अब्बल सामुदायिक विद्यालयहरु (पद्मोदय, गुरुजजुर, रझेना, बालविकास, आर्दश)


रीता लामा
घोराही, २० वैशाख । नेपाल कम्युनिष्ट पाटीका केन्द्रिय सदस्य जीवन गौतमले गत बर्ष घोराहीको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययरत छोरी अभिरुची गौतमलाई रझेना माध्यामिक विद्यालयमा भर्ना गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएपछि र शिक्षण सिकाईमा सुधार आउन थाले पछि संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको संङ्ख्या बढेको छ । त्यसमध्य गौतम पनि एक हुनुहुन्छ ।

Advertise with us

Buddha International Hospital

अहिले सबै शिक्षक, कर्मचारी र व्यवस्थापन समितीले आफ्नो छोरीछोरीलाई सोही विद्यालयमा भर्ना गरेका छन् । फलत अन्यले पनि संस्थागत विद्यालयबाट छोराछोरी सामुदायिकमा सार्ने लर्को नै सुरु भएको छ । तुलसीपुर उपहानगरपालिकाकी कार्यपालिका सदस्य तिला परियारले तुलसीपुरको एक संस्थागत विद्यालयमा कक्षा ९मा अध्ययनरत छोरीलाई अहिले गुरुजजुर नमुना माध्यामिक विद्यालयमा भर्ना गर्नुभएको छ । गुरुजजुरले संस्थागत भन्दा पनि राम्रो शिक्षण क्रियाकलाप संचालन गरेको थाहाँ पाए पछि उहाँले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा सार्नुभएको हो ।


गुरुजजुरमा मात्रै यस नयाँ शैक्षिक सत्रमा करिव ५ सय विद्यार्थीहरु नीजि विद्यालय छोडेर भर्ना हुन आएका छन् । विद्यालयका प्राचार्य विष्णु आचार्यका अनुसार विद्यार्थी र अभिभावहरुको मन जित्न सके विद्यार्थी आफै विद्यालय खोज्दै आउछन् । अहिले गुरुजजुरमा १८ सय विद्यार्थी अध्ययनरत छन्, अझै विद्यार्थी भर्ना हुने क्रम रोकिएको छैन । पहिले पहिले गरिव, दलितका छोराछोरी पढ्न आउने गुरुजजुरमा अहिले गाडी चढ्नेका छोराछोरी पढ्न आउने गरेको प्राचार्य आचार्यको भनाई छ । ‘अहिले विद्यालयका सबै शिक्षक, शिक्षिका, कर्मचारीहरुका छोराछोरी यही विद्यालयमा भर्ना भएका छन् ।’ उहाँले भन्नुभयो ‘अहिले हामीले सचेत, हुनेखाने, विद्यालयलाई सजिलै सहयोग गर्न तयार अभिभावकका छोराछोरी पाएका छौ ।’

विद्यार्थी र अभिभावकको चाहानालाई मध्यनजर गरेर विद्यालयको व्यवस्थापन र शिक्षण सिकाइलाई लैजान सके विद्यालय त्यसै राम्रो हुने उहाँको अनुभव छ । ‘विद्यार्थी र अभिभावकको मन जित्नु नै ठुलो कुरा हो ।’ उहाँले भन्नुभयो ‘विद्यार्थी भित्राउने मात्र नभई विद्यार्थी टिकाउने अभियानमा हामी छौ ।’


अहिले विद्यालयमा अंग्रेजी माध्यम, अडियो, भिडियो, स्मार्ट वोर्ड र कम्युटरबाट शिक्षण सिकाई गर्न थालेपछि, विद्यार्थीको लागि स्कुल बसको व्यवस्था भए पछि विद्यार्थीको आकर्षण बढेको विद्यालयको भनाई छ ।

अहिले नर्सरी देखि कक्षा १२ कक्षासम्म संचालन छ र नर्सरी देखि ९ कक्षासम्म अँग्रेजी माध्यमबाट पढाई भैरहेको छ । तर विद्यालयको प्रयाप्त आम्दानी नहुदाँ समस्या भएको उहाँको भनाई छ । अझै पनि प्रयाप्त भौतिक संरचना बन्न नसक्दा एउटा कक्षामा ७० देखि ८०जनासम्म विद्यार्थी राख्नुपरेको उहाँले सुनाउनुभयो ।

त्यस्तै विद्यालयमा हुने भनिएको राजनीति र राजनैतिक हस्तक्षेप आफुले हुन नदिएको उहाँको तर्क छ । विद्यालय सुधारको लागि सर्वप्रथम प्रअ, शिक्षक, अभिभावक र सरोकारवालाले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । ‘सवैले यो मेरो विद्यालय हो । विद्यालय सुध्रिय, आफ्नो बच्चा र समाज सुध्रिन्छ भन्ने सोच्नुपर्छ ।’ उहाँले भन्नुभयो ‘विद्यालय सबैको साझा हो । यसलाई कमजोर र फोहोर हुन दिनहुन्न ।’


घोराहीमा रहेको पद्मोदय नमुना उच्च माध्यामिक विद्यालयमा हाल ६ हजार विद्यार्थी अध्ययनरत छन् । गतबर्षसम्म प्रवेश परिक्षा लिएर विद्यार्थी भर्ना गर्दै आएको पद्मोदयले यसबर्ष देखि छानेर पाँच सय विद्यार्थी मात्र भर्ना गरेको छ । भने अरु आउने विद्यार्थीलाई भर्ना नै रोकेको छ । विद्यार्थीको भर्ना दर बढे पछि विद्यालयले थेग्न नसकेको हुदाँ भर्ना रोक्नु परेको प्राचार्य डा.कृष्णराज डिसी बताउनुहुन्छ ।
२०६० सालदेखि अंग्रेजी माध्यमबाट पढाउन शुरु गरेको यस विद्यालयले गुणस्तरीय शिक्षा दिएसँगै अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । वर्षेनी नयाँ भर्ना हुन आउने विद्यार्थीको सख्ंया बढ्दो छ भने निजी विद्यालय छोडेर भर्ना हुन आउने विद्यार्थीको संख्या पनि उस्तै छ ।

‘नयाँ शैक्षिक सत्रदेखि गुणात्मक भन्दा पनि गुणस्तरीयता बढाउनेतर्फ जोड दिएका छौं । तसर्थ प्रवेश परीक्षाबाट पाँच सय भन्दा धेरै विद्यार्थी भर्ना नलिने निर्णय गरेका छौं’– प्राचार्य डा. डिसी भन्नुहुन्छ– ‘विद्यार्थी संख्या बढाउने भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनेतर्फ विद्यायलको योजना छ ।’

विद्यालयमा अतिरिक्त क्रियाकपालदेखि प्रविधि, शैक्षिक गुणस्तर कायम गरेपछि सामुदायिक विद्यालयले अभिभावकको मन जितेको उहाँले बताउनुभयो । विद्यालयको पूर्वाधार विकास, शैक्षिक गुणस्तर र स्कूल बसले पनि विद्यार्थी आकर्षित गरेको प्राचार्य डिसीले बताउनुभयो । त्यस्तै कम्प्यूटर ल्याब, पिउने पानीको व्यवस्था, छात्रामैत्री शौचालय र जिल्लाको अग्रणी विद्यालय भएकाले अभिभावक र विद्यार्थीको रोजाइ बनेको हो ।

नीजि विद्यालयबाट निकालेर घोराहीको बालविकास माध्यामीक विद्यालयमा आफ्नो दुई वटा बच्चा भनाई गर्न आउनुभएकी तुलसा रानाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुन थाले पछि आफुले सामुदायिक विद्यालयमा बच्चाहरुलाई भर्ना गरेको बताउनुभयो । ‘निजी विद्यालय भन्दा शुल्क सस्तो छ । पढाइ पनि उस्तै रहेछ’– अभिभावक रानाले भन्नुभयो– ‘बोर्डिङसरह पढाइ हुने भए पछि दुबै छोरालाई सरकारी स्कूलमा भर्ना गरेकी हुँ ।’ पछिल्ला वर्ष सामुदायिक विद्यालयहरुले पनि शैक्षिक गुणस्तर, नेपाली र अंग्रेजी माध्यममा पठनपाठन, प्रविधिमा आधारित शिक्षा र अतिरिक्त क्रियाकलापहरुमा जोड दिन थालेसँगै निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ ।


घोराही–१४ स्थित बाल विकास माध्यमिक विद्यालयमा वर्षैपिच्छे नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको प्राचार्य राजेन्द्रकुमार श्रेष्ठ बताउनुहुन्छ । प्राचार्य श्रेष्ठका अनुसार नीजि विद्यालय छोडेर भर्ना हुन आउने विद्यार्थीहरुको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । ‘अंग्रेजी र नेपाली माध्यम सञ्चालन र गुणस्तरीय शिक्षामा जोड दिन थालेपछि अभिभावकहरु सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन्’– उहाँले भन्नुभयो– ‘नयाँभर्ना हुन आउने विद्यार्थीको संख्या धेरै भएकाले प्रवेश परीक्षा लिने गरेका छौ ।’ प्रवेश परीक्षा पास भए पछि मात्र भर्ना गरिने उहाँले बताउनुभयो । भर्ना हुन आउने विद्यार्थीहरुको चाँप बढे पनि भौतिक पूर्वाधारको अभावले चालु आवमा करीव नया र पुराना गरी १५ सय जना विद्यार्थी भर्ना लिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको छ ।

अंग्रेजी माध्यम र अतिरिक्त क्रियाकलापले पनि सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको छ । त्यति मात्र नभई विद्यालयको भौतिक पूर्वाधार, वातावरणमैत्री, सिकाइ क्रियाकलाप, विज्ञान, प्रविधि र विद्यालयको व्यवस्थापन राम्रो भएकाले बाल विकास माध्यमिक विद्यालय अभिभावकको रोजाइ बनेको छ । ‘प्रविधिमा आधारित पठनपाठनमा पनि उत्तिकै जोड दिएका छौं’– प्राचार्य श्रेष्ठ भन्नुहुन्छ – ‘यसै वर्षदेखि कक्षा ८, ९ र १० मा स्मार्ट बोर्डबाट अध्यापन शुरु गर्दैछौं । अभिभावको चाहना र समयको आवश्यकतालाई ध्यानमा राखेर प्रविधिमा आधारित शिक्षालाई विशेष जोड दिएका छौं ।’


घोराही उपमहानगर भित्रकै अर्काे सामुदायिक विद्यालय रझेना माविले पनि यस वर्षबाट प्रवेश परीक्षामा पास हुनेलाई मात्र विद्यालयमा भर्ना गरेको छ । विद्यालयको भौतिक पूर्वाधार, सेवासुविधा र शैक्षिक गुणस्तरमा सुधार गरेसँगै वर्षेनी नयाँ भर्ना हुन आउने विद्यायार्थीको संख्या बढ्दै गएको प्रार्चाय उद्धव न्यौपाने बताउनुहुन्छ । नीजि विद्यालयको तुलनामा कम शुल्कमै मन्टेश्वरी देखि नौ कक्षासम्म अंग्रेजी माध्यमबाट सञ्चालन र भौतिक पूर्वाधारमा जोडदिएसँगै अभिभावकहरु आर्कर्षित भएको प्राचार्य न्यौपानेको अनुभव छ ।

अहिले उच्च माध्यामिक विद्यालय रझेना पनि एउटा सफल सामुदायिक विद्यालय हो भन्दा फरक नपर्ला । प्ले गु्रप देखि १२सम्म संचालिन विद्यालयमा करिव १८ सय विद्यार्थी अध्ययनरत छन । यही तथ्याङ्कलाई हेर्दा एउटा कक्षामा कम्तीमा एक सय जना विद्यार्थी छन । अहिले भर्ना पनि चलिरहेको छ ।

विद्यालयका प्राचार्य न्यौपानेले दिएको जानकारी अनुसार रझेनामा पनि अभिभावक र विद्यार्थीको चाहाना अनुरुप अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई संचालन भैरहेको छ । रझेना विद्यार्थीले भरिभराउ मात्र होइन भौतिक पुर्वाधारले पनि सुविधासम्पन्न भएको विद्यालयका प्राचार्य न्यौपानेको दावि छ । ‘हाम्रो विद्यालयमा खानेपानी, छात्राको लागि सुविधासम्पन्न शौचालय, पुस्तकाय र दुई वटा स्कुल बस पनि छ ।’ उहाँले भन्नुभयो ‘प्रत्येक विद्यार्थीको हाजिरी शिक्षक, अभिभावक र विद्यार्थी स्वयमले हेर्न मिल्ने इशिक्षाको व्यवस्था समेत गरेका छौ ।’

विद्यालय सफल हुनुको मुख्य कारण अभिभावकको विश्वास, शिक्षकहरुको मेहेनत र लगनशिलता नै भएको उहाँले बताउनुभयो । तर शिक्षक अभिभावकलाई उत्प्रेणा दिने जिम्मेवारी भने नेतृत्वको हिसावले आफुले नै लिनुपर्ने उहाँको बुझाई छ । अहिले विद्यालयको सम्पुर्ण शक्ति, विद्यालय व्यवस्थापन र प्रसासन क्षेत्र गुणस्तरी शिक्षा दिन र विद्यार्थीको संख्या बढाउनमा केन्द्रित रहेको उहाँ बताउनुहुन्छ ।
यस्तै अर्को नमुना सरकारी विद्यालयका रुपमा लमही नगरपालिकामा रहेको आर्दश माध्यामिक विद्यालय देउपुर पनि हो ।

गत बर्ष २०७४मा विद्यालयको स्तरलाई मापन गर्दै केन्द्रबाटै नमुना विद्यालय घोषित भएको थियो । हाल करिव दुइ हजार विद्यार्थीलाई नियमित अध्ययन गराइरहेको आर्दश माविमा अहिले नर्सरी देखि कक्षा १२ सम्म पढाई भैरहेको छ । नेपाली र अँग्रेजी दुर्वै माध्यमबाट अध्ययन अध्यापन गराइरहेको विद्यालयको भौतिक संरचना पनि पुग्दो छ । प्रत्येक बर्ष लिइने एसइइमा पनि आफुहरुले राम्रो नतिजा ल्याइरहेको विद्यालयका प्राचार्य शशिधर ज्ञवालीले जानकारी गराउनुभयो ।

कुराकानीको क्रममा प्राचार्य ज्ञवालीले सामुदायिक विद्यालयलाई सुधार गर्नको लागि राज्यको प्रष्ट नीतिनियम बन्नु पर्ने सुझाव औल्याउनुभयो । साथै उहाँले राज्यका सरकारी कर्मचारीहरु, नेता, बुद्धिजिविहरुले आफ्नो बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरे मात्रै पनि सामुदायिक विद्यालयको आफै सुधार भएर जाने बताउनुहुन्छ । यस्तै विद्यालयमा गरिने अनावश्यक राजनीतिले पनि विद्यालयको सुधार हुन नसकेको उहाँको भनाई थियो ।

Advertise with us