नतीजा प्रकाशन नहुँदा विद्यार्थी अन्योलमा

सल्यान, वैशाख ५  । नयाँ शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना अभियान शुरू भए पनि सल्यानमा भने कक्षा ८ को नतीजा प्रकाशन हुन सकेको छैन । जिल्लामा रहेका २ स्थानीय तहहरूले अझै पनि नतीजा प्रकाशन गर्न नसकेका हुन् ।

Buddha International Hospital

Advertise with us

जिल्लाको दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाले अझै पनि नतीजा प्रकाशन गरेका छैनन् । विद्यालयहरूले विद्यार्थीको प्राप्तांक ढिला गरेर पठाएका कारण नतीजा प्रकाशनमा ढिला भएको स्थानीय तह अन्तर्गत रहेका शिक्षा शाखाहरूको भनाइ छ ।

गत सोमवारदेखि विद्यार्थी अभियान शुरू भएको छ । तर, कक्षा ८ को नतीजा प्रकाशन नहुँदा कक्षा ९ मा भर्ना हुने विद्यार्थीहरूको संख्या शून्य जस्तै छ । नतीजा प्रकाशन चैत महीनाभित्रमा हुनुपर्ने भए पनि शिक्षा शाखाको ढिलासुस्तीले वैशाख ४ गतेसम्म नतीजा प्रकाशन नहुँदा अन्योल बढेको अभिभावकको भनाइ छ । दार्मा गाउँपालिकाअन्तर्गत शिक्षा शाखा प्रमुख जंगबहादुर बुढाले विद्यालयहरूले शिक्षा शाखामा विद्यार्थीको प्राप्तांक ढिला गरेर पठाएका कारण नतीजा प्रकाशनमा ढिला भएको बताए ।

गाउँपालिकाबाट १५ ओटा विद्यालयका ४ सयभन्दा बढी विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । चैत २५ गते नै नतीजा प्रकाशन गर्ने तयारी भए पनि केही विद्यालयले प्राप्तांक समयमा नपठाएको, प्रविधिको समस्या र लेटर ग्रेडिङ प्रणालीमा नतीजा प्रकाशन गर्नुपर्ने भएकाले केही ढिला भएको उनको भनाइ छ । उनले बिहीवारसम्म नतीजा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिए ।

कुमाख गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसीले पनि बिहीवारसम्म नतीजा प्रकाशन गर्ने तयारी रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख बाहिर भएका कारण ढिला भएको बताउँदै उनले बिहीवार नतीजा प्रकाशन हुन सक्ने जानकारी दिए ।