डिप बोरिङ हेरेर पानीको प्यास मेटाउन बाध्य टिक्रा लहलौराबासी

तुलसीपुर, ७ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को टिक्रा लहलौरामा करिब एक वर्षअघि खानेपानीको समस्या समाधानका लागि संसद विकास कोषबाट आएको १६ लाखको लागतमा डिप बोरिङ सञ्चालनमा आयो तर बजेट अभावमा डिप बोरिङबाट आएको पानी संकलन गर्ने ट्याङ्की भएन् भने डिप बोरिङ चलाउन विद्युत पनि भएन् ।

Buddha International Hospital

Advertise with us

डिप बोरिङ स्थापना गर्दा खानेपानीको समस्या समाधान हुन्छ भन्ने आशामा बसेका स्थानीय डिप बोरिङ हेरेर खानेपानीको प्यास मेटाउन बाध्य छन् । स्थानीय फागुनदेखि वर्षायाम शुरु नहुँदासम्म वषेनी पानीको अभाव झैल्दै आएका छन् । ‘हिउँद र वर्षामा त खासै समस्या हुँदैन तर फागुनदेखि असारसम्म त पानीको निकै हाहाकार हुने गरेको छ’ स्थानीय माया देवकोटाले बताइन् । ‘नुहाउने, गाईवस्तुुलाई खुवाउन पनि निकै समस्या छ, हामीले पनि निकै खोलाको त्यो पनि धमिलो पानी पिउन बाध्य छौँ ।

गाउँमा २ सय १८ घरधुरी खानेपानीको समस्या वर्षौदेखि समस्या झेल्दै आएका छन् । एक वर्ष डिप बोरिङ सञ्चालनमा आएपनि ८० घरमा पानीको पाइप त पुगेको तर दैनिक एकघण्टा मात्र पाउँदै आएका छन्  ।

डिप बोरिङमा सोलार सिस्टम भएपनि सोलारका ब्याट्री नहुँदा दिउँसोको समयमा मात्र त्यो पनि एक घण्टा पानी आउने गरेको स्थानीय कविता केसीले प्रदेश टुडेलाई बताईन् ।

‘तपाईहरु जस्तै पाहुनालाई पनि पानी दिन नसकिने अवस्था छ, घर–घरमा पाइप पु¥याउने भनेर स्थानीय सरकारले बजेट विनियोजन पनि गरेको छ तर अहिलेसम्म बजेट कार्यान्वयन गर्ने कुनै स्थिति देखिएको छैन’ उनले भनिन् ‘स्थानीय सरकारबाट बजेट त आयो तर पानी आएन ।’

गत वर्षदेखि सञ्चालनमा आएको डिप बोरिङको पानी विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले ११ लाख बजेट विनियोजन गरेको छ । चालु वर्षमा विनियोजन गरिएको बजेट यो आर्थिक वर्ष सकिन लाग्दा योजना कार्यान्वयन हुने नदेखेपछि स्थानीयले बजेट कार्यान्वयनमा ध्यान दिन स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

डिप बोरिङ स्थापना गर्दा खानेपानीको समस्या समाधान हुन्छ भन्ने आशामा बसेका स्थानीय डिप बोरिङ हेरेर खानेपानीको प्यास मेटाउन बाध्य छन् ।

बैशाखमा सम्पन्न गर्नुपर्ने योजना शुरु पनि हुन सकेको छैन् अर्का स्थानीय कलाधर आचार्यले बताए । ‘खानेपानीको समस्या वर्षौदेखि भोग्दै आएका छौँ तर पछिल्लो समय डिप बोरिङ सञ्चालन भएपछि अब त खानेपानीको समस्या हुँदैन भन्नेमा हामी थियौँ, तर बजेट अभावमा हाम्रा समस्या समाधान हुन सकेनन्,

फेरी स्थानीय सरकारलाई आग्रह गरिसकेपछि केही बजेट आयो तर कार्यान्वयनमा ढिलासुस्ती हुँदा हामीले यो समस्या भोग्न बाध्य छौँ’ उनले भने

‘स्थानीय सरकार आएपछि धेरै ठूलो अपेक्षा पनि थिएन् खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका समस्या त समाधान होलान् भनेका थियौँ तर सरकार आएको दुई वर्षसम्म पनि कुनै विकासका गति पाउन सकेनौँ, सरकार गाउँ–गाउँमा आयो तर विकास भने अझै आउन सकेन् झन् वडा अध्यक्ष ज्यू नभएका काम पनि गरिसक्यौँ भनेर मिडियामा बोल्दै हिड्नु भएको रहेछ ।

टिक्रा लहलौरामा डिप बोरिङ सञ्चालनमा छ तर न पर्याप्त पाइप छ, न पानी ट्याङ्की नै स्थापना गर्न सकेका छौँ, टिक्रा लहलौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष गणेशकुमार चौधरीले बताए ।

हामीले सबैका घर–घरमा बजेट अभावमा धारा पु¥याउन पनि सकेका छैनौँ, स्थानीय सरकारले विनियोजन गरेको बजेट पनि खर्च हुन सकेको छैन् उनले भने ।

अध्यक्षको अभिव्यक्तिमा स्थानीयको आपत्ति

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष भूपबहादुर केसीले खानेपानीका योजनाको बारेमा दिएको अभिब्यक्तिमा स्थानीय र खानेपानी उपभोक्ता समितिका पदाधिकारीले आपत्ति जनाएका छन् ।

वडाले खानेपानीका लागि एक रुपैयाँ पनि विनियोजन नगरेर उल्टै मेरो पहलमा योजना सम्पन्न भयो भनि दिइ अभिब्यक्ति दिएको भन्दै जनताको पहल र श्रमदानमा बनेको योजनालाई वडा अध्यक्षले आफ्नो गौरवको योजना भनि अभिब्यक्ति दिनु हाँस्यास्पद भएको आरोप लगाएका छन् ।

यो विषयमा आम सञ्चार माध्यममा दिएका अभिब्यक्ति निराधार भएको भन्दै यो विषयमा छानबीन गरी सत्यतथ्य बाहिर ल्याउनु मागसमेत स्थानीयले उपभोक्ताहरुले गरेका छन् ।