दाङमा १६९ जनामा सिकलसेल, विरामी समस्यामा


नवीन अभिलाषी
दाङ, वैशाख ११  । दाङका १ सय ६९ जना सिकलसेल एनिमियाका रोगीहरुले खाने औषधीको फेरी अभाव भएको छ । सरकारले देशका १० वटा अस्पताल मार्फत सिकलसेल एनिमिया रोगीहरुको लागि औषधी खुवाउने निर्णय गरेको छ । तर दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सिकलसेल एनिमियाको औषधी छैन ।

Advertise with us

Buddha International Hospital

प्रतिष्ठानले सिकलसेल एनिमियाको रोगलाई प्राथमिकता दिन नसक्दा पटक पटक औषधीको अभाव हुने गरेको छ । एक महिना अगाडी पनि करिव तीन महिनासम्म औषधीको व्यवस्थापन गर्न नसक्दा विरामीहरु समस्यामा परेका थिए । ठुलो कसरत पछि नेपालगंजबाट ल्याएको औषधी एक महिनामै सकिएको छ । तर औषधीको व्यवस्थापन गर्न नसकिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो ।

‘मेहनत गर्दा पनि हामीले सिकलसेल एनिमियाको औषधी पाउन सकेका छैनौँ, बाहिरबाट खरिद गर्न पनि नपाईने रहेछ ।’ रजिष्ट्रार प्याकुरेलले भन्नुभयो, ‘पहिले तीन महिनासम्म पनि अभाव भयो, नेपालगंजबाट ल्याएर एक महिना वितरण ग¥यौँ, अहिले फेरी अभाव देखिएको छ ।’ जिल्लास्तरका अधिकारकर्मी, विरामीहरुको निरन्तर दवाव हुँदा पनि प्रतिष्ठानले सिकलसेल एनिमियाको औषधीलाई निरन्तर व्यवस्थापन हुन नसकेको ग्रामिण महिला उत्थान केन्द्रले बताएको छ । केन्द्रले दाङ जिल्लामा सिकलसेल एनिमियाका विरामीहरुको बारेमा कार्यक्रम गर्दै आएको छ ।

२०७१ साउन २२ गते बसेको मन्त्री परिषदको बैठकले सिकलसेल एनिमियाका विरामीहरुलई एक लाख रुपैँया बराबरको औषधी निशुल्क वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दाङको तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल र हालको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १ सय ६९ जनालाई औषधी खुवाउँदै आएको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा औषधी अभाव हुनु र अहिले प्रतिष्ठानले पटक पटक औषधी अभाव गराउनु प्रतिष्ठानको लापरबाही देखिएको विरामीहरुले आक्रोश ब्यक्त गरेका छन् ।

दाङमा १६९ जनामा सिकलसेल एनिमिया
थारु समुदायमा मात्रै देखिएको सिकलसेल एनिमिया अहिलेसम्म १ सय ६९ जनामा देखा परेको छ । यो संख्या जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत सिफारिस लिएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क औषधी खानेहरुको मात्र हो । १ लाख ६३ हजार १ सय १६ जनसंख्या रहेको थारु समुदायमा कति जनालाई सिकलसेल एनिमिया छ भन्ने बारेमा सहि तथ्यांक छैन ।

दाङमा सम्पर्कमा आएर स्वास्थ्य परिक्षण गरेर औषधी खानेहरु मध्य लमही नगरपालिका क्षेत्र भित्र सबै भन्दा बढि देखिएको छ । लमही नगरपालिकामा ४० जना, घोराही उपमहानगरपालिकामा ३७ जना, राप्ती गाउँपालिकामा ३६ जना, तुलसीपुर उपमहानगरपालिकामा २४ जना, गढवा गाउँपालिकामा १७, दंगीशरण गाउँपालिकामा ८ र शान्तीनगर गाउँपालिकामा ७ जनामा सिकलसेल एनिमिया देखिएको छ ।

सिकलसेल एनिमियाको अवस्था परिक्षणका लागि घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । उपमहानगरपालिकाले यो वर्ष ७ लाख रुपैया छुट्याएको थियो । स्वास्थ्य शाखाका अनुसार सो बजेटबाट स्वास्थ्य शिविर सञ्चालन गरेर सिकलसेल एनिमियाको परिक्षण गर्ने र पीडितहरुलाई सहयोग गर्ने कार्यक्रम छ ।

प्रदेश कार्यक्रम अन्र्तगत पनि बजेट छ । तर के कार्यक्रम गर्ने भन्ने नै निक्र्यौल नभएको पाईएको छ । प्रदेश सरकारले थारु समुदायमा रहेको अनुवांशिक रोग सिकलसेल एनिमिया न्युनिकरण गर्न चेतनामुलक कार्यक्रम गर्नुभएको साथै निदान र निशुल्क उपचारको व्यवस्था मिलाउनका लागि दाङमा १५ लाख रुपैया बजेट छ । साथै अन्य स्थानीय सरकारले समेत यो विषयमा चासो दिएका छन् ।

समस्यामा विरामी
थारु समुदायका विपन्न र गरिव विरामीहरु अहिले समस्यामा परेका छन् । आर्थिक अवस्था कमजोर भएका सिकलसेल एनिमियाका विरामीहरुलाई सरकारले निशुल्क स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था गर्न नसक्दा समस्या भएको घोराही १७ चौघेरा निबासी २५ वर्षीय कमला चौधरीले बताउनुभयो । सिकलसेल एनिमियाका विरामीलाई आजिवन औषधी खानुपर्ने तर सरकारले दिएको एक लाख रुपैयाले पाँच÷सात वर्षभन्दा बढि नपुग्ने विरामी चौधरीले बताउनुभयो ।

ग्रामिण महिला उत्थान केन्द्रले गरेको सर्भे अनुसार कम उमेरका विरामीहरुलाई बढि समस्या रहेको देखिएको छ । यस्तै महिनै पिच्छे रगत जाँच गर्नुपर्ने र थप रगतका लागि अध्यधिक पैसा खर्च हुने गरेको पनि विरामीहरुले गुनासो छ । एक जिल्लाका विरामीहरु अर्को जिल्लाको अस्पतालबाट निशुल्क औषधी पाउने व्यवस्था छैन । अहिले पनि धेरै विरामीहरुले औषधी किनेर खाने गरेको केन्द्रका कार्यक्रम संयोजक रजनी श्रेष्ठले बताउनुभयो ।

साथै सिकलसेल एनिमियाका विरामीहरु सामाजिक रुपमा खुल्न नसकेको पाईएको छ । अशिक्षा, जनचेतनाको कमिका कारण यो रोग प्रति नकारात्मक धारणा र विचार रहेकाले विरामीहरु खुल्न नचाएको बताएका छन् । जसबाट उनीहरु सरकारी सुविधा र उपचारबाट बन्चित हुनुपर्ने र ज्यानै जोखिममा पार्ने गरेको देखिएको छ । अहिले दाङमा सिकलसेल एनिमिया रोग एकिन गर्ने मेसिन औजार तथा रगत परिक्षणको व्यवस्था नहुँदा नेपालगंज र काठमाण्डौ पुग्नु पर्ने बाध्यतामा रहेको कमला चौधरीले बताउनुभयो ।

सरोकारवालालाई ज्ञापनपत्र
थारु समुदायकै समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको बारेमा काम गर्दै आएको ग्रामिण महिला उत्थान केन्द्रले घोराही उपमहानगरपालिकाको मेयर नरुलाल चौधरी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रका कार्यक्रम संयोजक रजनी श्रेष्ठबाट ज्ञापनपत्र बुझ्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सिकलसेलका विरामीहरुको लागि रगत चढाउँदा लाग्ने खर्च व्यवस्थापन गर्ने बताउनुभयो ।

Advertise with us