रोल्पाका गाउँ गाउँमा विद्युत् विस्तार हुँदै

Advertise with us

रोल्पा, बैशाख २५ । रोल्पाका ग्रामीण तहमा केन्द्रीय प्रसारण लाइनको विस्तार तीव्र पारिएको छ । यसअघि प्यूठानको झिमरुक जलविद्युत् आयाेजनाबाट उत्पादित बिजुली जिल्लाका पूर्वी केही भागमा मात्र पुगेको थियो । स्थानीय तहले विद्युत् विस्तारका लागि बजेट छुट्याएपछि अहिले जिल्लाभर नै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भइरहेको छ ।

Buddha International Hospital

Advertise with us

विद्युतीकरणपछि गाउँ उज्यालो मात्र भएका छैनन्, साना तथा घरेलु उद्योगसमेत खुल्न थालेका छन् । स्थानीय तहको चुनावअघि विद्युत् अभाव रहेको जिल्लाको त्रिवेणी गाउँपालिकाको केन्द्र नेर्पाबजार आजभोलि झकिझकाउ छ । उज्यालोमा बस्ने वर्षौंदेखिको सपना अहिले पूरा भएको स्थानीय जातिराम घर्तीले बताए । ‘यसअघि सोलारबाट बल्ल बल्ल बत्ती बाल्थ्यौं,’ उनले भने, ‘अहिले ठूलो क्षमताको बिजुली आएपछि विभिन्न घरायसी उपकरणका साथ फर्निचर लगायत साना उद्योग चलाउन सहज भएको छ ।’

त्रिवेणी गाउँपालिकाले गतवर्ष ३ करोड बजेट छुट्याएर त्रिवेणी उज्यालो कार्यक्रम नै सञ्चालन गर्यो । यस वर्ष पनि झन्डै २ करोड विनियोजन गरी सबैै वडामा विद्युत् विस्तार गर्न लागेको हो । तर विद्युतीकरण लागि पोल गाड्ने र तार तान्ने काम भए तापनि ट्रान्समिटरको अभावमा कतिपय ठाउँमा स्थानीयले विद्युत् बाल्न नपाएको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीको भनाइ छ ।