तलब नपाएपछि कर्मचारी आन्दोलित

दाङ , २३ वैशाख|  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नेपाल सरकारका ७७ जना कर्मचारीले सात महिनादेखि तलब पाउन सकेका छैनन् । लामो समयदेखि तलब नपाएपछि कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीहरुले प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै बैशाख २५ देखि तलब भुक्तानीबिना काम गर्न नसक्ने जानकारी गराएका छन् ।

Buddha International Hospital

Advertise with us

नेपाल सरकार तर्फका ५३ स्थायी र २४ करार कर्मचारी प्रतिष्ठानमा कार्यरत छन् । गत असोज १२ मा साविक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएपछि स्वास्थ्य मन्त्रालयले अर्को व्यवस्था नभएसम्म प्रतिष्ठानमा नै काम गर्न निर्देशन दिएपछि उनीहरु नियमित काममा छन् ।

प्रतिष्ठानले तलव खुवाउन चासो नदिएका कारण खर्चविहिन भएको कर्मचारीहरुको गुनासो छ । अघिल्लो वर्षको भत्ताबापत कोष तथा लेखा नियन्त्रण कार्यालयमा ७९ लाख २२ हजार ९ सय १२ रुपैयाँ आए पनि प्रतिष्ठानले वितरण नगरेको उनीहरुले बताएका छन् ।

कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयमा पनि ध्यानाकर्षणपत्र बोधार्थ पठाएका छन् ।