मालपोतको समस्या तत्काल समाधान गर्न निर्देशन


तुलसीपुर, १७ वैशाख । तुलसीपुरमा रहेको मालपोत कार्यालयमा तिव्र गतिको इन्टरनेट र थप कम्प्युटर लगायतका उपकरण खरिदका लागि तुलसीपुर उपमहानगरले सहयोग गर्ने भएको छ ।

Buddha International Hospital
Advertise with us

कार्यालयमा ईन्टरनेट राम्रो नभएको र कम्प्युटर लगायतका आवश्यक उपकरणको अभावमा काममा ढिलाई हुने गरेको समाचार प्रकाशन तथा प्रशारण भएपछि कार्यालयको कामलाई थप व्यवस्थीत बनाउन उपमहानगरले चासो देखाएको हो । नगरप्रमुख घनश्याम पाण्डेले कार्यालयमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।

प्रमुख पाण्डेले जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने बताउँदै प्राविधिक समस्या समाधानका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

जनताको सुविधाका लागि उपमहानगरपालिकाले कुपन प्रणाली लागु गर्नका लागि उपकरण सहयोग गर्न तयार रहेको समेत बताउनुभयो । स्मार्ट सिटीमा हरेक कार्यालयमा स्मार्ट टेक्नोलोजी लागु हुनुपर्ने बताउँदै पाण्डेले जनतालाई प्रभावकारी सेवा पु¥याउनका लागि आफु जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले सेवाग्राहीको चाप अनुसार कार्यालयमा जनशक्ति र उपकरण नहुँदा काम गर्न कठिनाइ भएको गुणासो गर्नुभएको छ । उहाले दैनिक १ सय लिखत आउने गरेकोमा बढिमा ३० वटा लिखत मात्रै पास हुने गरेको बताउनुभयो ।

सेवाग्राहीको चाप अनुसारको प्राविधिक व्यवस्थापन नहुँदा धेरै समस्या उत्पन्न भएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । कार्यालयमा अनलाईन सेवा शुरु भएसंगै सेवामा गुणस्तर हुन नसकेको व्यापक जनगुणासो छ ।।

Advertise with us