दाङमा अझै उस्तै ट्राफिक समस्या

Advertise with us


रीता लामा
घोराही, २२ वैशाख । सवारी दुर्घटना न्यूनिकरणको उद्देश्यका साथ गत वैशाख १४ गते देखि ठाउँको ठाउँ सुधार अभियान नाम दिएर ट्राफिक सप्ताह कार्यक्रम सुरु भयो । प्रदेश नम्वर ५का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के .सी.ले निकै तामझामका साथ ट्राफिक सप्ताहको सुभारम्भ गरे । प्रदेशका सबै जिल्लामा एकै साथ सुरु भएको ट्राफिक सप्ताह दाङमा पनि निकै भव्य तरिकाले गरियो ।

Advertise with us


विहिवार मात्रै ट्राफिक सप्ताहको तुलसीपुरमा समापन गरियो । साता भरी नै ‘ठाउँको ठाउँ सुधार’ तथा ‘सडक सभ्यता अभिबृद्धी’ कार्यक्रम अन्र्तगत जेब्रा क्रसबाट बाटो काट्ने, सडक पेटीको प्रयोग गर्ने तरिका, हेलमेटको तुन्ना बाध्ने, ट्राफिक ईसाराको पालना गर्ने तरिका सिकाउने काम गरियो ।

Buddha International Hospital


विद्यार्थी, शिक्षक, यातायात व्यवसायी, स्थानिय, क्लब लगायतका संघ संस्था एवम सरोकारवाला सबैलाई कार्यक्रममा सहभागी बनाइयो । संयोग नै मान्नु पर्छ जुन दिन देखि ट्राफिक सप्ताह सुरु भयो । सोही दिन देखि अन्तिमसम्म जिल्लामा दुर्घटना हुने क्रम भने रोकिएन । प्रत्येक दिन जसो दुर्घटना भैरहे । यता ट्राफिकले सचेतनाको कार्यक्रम गर्ने उता जिल्लाका ठाउँ ठाउँमा दुर्घटना हुने क्रम भने उस्तै थियो ।


ट्राफिकले ट्राफिक सुधारको लागि ठाउँ ठाउँमा दुर्घटना न्युनिकरणको लागि छलफल अन्तरक्रिया पनि गरेको थियो । ट्राफिक नियम पालनको लागि पर्चा पम्प्लेट वितरण, सवारी चालकको स्वास्थ्य जाँच, सवारी साधनको मेकानिकल परिक्षण लगायतका काम पनि गरिए । तर त्यसले दुर्घटना रोक्नमा तत्कालको लागि कुनै पनि टेवा पुरयाउन नसकिएको जस्तो देखियो ।

साताव्यापी कार्यक्रममा ट्राफिक सचेतना बढाउने कार्यक्रममा आयोजकको भुमिकामा सहभागि सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर के शितल दुर्घटना घटाउन नसके पनि धेरै जनताहरुमा सचेतना फैलाउन भने भुमिका खेलेको बताउछन् । ‘साता भरीका कार्यक्रममा हामीलाई सवैतिरबाट सकारात्म प्रतिक्रिया आयो ।’ उनले भने ‘कार्यक्रम पछि धेरै जनताहरु सचेत पनि भएका छन् ।’ समग्रमा ट्राफिक चेतना कार्यक्रमले प्रदेश ५का सबै जिल्लामा एक प्रकारको ट्राफिक चेतना विस्तार गरेको उनको अनुभव छ ।

ट्राफिक सप्ताहको समयमा जिल्ला ट्राफिक कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा वितेको ३३ महिनामा जिल्लामा सवारी दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको बताइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार वितेको ३३ महिनामा जिल्लाका विभिन्न स्थानमा भएका साना ठुला दुर्घटनामा परि दुई सय ३३ जनाले ज्यान गुमाएका थिए ।

प्रहरीका अनुसार चालुआर्थिक बर्ष २०७५÷०७६ को चैत्र महिनासम्म जिल्लामा एक सय ४५ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको थियो । त्यस्तै गत आर्थिक बर्ष २०७४÷०७५मा जिल्लामा भएका १ सय ७१ सवारी दुर्घटनामा ७९ जनाको मृत्यु भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७३÷०७४ मा भएका १ सय ४० सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको थियो । वितेको ३३ महिनाको तथ्याङ्क अनुसार जिल्लामा सवारी दुघंटनासँगै मृतक संख्या समेत बढ्दै गएको छ । सवारी दुर्घटनाका दृष्टिले प्रदेशकै उच्च जोखिममा रहेको यी तथ्याङकले प्रस्ट पारेको छ ।


पछिल्लो समय जिल्लामा यातायातको चाँप पनि उस्तै बढेको छ । यातायात व्यवस्था कार्यालय राप्तिका अनुसार दाङमा ४८ हजार दुइ सय ५६ सवारी साधन दर्ता भएका छन । जसमा बस, ट्रक, मिनि बस, मिनि ट्रक २५ सय ५५, जिप, कार, भ्यान १६ सय ५८, मोटर साइकल, स्कुटी ३७ हजार २ सय ३१, टेम्पो ३३ सय, टेक्टर, पावर टेलर ३५ सय १२, ग्रडर, डिजर, क्रेन, रोलर, एक्जाभेटर ९ सय छन ।

जिल्ला प्रहरी कार्यालयमा ट्राफिक प्रहरीको दरवन्दी ३१ जनाको छ । जिल्लामा सवारी साधनको संख्यामा ट्राफिक प्रहरी संख्याले भाग गर्दा प्रति ट्राफिक प्रहरी कर्मचारीले हेर्ने सवारी साधन ९ सय ६७ हुन आउछ । अर्थात प्रतिदिन एउटा ट्राफिक प्रहरीले करिव एक हजार सवारीको जाँच गर्नुपर्ने हुन्छ ।

दाङ जिल्लाको सडकको अवस्थाको कुरा गर्दा पनि जिल्लामा पक्की सडक २१ सय ४कि.मि. छ भने ग्राभेल सडक २ सय ५५ कि.मि र कच्चि सडक २ सय २७ कि.मी दाङमा हालसम्म जम्मा ६ सय ९७ किलोमिटर सडक बनिसकेका छन । जिल्लाको सडकको दुरीलाई ट्राफिक प्रहरीसँख्याले भाग गर्दा प्रति टाफिक प्रहरी १५ कि.मि हेर्नुपर्ने हुन्छ ।

दाङ जिल्लाका अधिकासं स्थान सडक संजालले जोडेको छ । विशेष गरि छिमेकी जिल्लाहरु पहाडी इलाका भएको हुदाँ त्यहाबाट जिल्लामा बसाई सर्नेको संख्या पनि उल्लेखनिय हुदा दाङमा जनधनत्व पनि बढ्दो छ । बिकासको गतिसंगै शहरिकरण हुदै जानु र सवारी चाँप बढ्दै जादा जिल्लाका सडकहरुमा ट्राफिक व्यवस्थापन कार्य चुनौतिपुर्ण बनेका छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदनबहादुर कुवरका अनुसार जिल्लामा सडक संजाल र सवारी चाप धेरै हुदा हुदै पनि ट्राफिक प्रहरीको आवश्यक दरवन्दी नहुदा भने ट्राफिक प्रहरीले भने अनुसारको काम गर्न सकेको छैन । विशेष गरि जनशक्तिको अभाव र सरोकार वाला निकायले असहयोग गर्दा ट्राफिक व्यवस्थापनमा समस्या भएको उनले बताए ।

ट्राफिक व्यवस्थालाई मुख्य सहयोग गर्नुपर्ने सवारी चालकहरुले लापवाही गर्दा समस्या भएको उनको भनाई छ । ‘तिब्र गति सवारी चलाउने, आफ्नो सवारी साधनको अवस्था ठिक नबनाउने, टाफिकको नियमको बारेमा जानकार नभएर पनि सवारी चलाई रहेका छन ।’ उनले भने ‘ओभर टेक, ओभर लोड, मापसे गरेर, अवस्वस्थ हुदाहुदै पनि सवारी चलाउने, जस्ता काम गरिरहेका छन ।’

उनका अनुसार बजारी क्षेत्रमा साँगुरा सडक हुनु, सडक प्रयोगकर्ताहरुले जथाभावी बाटो काट्ने, छाडा चौपाय, बढ्दो सडक अतिक्रमण जस्ता कारणले पनि जिल्लामा सवारी दुर्घटना बढीरहेको छ । त्यसमा पनि बढ्दो सवारी चाँप र अत्यधिक जनसंख्या लगायतका कारणले पनि ट्राफिक समस्या झन चुनौतीपुर्ण बनेको उनले बताए ।

पछिल्लो समय बढ्दो जनसंख्या र सवारी चापले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै ट्राफिक प्रमुख कुवरले यसमा सबैको साथ र सहयोग भए अवश्य पनि ट्राफिक व्यवस्थापन गर्न सकिने बताउछन । ‘सवारी दुर्घटना न्युनिकरणमा ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र सम्भव हुदैन ।’ उनले भने ‘समस्त नागरीक समुदाय, चालक, परीचालक, यात्रु तथा सरोकारवाला निकायहरु सबैले ट्राफिक सचेतनाको कार्यमा लाग्नु पर्दछ ।’

ट्राफिक व्यवस्थापनलाई सबैले आआफ्नो ठाउँबाट सहयोग गरे बर्षेनी हुने सवारी दुर्घटना न्युनिकरण भई बर्षेनी हजारौको संख्यामा मृत्युदर र अपाङ्गता हुने दरमा कमि ल्याउन सकिने उनको बुझाई छ ।