अंग्रेजी शिक्षण सिकाईमा सुधार ल्याउन शिक्षकलाई तालिम

घोराही, १४ मंसिर | घोराही उपमहानगरले अंग्रेजी शिक्षण सिकाईलाई प्रभाबकारी बनाउन शिक्षकहरुलाई तालिम सञ्चालन गरेको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलुकद महाशाखाले नगरका ३० वटा विद्यालयका अंग्रेजी पढाउने शिक्षकहरुलाई भेला गराई ५ दिने तालिमको आयोजना गरेको हो ।

Buddha International Hospital

Advertise with us

तालिम शुक्रबार देखी घोराहीको शान्तिसुधा बोर्डिङ स्कुलमा सुरुभएको छ । अंग्रेजी माध्यमबाट पढाई सुरु गरेका विद्यालयका ३० जना शिक्षकहरुलाई एकै ठाउँमा राखेर अंग्रेजी विषयलाई प्रभाबकारी ढंगबाट पढाउने योजना अनुसार तालिम सञ्चालन गरेको महाशाखा प्रमुख श्रीप्रसाद भटराईले जानकारी दिनुभएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले शैक्षिक विकास विना अन्य विकास असम्भब हुने बताउनुभयो । गुणस्तरीय शिक्षाले नै दक्ष र क्षमतावान जनशक्ति उत्पादन गर्ने भन्दै मेहनती बनेर सिकाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो । शिक्षक अनुशासित, मेहनती र लगनशिल भए मात्रै विद्यार्थीले सहि शिक्षा पाउने उहाँको भनाई छ ।

अब शिक्षालाई गुणस्तरीय बनाउने र समय अनुकुल अघि बढाउने उपमहानगरको योजना रहेको भन्दै नगर प्रमुख चौधरीले असक्षम शिक्षकहरुले आफै विकल्प खोज्नुपर्ने बताउनुभयो । समय सुहाउदो र गुणस्तरीय शिक्षाले नै देशमा दक्ष एवं सक्षक जनशक्ति उत्पादन गर्ने भन्दै नगर प्रमुख चौधरीले विद्यार्थी फेल भए अब शिक्षक पनि फेल भएको मानिने बताउनुभयो ।

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले विद्यार्थीहरुलाई दवावमा नभई बोध हुने बाताबरणमा पठनपाठनमा ध्यान दिनुपर्ने बताउनुभयो । देश बनाउने आधार शिक्षकको हातमा रहेको भन्दै उहाँले नगरको शिक्षालाई उत्कृष्ठ बनाउन थप जिम्मेवार बन्न आग्रह गर्नुभयो । तालिममा श्रीप्रसाद भटराई, नारायणप्रासद पौडेल, रामहरी रिजाल, दुर्गा पाण्डे र पुष्कर अधिकारी प्रशिक्षक रहनुभएको छ ।

Advertise with us