गोठमै पुगेर पशुलाई खोप


तुलसीपुर,चैत २८ | तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ गोलौराका लोकराज डाँगीको फर्ममा १७ वटा गाई र ५ वटा भैसी रहेका छन् । फर्म सञ्चालन गरेर राम्रो आर्थिक उपार्जन गरेका डाँगीलाई लामो समयसम्म पनि खोरेत विरुद्धको खोपको व्यवस्था नभएका कारण गाइवस्तुलाई खोरेत रोग लाग्ने त होइन भन्ने त्रास रहेको थियो ।

Buddha International Hospital
Advertise with us

उपमहानगरपालिकाले फर्म मै आएर खोप लगाएपछि डाँगीको चिन्दा दुर भएको छ । ‘अव एकवर्षलाई ढुक्क भइयो’ उनले खुसी व्यक्त गरे ।
सोही ठाउँ निवासी ठगेन्द्र डाँगीले पनि व्यवसायिक पशुपालन गर्दछन् । लामो समयदेखि उनीपनि गाइवस्तुलाई लाग्ने खोरेत रोगका कारण त्रसित छन् । पशुस्वास्थ्य कर्मी घरमै पुगेर निशुल्क खोरेत विरुद्धको खोप लगाएपछि उनी पनि निकै खुसी देखिन्छन् ।


तुलसीपुर उपमहानगरपालिकाले पशुपालक किसानहरुलाई सुविधाका लागि घरदैलोमै पुगेर खोरेत विरुद्धको खोप लगाउने कामको सुरुवात गरेको छ । पहिलो चरणमा व्यवसायिक रुपमा पशुपालन गर्नेहरुको फर्ममा पुगेर खोप लगाउने र दोस्रो चरणमा किसानहरुकै घरमा पुगेर सुविधा दिने पशु शाखा प्रमुख सुदाम भट्टले जानकारी दिए । प्रमुख भट्का अनुसार वैशाख २ गतेबाट वडा कार्यालयको समन्वयमा किसानहरुका पशुमा खोप दिइनेछ । ‘किसानहरुले वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ’ उनले भने ।

हरेक वर्ष सरकारले पठाउने खोप यो वर्ष भने समय सक्किन लाग्दा पनि नपठाएपछि किसानहरुले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए । ‘केन्द्रीय सरकारले जिम्मेवारी समयमै पुरा नगरेपनि हामी भने आफ्नो जिम्मेवारीवाट पन्छिएनौ’ नगरप्रमुख घनश्याम पाण्डेले वताए । प्रमुख पाण्डेले उपमहानगरपालिकाले आफै खोप खरिद गरेर किसानहरुलाई सेवा दिएको पनि वताए ।

उनले सरकारले ढिला गरेपछि उपमहानगरपालिका आफैले खोप खरिद गरेर खोप लगाएको पनि वताए । र्फममा रहेका पशुहरु समुहमा हिडेर कार्यालयसम्म जान नसक्ने भएकाले फर्म मै आएर खोप दिइएको स्वास्थ्य शाखा उपप्रमुख सुवास आचार्यले वताए । उनले खोरेत रोग हुने पशुहरु गाइ, भैसी र वंगुरलाई खोप दिइने पनि वताए । ‘पहिलो चरणमा पच्चिस सय पशुहरुलाई खोप दिइनेछ’ उनले किसानको आवश्यकता अनुसार खोप थप गरिने पनि वताए ।