आज देशभर लोकतन्त्र दिवस मनाइँदै

Advertise with us

काठमाडौं, वैशाख ११ |  जनआन्दोलन सम्पन्न भएको दिन बैसाख ११ गते आज लोकतन्त्र दिवस मनाइँदैछ। १९ दिनसम्म चलेकाे जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ। हाल भने लोकतन्त्र स्थापना भएको दिन बैसाख ११ र गणतन्त्र स्थापना भएको दिन जेठ १५ मा हुँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गर्नुका साथै औपचारिक कार्यक्रम पनि आयोजना गरेको छैन।

Buddha International Hospital

Advertise with us

यसको सट्टा सरकारले संविधान जारी भएको दिन २०७२ साल असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र सो दिन सार्वजनिक बिदा दिने गरेको छ। नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण मार्गमा ल्याउने तथा राजतन्त्र अन्त्य गरी जनतामा केन्द्रित शासनव्यवस्था ल्याउने आधारका रूपमा रहेको उक्त आन्दोलन नेपालको राजनीति यात्रामा महत्वपूर्ण मानिन्छ। तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भई गरिएकाे साे आन्दाेलनकाे जगमै नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा घोषणा गरिएको थियो।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते संसद विघटित गरेर २०६३ बैसाख ११ गते पुनर्स्थापना गरेका थिए। ७ दल र सशस्त्र युद्धरत माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन भएकाे थियाे। आन्दोलनरत दलले तयार पारेकै मस्यौदाका आधारमा राज ज्ञानेन्द्रले ०६३ बैसाख ११ गते राति संसद पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए। २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद बैठकले राजदरवारको अधिकार कटौती गरेकाे थियाे।

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्तावसमेत पारित गरेकाे थियाे। २०६३ मंसिर ११ मा माओवादी हतियार बिसाउँदै शान्तिपूर्ण राजनीतिमा आएकाे हाे। यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २ सय ४० वर्षदेखि रहेको राजसंस्थाको विधिवत अन्त्य गर्दै गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेकाे थियाे। भने २०७२ असाेज ३ मा नेपालकाे संविधान जारी भयाे। यसै दिवसका अवसरमा विभिन्न राजनीतिक दल तथा संघसंस्थाले विविध कार्यक्रम गर्दैछन्।