बत्तिमुनिको बालमन्दीर प्रावि , धेरैको लागि बोझ बनेको विद्यालय

Advertise with us

दाङ, ८ बैशाख | दाङको प्रमुख बजार घोराहीको विचमा पर्ने बालमन्दीर प्रावि बत्तिमुनिको अध्यारो जस्तो छ । २०३२ सालमा स्थापना गरेको विद्यालय ४३ वर्षपछि पनि अनुहार फेर्न सकेन ।

Buddha International Hospital

Advertise with us

तत्कालिन समयमा ३ देखि ५ वर्ष उमेर समुहका बालबालिकाको अध्ययनका लागि स्थापना भएको बालमन्दीर त्यसको १० वर्षपछि औपचारिक रुपमा स्वीकृत प्राप्त गरी सञ्चालन भएको थियो । बजारका सडक कालोपत्रे भए, अत्याधुनिक महलहरु खडा भए, गाडीमोटरको चाँप र जनसंख्या समेत बढेर कहाँ देखि कहाँ पुग्यो तर विद्यालय भने झन झन खस्किँदै गयो ।

२ सय ४ जना विद्यार्थीहरु छन् । तर यो विद्यालय धेरैको लागि बोझ बनेको छ । छेउका निजी विद्यालयहरुले रातारात प्रगती गर्दा सामुदायिक विद्यालयको रुपमा स्थापित यो विद्यालयको विकासका लागि नेतृत्वको अभाव खड्किएको प्रधानाध्यापक विष्णु भण्डारीले बताउनुभयो ।

विद्यालयका ४ वटा भवन छन् । २०३२ सालमा निर्माण भएको एउटा पुरानो भवन छ भने बाँकी तीन वटा भवनहरु विभिन्न निकायहरुको सहयोगमा निर्माण भएका हुन । त्यसबाहेक ४२ वर्षसम्म विद्यालयको भौतिक विकासका लागि कुनै प्रयास भएका छैनन् । ‘बजारको विचमा विद्यालय भएर के गर्नु ? बजारका विद्यार्थीहरु यो विद्यालयमा पढ्न आउँदैनन् ।’ प्रधानाध्यापक भण्डारीले भन्नुभयो, ‘बजारका सबै बालबालिकाहरु निजी विद्यालयमा जान्छन् । यो विद्यालयमा टाढाबाट आउछन्, जति आउछन्, सबै गरिव तथा विपन्न वर्गका बालबालिका छन् ।’

सक्नेले गुणस्तरिय शिक्षाको नाममा आफ्ना बालबालिकालाई चर्कै शुल्क तिरेर निजी विद्यालयमा भर्ना गर्छन् । घर आँगनकै विद्यालय भएरपनि बालमन्दीर छेउका कुनै पनि बालबालिकाहरुले त्यहाँ पढ्दैनन् । जो निजी विद्यालयमा भर्ना हुन सक्दैनन् ति गरिवहरुको विद्यालय हो बालमन्दीर प्रावि । शहरका बालबालिकाहरुले विहान बेलुका क्रिकेट खेल्ने ठाउँको रुपमा मात्रै बालमन्दीरको प्राङगण प्रयोग गर्छन् ।

जग्गाको विवाद

विद्यालयले चर्चिदै आएको १६ कठ्ठा जग्गा आफ्नो हैन । विद्यालयको भौतिक विकास हुन नसक्नुको प्रमुख कारण जग्गा आफ्नो नहुनु हो भन्नु हुन्छ प्रधानाध्यापक भण्डारी । विद्यालय रहेको जग्गाको स्वामित्व चिराचिरा परेको छ ।

उत्तर तर्फको जग्गा घोराही नगरपालिका समितिको हो भने पुर्वपश्चिम फैलिएको जग्गामा व्रिजलाल चौधरीले दावि गर्दै आउनु भएको छ । विचभागको जग्गा नगर विकास समिति र घोराही उपमहानगरपालिकाको नाममा रहेको छ । साथै दक्षिण तर्फको पुर्वपश्चिम फैलिएको जग्गा मुरारीप्रसाद बानियाको रहेको विद्यालयले जनाउँछ । विद्यालयको नाममा जग्गा नहुँदा भौतिक विकासका लागि कुनै निकायबाट सहयोग प्राप्त हुने बाटो बन्द भएको प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

विद्यालय र व्रिजलाल चौधरी विच जग्गाको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । विद्यालयले प्रयोग गर्दै आएको जग्गा चौधरीले आफ्नो दावि गरेपछि जिल्ला अदालत हुँदै मुद्धा सर्वोच्चमा पुगेर विचाराधिन अबस्थामा छ । यस अगाडी जिल्ला अदालतले चौधरीको पक्षमा र पुनराबेदन अदालतले विद्यालयको पक्षमा फैसला गरेको थियो ।

‘विद्यालयसँग आफ्नै नाममा जग्गा छैन, जग्गा नहुँदा भौतिक विकास नभएको भन्ने मैले बुझेँ ।’ गतअसार देखि प्रधानाध्यापकको भुमिकामा रहनु भएका भण्डारीले भन्नुभयो, ‘भौतिक पुर्वाधार नै नभएपछि कस्ले कसरी विद्यालयको विकास हुन्छ ?’

अफ्ठेरोमा बौद्धिक अपांग

बालमन्दीर प्राविमा अहिले २४ जना बौद्धिक अपांगता भएका बालबालिकाहरु अध्ययन गर्छन् । १२ जना छात्रा र १२ जना छात्र गरेर २४ जना बौद्धिक अपांगता भएका बालबालिका मध्य १५ जना विद्यालयमा आवासिय रुपमा अध्ययन गर्ने गरेको प्रधानाध्यापक भण्डारीले बताउनुभयो । जसमध्य ९ छात्रा र ६ छात्र छन् ।

बौद्धिक अपांगता भएका बालबालिकाहरुलाई अध्ययन गराउने विधि भने सामान्य छ । उनीहरुलाई अध्ययन गराउन विशिष्ठ शैली र तालिम प्राप्त शिक्षक हुनुपर्ने भएपनि सामान्य रुपमा अध्यापन गराउँदै आएको विद्यालयले बताउछ । उनीहरुको बुझाइको स्तर अनुसार उपयुक्त कक्षा र तालिम प्राप्त शिक्षकको व्यवस्था गर्न विद्यालयले सकेको छैन । विद्यालयमा ७ वर्षदेखि पढ्दै आएका बालबालिकाहरु पनि छन् भने केहि महिनादेखि पढ्दै आएका बालबालिकाहरु पनि त्यहि कक्षामा छन् ।

त्यस्ता बालबालिकाहरुका लागि होस्टेल पनि उपयुक्त छैन । अपांगमैत्री भवन नहुँदा उनिहरु सधै जोखिम मोलेर हिड्ने गर्छन् । पुरानो भवनको माथिल्लो तलामा होस्टेलको व्यवस्था हँुदा उनीहरुलाई उक्लिन र झर्न समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक भण्डारीले बताउनुभयो ।

अहिले सम्बन्धित निकायहरुबाट उनीहरुका लागि सहज शिक्षा प्राप्त गर्ने वातावरण नबनाइदा असामान्य अवस्थामा रहेका उनीहरुले सामान्य विद्यार्थीहरुले जस्तै पढ्न बाध्य भएका हुन । उनीहरुको अध्ययनका लागि छुट्टै शिक्षण सिकाई प्रक्रिया लागु गर्न सकिएको छैन ।