खेल नहुँदै सुक्न थाल्यो ४० लाखको दुबो

नेपालगन्ज । प्रदेश नम्बर पाँचका विभिन्न स्थानमा अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ । भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि कतिपय खेल भाडाका स्थानमा सञ्चालन गरिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को हतारोमा पौडी पोखरी निर्माण सम्पन्न नभएपछि होटलको पौडीपोखरीमा खेलहरु चलिरहेका छन् । अन्य खेलको अवस्था पनि यस्तै छ ।

Buddha International Hospital

Advertise with us

भव्य उद्घाटन कार्यक्रम सम्पन्न गरेको नेपालगन्ज रंगशालाको अवस्था पनि फरक छैन । उद्घाटनको दिन आकर्षणको केन्द्र बनेको भिआइपी प्यारापिट अधुरो नै छ । उद्घाटन स्थलको अर्काे मुख्य आकर्षण हरियाली रंगशाला हो, जो अहिले पानी नपाएर सुक्न थालेको छ ।

मैदानमा लगाएको दुबो उद्घाटनको तीन दिन अघिदेखि पानी नहालेर राखिएको थियो । जसका कारण प्रतियोगिता हुन नपाउँदै दुबो सुक्दै गइहरहेको छ । उद्घाटनका दिनसम्म पूर्ण रुपमा तयार भइनसकेको मैदानमा हजारौं खेलाडी तथा अफिसियलहरुको रौनक मज्जाले देखिएको थियो ।

“रंगशाला पूर्ण रुपमा सम्पन्न भएको थिएन । हामीलाई प्रतियोगिताको उद्घाटन रंगशालामा नै गर्नुपर्ने थियो । त्यसैले रंगशाला नै ह्यान्डओभर नगरी प्रतियोगिताको उद्घाटन सम्पन्न गरियो,” राखेपका इन्जिनियर विश्वमित्र सञ्ज्यालले बताए । सम्झौताअनुसार ठेकेदार कम्पनी ‘सुनकोसी कन्स्ट्रक्सन’ले रंगशालामा दुबो राख्नको लागिमात्र ४० लाख रुपैयाँको ठेक्का लिएको थियो । उनले मैदान समथल नभएकाले पुनः रोलर चलाउनुपर्ने अवस्था रहेको बताए ।

यदि मैदानमा पुनः रोलरको प्रयोग गर्ने अवस्था आएमा मैदानमा खर्च गरिएको ४० लाख बराबरको दुबोको अर्थ रहँदैन । इन्जिनियर विश्वमित्रले पूरै मैदान हरियााली नबनाएसम्म हस्तान्तरण नहुने बताएका छन् ।

यता ठेकेदार कम्पनी ‘सुनकोसी कन्स्ट्रक्सन’का मालिक नारायण भट्टराईले भने आफूहरुले गर्ने काम सकिएको बताए । समयमै मलजल नपुगेर सुकेको हुन सक्ने उनको भनाइ छ । ठेकेदार कम्पनीसँग अझै तीन महिनासम्म मैदानको जिम्मा छ ।

चैत मसान्तसम्म पूर्ण रुपमा सम्पन्न हुने भनिएको मैदानमा राखिएको दुबो सुक्न थालिसकेको छ । ठेकेदार कम्पनीले वरुणा जातको दुबो भारतबाट मगाएको थियो । कम्पनीले पहिले नेपालमा उमार्ने भनिएको प्राकृतिक दुबो उमार्न नसक्दा भारतबाट मगाएको थियो ।

समथल नभएको मैदान हाल खेलाडीहरुलाई खेल्न योग्य छैन । तर भोलिबाट मैदानमा सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । पूर्ण रुपमा सम्पन्न नभएको मैदानमा खेलाडीहरुले खेल खेलेमा जोखिम हुने खेल विज्ञहरु बताउँछन् ।

राखेप प्रदेश पाँचका अध्यक्ष भीम ओलीले भने मंगलबारदेखि सेमिफाइनल समीकरणका खेलहरु हुने पक्का भएको बताए । सेमिफाइनल खेल अन्तर्गत पहिलो खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।