इन्काउन्टर स्पेशलिस्ट ‘डिएसपी’ कुमोध ढुंगेल निलम्बित

नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेशलिस्ट’ मानिने प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेल निलम्बनमा परेका छन्। हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत डिएसपी ढुंगेललाई निलम्बन गरिएको हो।

Buddha International Hospital

Advertise with us

प्रहरी प्रधान कार्यालयले बिहीबार डिएसपी ढुंगेललाई निलम्बन गरेको पुष्टि गरेको छ। चोरी तथा डकैतीमा संलग्न व्यक्तिहरूसँग नियमित सम्पर्क रहेको भन्दै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्बन गरेको स्रोतले बतायो। स्रोतका अनुसार ढुंगेललाई बिहीबारबाटै निलम्बन गरिएको छ।

लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए। गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो।

डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए।

गत चैत २६ गते काठमाडौं-२९ स्थित रानीबारीमा भएको लुटपाट घटनामा पक्राउ परेका विक्रम श्रेष्ठले घटना गराएकै दिन डिएसपी ढुंगेललाई महाराजगञ्जको भेनस रेस्टुरेन्टमा भेटेको बयान दिएका थिए।

चन्द्रागिरी नगरपालिका-८ का ३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट ढुंगेलले बोक्ने गरेको ९८५११८०००० र ९८०८२३७०८२ बाट सम्पर्क समेत भएको देखिएको महाशाखाले जनाएको थियो।

चैत २७ गते ढुंगेलको एनसेल नम्बरबाट श्रेष्ठले बोक्ने गरेको नम्बर ९८५११५५१८४ बिहान १०:३७ मा र नेपाल टेलिकमको पोस्पेड नम्बरबाट राति ८:२३ मा एक पटक सम्पर्क भएको देखिन्छ। जतिबेला, महाशाखा श्रेष्ठलगायतको लुटपाट टोलीको खोजीमा जुटिसकेको थियो।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनुसार २८ गते पनि दुई पटक टेलिफोन सम्पर्क भएको देखिन्छ। ढुंगेलले एनसेलबाट २८ गते दिउँसो १२ : ४७ र पोस्पेड नम्बरबाट दिउँसो ३:५ मा फोन सम्पर्क भएको देखिन्छ।

त्यसपछि वैशाख २ गते पनि सम्पर्क भएको देखिन्छ। वैशाख २ गते डिएसपी ढुंगेलले श्रेष्ठलाई एनसेल नम्बरबाट दिउँसो 0१: ७ बजे फोन गरेको देखिन्छ।

‘अनुसन्धानमा ढुंगेलले प्रयोग गरिरहेको नम्बर ९८०८२३७०८२ र ९८५११८०००० बाट श्रेष्ठको ९८५११५५१८४ नम्बरमा दिन बिराएर पटक-पटक टेलिफोन संवाद भएको देखिएको छ,’ सिंहले भने।

रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले वैशाख ६ गते पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्य चन्द्रागिरी-८ का ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका-४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन्।

उनीहरूले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको महाशाखाले जनाएको छ। धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर, मुखमा टेप टाँसी उनीहरूको घरबाट धनमाल लुटिएको महाशाखाले जनाएको छ। उनीहरूविरूद्ध संगठित अपराध र ठकैतीमा मुद्दा चलाइएको छ।

डिएसपी ढुंगेल नेपाल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’को रुपमा परिचित छन्। डिएसपी ढुंगेलको नेतृत्वमा निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न मनोज पुन र सोम आलेको गत वर्ष रुपन्देहीमा इन्काउन्टर भएको थियो।

उनी नेपाल प्रहरीमा व्यावसायिक छविका ‘बिरलै’ चिनिने अधिकृत हुन्। उपेन्द्रकान्त अर्याल महानिरीक्षक हुँदा उनी मोरङ प्रहरीमा थिए।

उनी अपराधी पक्राउकै सिलसिलामा घाइते भएका अधिकृत हुन्। दाहिने खुट्टा भाँचिएपछि उनी लामो समय उपचारमा बसे।

उपचारपछि उनको रामेछापमा सरुवा भएको थियो। रामेछापमा बस्दा उनले ‘वाहवाही’ कमाए। रामेछापमै हुँदा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गौचनका हत्यारा खोज्न खटाएको थियो।

गौचन हत्याका अभियुक्त खोज्दै रुपन्देही पुग्दा डिएसपी ढुंगेलको टोली र अपराधीबीच मुठभेड भएको थियो। सो मुठभेडमा मनोज पुन र सोम आलेको इन्काउन्टर भएको थियो।

अपराध अनुसन्धान तथा कारबाहीमा ‘अब्बल’ चिनिने डिएसपी ढुंगेलमाथिको कारबाहीलाई प्रहरी अधिकारीहरुले आश्चर्य मानेका छन्। ‘यस्तो होनहार प्रहरीलाई पुरस्कारको सट्टा कारबाही गर्नु अन्यायपूर्ण कदम हो,’ प्रधान कार्यालयका एक उच्च अधिकारीले भने, ‘यस्तो अधिकृतलाई हतोत्साहित बनाउनु भनेको नेपाल प्रहरीमा व्यावसायिक काम गर्नेहरुमाथि आक्रमण हो।’ सेतोपाटीबाट