आठौँ राष्ट्रिय खेलकुद चल्दै, खेलाडीलाई होटल अभाव

रीता लामा
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत दाङमा टेवलटेनिस र बास्केटवल संचालन भैरहेको छन भने अन्य पाँच वटा खेलको औपचारिक उद्घाटन हुन बाँकी छ । खेलकुदको लागि देशभरका सात वटै प्रदेशका खेलाडीहरु, खेलसँग सम्बन्धित व्यक्तिहरु र खेलप्रेमीहरु दाङ आएका छन । बुधवार र विहिवार उद्घाटन भएका दुई खेल क्रमश टेवलटेनिस र बास्केटबल दुवै खेल घोराहीमा संचालन भैरहेका छन ।


दुवै खेलमा देशभरबाट करिव दुई हजार देखि २२ सय जति खेलसँग सम्बन्धित व्यक्तिहरु यहाँ आएका छन । जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष कैलाश रोकामगरका अनुसार जिल्लामा आएका सबै प्रदेश र विभागिय समुहका खेलाडीहरुलाई समितीले यहाँका विभिन्न ठुला तथा मध्यम स्तरका होटेलहरुमा खानबस्नको व्यवस्था गरेको छ । तर सबै खेलाडीहरुलाई सुविधा सहितको होटलमा बसाउनको लागि मुस्किल भैरहेको छ ।


‘होटल थोरै भए, पाहुना धेरै भए ।’ कोषाध्यक्ष रोकाले भने ‘पाएक पर्ने ठाउँमा धेरै खेलाडी र खेलसँग सम्बन्धित व्यक्ति अटाउनै सक्ने अवस्था छैन ।’ धन्न थोरै खेल त्यस माथि पनि किस्ताकिस्ता गरेर खेल संचालन गर्नु पर्दा केही सहज भएको उनको भनाई छ । ‘सबै खेल दाङमा एकै पटक गरेको भए त विजोग नै हुने रहेछ ।’ उनले भने । ‘अझ लमही र तुलसीपुरमा हुने खेलमा त्यहाँ प्रयाप्त होटल नहुदाँ घोराही ल्याएर बसाउनुपर्ने बाध्यता छन । खेल खेल्नको लागि भौतिक पुर्वाधार र खेल मैदान तयार पारे पनि बाहिरबाट आउने पाहुनालाई सजिलै, सस्तो दरमा धेरै व्यक्ति राख्न मिल्ने होटल नहुदाँ समस्या भएको उनले बताए ।

खेलकुद विकास समितीको जिम्मेवारीमा खेलाडीहरुलाई होटेल व्यवस्थापनको काम गरिरहनुभएका बंसिङ प्रशिक्षक सुमन घलेका अनुसार अहिले जिल्लामा खेलाडी र खेलसँग सम्बन्धीतहरुलाई मात्र पनि जिल्लामा बस्नको लागि होटेलहरु पुगिरहेका छैनन् । होटल खोज्न, सेवा सुविधा र लागत खर्चको बारेमा कुरा मिलाउनै समस्या भएको छ ।

राष्ट्रिय खेलकुद परिषदले प्रतिखेलाडी खान बस्नका लागि १४ सय रुपैँया दैनिक भत्ता उपलब्ध गराएको छ तर यहाँका केही होटलहरुले सरकारले उपलब्ध गराएको भत्ता भन्दा पनि बढी पैसा मागे पछि समस्या भएको हो । तर अधिंकास होटलहरुले दैनिक साढे ६ सय देखि ९ सयसम्मप्रति दिनको प्याकेजमा अहिले खेलाडीहरुलाई होटेलमा राखेका छन । समितीले खेलाडीलाई दुइचार रुपैया भए पनि गोजी खर्च बचोस् भनेरै होटेलमा मुल्य घटाउन लगाएर बसाएको बुझिएको छ ।

राष्ट्रिय खेलमा जिल्लाका पाहुनाहरुलाई स्वागत सत्कार गर्ने समय भए पनि जिल्लामा ठुलो लगानीमा निर्माण भएको भनिएको होटल माला इन, होटेल डोकोले मुल्य थोरै भएको भन्दै खेलाडी राख्न मानेको छैन । अन्य होटलहरुमा भने २० देखि ६० जनासम्म खेलाडी, प्रशिक्षक, रेफ्रि, निर्णायकहरु बसिरहेका छन ।

जिल्लाको होटेल व्यवस्थापन हेरिरहेका सुमन घलेले प्रत्येक खेलाडीलाई खाटमा सुत्ने व्यवस्था हुनुपर्ने, एउटा कोठामा खाट अनुसारको खेलाडी हुनुपर्ने, कोचाकोच राख्न नपाइने सर्तमा होटेलमा पाहुना राख्ने प्रवन्ध मिलाएको बताए ।

अहिले प्रत्येक खेल समुहलाई यातायातको लागि बसको सुविधा दिइएको छ । एउटा खेल संचालन गर्दा कम्तीमा पनि २० वटा होटेलको आवश्यकता देखिएको तर सोही अनुसार होटेल नभएको जिल्ला खेलकुद विकास समितीको भनाई छ ।

समितीले दिएको तथ्याङ्क अनुसार खेलाडी, प्रशिक्षक, रेफ्रि, निर्णाय लगायत सबै प्राविधिक सहित जिल्लामा संचाललन हुन लागेको एथ्लेटिक्समा ४०५ जना, कराँतेमा ३६३, टेवल टेनिसमा १८४ जना, व्याड्मिन्टनको लागि २१० जनालाई जिल्लाका होटेलहरुमा राख्नुपर्नेछ । त्यस्तै बास्केटमा ३०५ जना, क्रिकेटमा ४०१, फुटवलमा २५० जनालाई होटलमा बसाउनुपर्ने छ । त्यसमा पनि खेलाडीका आफ्न्त, अन्य खेलप्रेमीहरु गरेर तोकिएको भन्दा झण्डै तीन गुणा बढी पाहुना दाङ आएका छन । उनीहरुलाई पनि खान बस्नको लागि होटेल अनिवार्य चाहिएको छ ।

 

होेटेल खालि छनः होटेल व्यवसायी

जिल्ला होटेल व्यवसायी समितीका अध्यक्ष रुद्रबहादुर डागी भने आफुहरुसँग समन्वय नभएको कारण यहाँका धेरै होटेल खाली रहेको बताउछन । उनका अनुसार यहाँका सुविधासम्पन्न होटेलहरुमा पनि आठ सयमा विहानको नास्ता सहित साँझ विहानको खाना र बस्नको व्यवस्था भनिएको थियो । तर केहीले होटेलले घाटा लाग्ने भन्दै खेलाडी राख्न मानेका छैनन । अन्य मध्यम स्तरका धेरै होटेलहरु पनि खालि रहेको उनी बताउछन ।
‘यति ठुलो खेलकुद हुदैछ, खै हामीलाई मान्छेदिएको भनेर साथीहरुले सोधिरहेका छन ।’ उनले भने ‘तर खेलकुद विकास समितीका पदाधिकारीले व्यवसायीसँग समन्वय नगरी आफै होटेल खोज्दै मान्छे राख्दै गरिरहेका छन ।’ उनले व्यवसायीहरुसँग समन्वय नहुदाँ केही समस्या भएको हुन सक्ने बताए । पाहुनाहरुको लागि व्यवसायी स्वयमले स्वागत द्धारा राख्न खोजिरहेको अवस्थामा खेलकुद विकास समितीले चासो नदिए पनि आफुहरुले नराखेको उनले बताए ।
अहिले घोराहीमा मात्रै खान, बस्न सहितको सुविधा भएको ठुला र मध्यम स्तरका ५१ वटा, तुलसीपुरमा एक दर्जन र लमही, बालुवाङमा आधा दर्जन जति होटेल भएको उनले जानकारी दिए ।

दाङमा छुट्टा छुट्टै स्थानमा सात खेल हुदै
जिल्ला खेलकुद विकास समितीले दिएको जानकारी अनुसार गत चैत २७ गते देखि सुरु भएको टेवल टेनिस चैत ३० गतेसम्म संचालन हुने छ । यस्तै बुधवार देखि सुरु भएको बास्केटवल प्रयोगिता बैशाख चार गतेसम्म सचालन हुनेछ । भने बैशाख १ देखि सात गतेसम्म घोराहीमा व्याडमिन्टन खेल संचालन हुने छ भने बैशाख पाँच गते देखि ९ गतेसम्म तुलसीपुरमा एथ्लेटिक्स् खेल संचालन हुनेछ । तुलसीपुर मै ६ गते देखि १०सम्म कराँते र बैशाख चार गते देखि महिला फुटवल घोराहीमा हुनेछ । यस्तै आउदो वैशाख चार गते देखि लमहीमा महिला क्रिकेट संचालन हुनेछ ।