महरा दम्पतीलाई घर उपहार


नवीन अभिलाषी
दाङ, वैशाख १०। आधा शताब्दी भन्दा लामो उमेर बाँचिसकेका महराको बुढ्यौली दम्पती खुशी छ । निःसन्तान दम्पती वर्षौदेखि जिर्ण र जोखिमपुर्ण घरमा बाँच्दै आएको थियो । मनकारीहरुको सहयोगले बनेको सानो घरमा सोमबार तिर्थराम महरा र उहाँको श्रीमती रमा महराले खुशी मनाए ।

Advertise with us

Buddha International Hospital

घोराही उपमहानगरपालिका वडा नं. १२ मा रहेको सिस्नेरीमा लामो समय देखि बस्दै आएका महरा दम्पतीलाई एउटा शौचालय सहित दुई कोठाको सानो भवन निर्माण गरेर हस्तान्तरण गरिएको छ । आवास निर्माणका लागि ए–वान टेलिभिजनले पहल गरेको थियो । टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वली, सञ्चारकर्मी तथा गीतकार लोकराज अधिकारीको समन्वयमा घर निर्माण गरिएको थियो ।

ए–वान टेलिभिजनले वृद्ध दम्पती र उहाँको घरको अबस्था बारे रिपोर्ट प्रशारण गरेपछि विभिन्न स्थानबाट सहयोग संकलन भएको छ । देशविदेशबाट प्राप्त भएको करिव साडे तीन लाख रुपैयाबाट घर निर्माण गरिएको लोकराज अधिकारीले बताउनुभयो । घर निर्माणका लागि ३ लाख २ हजार १ सय ७ रुपैया नगद संकलन भएको थियो भने दाङ देउखुरी ईट्टा व्यवसायी संघका अध्यक्ष रोम वलीले ३५ सय ईट्टा सहयोग गर्नुभएको थियो । यस्तै सत्यसाई पोल एण्ड पाईप उद्योगका सञ्चालक हेमन्त सागर केसीले १५ बोला सिमेन्ट सहयोग गर्नुभएको थियो । साथै ईश्वर काफ्ले, अम्विका खनाल, मुकेश रिजाल, कल्यानानु, अन्जु विक, सोहन विक र छविलाल मगरले सहयोग भएको थियो ।

निर्माण गरिएको घर सोमबार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतमले सञ्चारकर्मीहरुले कुरा मात्र गर्छन्, काम गर्दैनन् भन्नेहरुलाई चुनौती दिएको धारणा राख्नुभयो । ए–वान टेलिभिजनका प्रबन्ध निर्देशक अमृतमान वलीको अध्यक्षता तथा सांसद कोमल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथी सांसद वलीले जेष्ठनागरिकहरुको सम्मानका लागि सञ्चार क्षेत्रबाट भएको यो कार्य उदाहरणीय रहेको बताउनुभयो । उहाँले सामाजिक कार्य गर्नका लागि पद र ओहोदामा बस्नै पर्छ भन्ने नभएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र बुढाले महरा दम्पतीको संरक्षणका लागि वडा कार्यालयले पनि कार्यक्रम बनाउने बताउनुभयो ।

कार्यक्रममा कलाकार कमल गाउँले लगाएत जिल्लाका पत्रकार र स्थानीयबासीहरुको समेत सहभागीता रहेको थियो । त्यसअबसरमा दम्पतीलाई एक जोडा ओढ्ने विछ्याउने सहितका सामग्रीहरु समेत हस्तान्तरण गरिएको थियो भने, आवास निर्माणका लागि सहयोग गर्ने सबैलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार आरके शितलले गर्नुभएको थियो ।