै रेकर्ड मिलाउने ठाउँमा रहनुको फाइदा उठाए । अचम्मको कुरा के छ भने, अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाको जस्तै यिनको पनि जन्ममिति भदौ २४ गते नै छ । अर्थात्, भदौ २५ लाग्यो भने घर जानुपर्ने, भदौ २४ कै लागि समयले साथ दियो भने प्रधानसेनापति सर्लक्कै हुन पाइने । पछि खरिपाटीबाट स्नातकको सर्टिफिकेट बुझाएका हुन् ।

अहिले उनी एक नम्बरमा सहायक रथी भए भने सात वर्षपछि प्रधानसेनापतिहुनबाट यिनलाई कसैले रोक्न सक्दैन । उमेर र सैनिक नियमावली दुबैका कारण उनी पक्कापक्की चिफ बन्नेछन् । जबकि यस्ता अनलाइन सर्टिफिकेट देखाएर नयनराज दाहाल, सञ्जयसिंह भण्डारीहरुले नेशनल डिफेन्स कलेज (एनडिसी) कोर्ष गरे पनि उपरथीबाटै घर जानुपरेको भर्खरै हो । अहिले पूर्वअञ्चलाधीश नवराज गुरुङका छोरा दिपेन्द्रलाई पनि सर्टिफिकेट काण्ड लाग्दै छ । छत्रमानको पालामा सुरेन्द्र सिजापतिलाई बेलायतमा तालिम गर्दागर्दै फिर्ता बोलाइएको थियो । शैलेन्द्रसमशेर थापाले पनि भर्खरै जन्ममिति सच्याएबापत राजीनामा दिन बाध्य भएका हुन् । के सैनिक सचिवालयमा बस्नु भनेको कीर्ते गर्ने छूट पाउनु हो ? के सधैं तिनकै रजगज चल्नुपर्ने हो ?

अब प्रसंग आउँछ, यामबहादुर अधिकारीको । १४ सय माओवादी लडाकुसँगै उनी नेपाली सेनामा भित्रिएका हुन् । गत सोमबार पाँच जनालाई सहायक रथी बनाउँदा आफू नपरेपछि यिनले दुखाएको चित्तको बयान गरिसाध्ये छैन । यिनैको कारणले एक हप्तासम्म पाँच जनाको बढुवा पनि रोकियो । उनको गुनासोपछि विशेष पद सिर्जना गरेर सहायक रथी बनाई घर पठाउने हो कि भन्ने चर्चा छ । किनभने, मधुकरभन्दा उनी सिनियर हुन् । हो, उनले स्टाफ कलेज र गुल्म तथा गणमा काम गर्ने मौका पाएनन् । तर, लडाइँको राम्रो ज्ञान भने छ । बुरुण्डी, दक्षिण अफ्रिका, रुवाण्डामा समायोजनबाट आएकालाई उपरथीसम्म दिएर राख्ने चलन छ । नगरकोटमा हुनुपर्ने हायर कमाण्ड तालिम अहिले २५ जनाका लागि नारायणहिटीस्थित उपत्यका पृतनामा गराइँदैछ । पोहोर उनलाई हायर कमाण्डमा त पठाइयो, तर चिटिङ गरेर पर्यवेक्षकको रुपमा मात्र ।

पर्यवेक्षकमात्रै भएको हुनाले सैनिक नियमअनुसार मिलेन भनेर अत्तो थाप्ने काम अहिले भएको छ । विशेष पद सिर्जना नगरी सहायक रथी बन्न सकिन्न । तर विशेष निर्णय गरी अरुसरह राखियो भने उनी पनि चिफ हुनसक्छन् । उमेरले पनि साथ दिन्छ । प्रश्न उठेको छ, दरबार ढालेर ल्याएको गणतन्त्रमा राजतन्त्र जोगाउन दिलोज्यानले लाग्ने कनिष्टलाई उकाल्दै प्रधानसेनापति बनाउने ? अनि तिनैलाई हराएर व्यवस्था परिवर्तन गर्ने गरिबको सन्तानलाई चाहिँ पर्यवेक्षकको प्रमाणपत्र भिराएर एक/दुई महिनामै घर पठाउने ? विचारको आमनेसामने युद्ध जोसँग लडियो, उसैको मातहत ७ वर्षसम्म उकुशमुकुशपूर्वक ब्यारेकको जिन्दगी बिताएर पर्याप्त मानसिक यातना भोगिसकेका अधिकारीलाई रुवाउँदै घर पठाउँदा के साँच्चै प्रचण्ड कमरेडलाई दुःख लाग्ला ? या यो लठिभद्र देखेर खुशी मनाउने पालो विप्लवको मात्रै हो ?

भनिन्छ, ०४६ सालसम्म सेना सलामी, गुलामी र मलामीमा सिमित थियो ।  जनआस्था (janaaasthanews.com.np) को समाचार विश्लेषण अनुसार, अहिले त्योभन्दा निकै माथि उक्सिसक्यो । सेनापति पूर्णचन्द्र थापाको हातमा छ, अबको प्रधानसेनापति कसलाई बनाउने । र, सँगै प्रधानमन्त्री केपी ओलीसामु पनि लोकमानको लिगेसीलाई निरन्तरता दिने कि समृद्ध नेपाल, सुखी नेपालीको नारालाई यथार्थमा परिणत गर्ने चुनौती आइसकेको छ ।

 

सरल पत्रिका