संयुक्त राष्ट्रसंघमा नगरप्रमुख पाण्डेको सम्बोधन


तुलसीपुर, वैशाख २४ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले न्युयोर्कमा जारी दिगो विकासका लागि विश्व वन सम्मेलनलाई सम्वोधन गरेका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा १ सय ९२ भन्दा वढि देशको सहभागिता रहेको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै पाण्डे त्यहाँ पुगेका हुन् ।

Buddha International Hospital
Advertise with us

सभालाई सम्वोधन गर्दै उनले वनजंगलले जलवायु परिवर्तनलाई न्युनीकरण गर्नका लागि अहम् भुमिका खेलेको कुरामा जोड दिएका थिए । नेपालको सामुदायिक वनको चर्चा गर्दै पाण्डेले खाना,काठ, विभिन्न वस्तुका साथै सेवाका लागि सामुदायिक वनको व्यवस्थापन हुनुपर्ने उल्लेख गरेका थिए । नेपालको वन संरक्षण गर्नमा सामुदायिक र निजी वनको भुमिका अहम् भएको पनि उनले उल्लेख गरेका थिए ।

नेपालमा सामुदायिक र पारिवारीक निजी वनले उचित व्यवस्थापन गरेर वनबाट धन आर्जनमा उल्लेख्य भुमिका वहन गरेको उनको कथन थियो । सीमान्तकृत र आर्थिक रुपमा विपन्न जनताका लागि हरित रोजगार सृजना गर्न सके वनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाई थियो ।

स्थानीय सरकारले जिविकोपार्जनका लागि वन व्यवस्थापनका साथै हरित रोजगार सृजनाका महत्वपूर्ण भुमिका वहन गर्न सक्ने कुरा समेत उनले वताएको प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् ।