गुन्डा नाइके समीरमानका सहयोगी विक्रम श्रेष्ठ पक्राउ

काठमाडौं : निर्माण व्यवसायी शरद गौचन हत्या प्रकरणमा जेल रहेका गुन्डा नाइके समीरमानसिंह बस्न्यातका सहयोगी विक्रम श्रेष्ठ डकैतीमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। गत चैत २६ गते रानीबारीमा भएको डकैतीको अनुसन्धानका क्रममा  संलग्नता देखिएपछि उनी पक्राउ परेका हुन् ।

Buddha International Hospital

Advertise with us

रानीबारीस्थित लालेन्द्र शेरचन्दको घरमा विक्रमसहित ६ जनाको समूह प्रवेश गरेर परिवारका सदस्यलाई नियन्त्रणमा लिएर दराज फोडी १० तोला सुन लुटेर भागेका थिए ।

विक्रमको समूहले लालेन्द्र, उनकी पत्नी भानुदेवी र घरमा रेखदेख गर्ने मिठु थकालीको खुकुरी देखाएर मुखमा टेप राखेर  पलङमा डोरीले बाँधेर डाँका गरेका थिए।

महानगरीय प्रहरी अपराध महाशाखाले विक्रमसँगै चन्द्रगिरी नगरपालिका मातातीर्थ बस्ने नवराज तामाङ र नुवाकोट कुथुरानीका दिपेश भन्ने सन्तबहादुर तामाङलाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट सुनको तिलहरी र डकैती घटनामा प्रयोग गर्ने बा २ ज ३०६१ नम्बरको ट्याक्सी र बा ३ च ७१६४ नम्बरको जीप बरामद गरेको छ।

महाशाखाका अनुसार समीरमानसिंह काठमाडौंमा गुन्डागर्दीमा सक्रिय रहेका बेला विक्रम उनका सहयोगी थिए। विक्रम गिट्टीबालुवाको समेत काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अर्का आरोपित सन्तबहादुर ट्याक्सी चालक हुन्। उनकै एक आफन्तमार्फत् शेरचन्दको घरमा साढे दुई करोडको सम्पत्ति रहेको सूचना पाएपछि डाँका गर्ने योजना बनेको थियो।

सन्तबहादुर अपहरण घटनामासमेत मुछिएको आरोपमा महाशाखाले अनुसन्धान थालेको छ। अर्का आरोपी नवराज यसअघि काठचोरीमा संलग्न रहेको महाशाखाले जनाएको छ।

महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार ठूलै रकम हातपर्ने योजनासहित विक्रमको टोली शेरचन्दको घरमा डाँका गर्न पुगेका थिए। फरार तीन जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Advertise with us