शिक्षामा चौतर्फी समस्या


दाङ, चैत २७ । मंगलबार सार्वजनिक भएको घोराही उपमहानगरपालिका स्तरिय कक्षा आठको परिक्षा फल कमजोर देखिएपछि शैक्षिक गुणस्तरमा प्रश्न खडा भएको छ । सरकारले करोडौँ लगानी गरेको सामुदायीक विद्यालयको नतिजा अत्यन्तै कमजोर भएपछि अहिले एक पक्षले अर्को पक्षलाई दोषारोपण गर्ने क्रम चलेको छ ।

Buddha International Hospital
Advertise with us

बुधबार घोराहीमा भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागी भएका शिक्षक, विद्यार्थी, अधिकारकर्मी, सेवा प्रदायक निकायका प्रमुख र जनप्रतिनिधिहरुले नतिजा कमजोर आउनु शिक्षकको कमजोरीले मात्र नभएको बताए । मावि झिङ्नी बन्जाडीका शिक्षक बामदेव अधिकारीले शिक्षक दरबन्दीको अभाव रहेको बताउनुभयो । ‘मावि सञ्चालन भएको ७÷८ वर्ष भयो, अहिलेसम्म दरबन्दी छैन, तल्लो तहको जोडबलले मावि चलाउनु परेको छ ।’ शिक्षक अधिकारीले भन्नुभयो, ‘पुर्वाधार सोँचे अनुसारको छैन, खानेपानी र शौचालय जसोतसो चलिरहेकै छ ।’

घोराही उपमहानगरपालिका क्षेत्रका अधिकांश माविमा दरबन्दी छैनन् । भए पनि निक्कै कम दरबन्दीको भरमा विद्यालयले पठनपाठन गराउनु पर्ने बाध्यता रहेको छ । मावि जजरागाउँका शिक्षक ध्रुवराज अधिकारीले पनि माविमा दरबन्दी नहुँनु, नीजिस्रोतबाट शिक्षक व्यवस्था गर्न नसक्दा निमावि तहका शिक्षकले मावि पढाउनु पर्ने अबस्था आएको बताउनुभयो ।

घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका स्रोत ब्यक्ति विप्लव अधिकारीले वर्गीय शिक्षाका कारण समस्या रहेको बताउनुभयो । ‘धनी र गरिवले पढ्ने दुई वटा शिक्षा छ, हुने खानेका बालबालिकाहरुको शिक्षाको लागि अभिभावक सचेत छन्, सामुदायिक विद्यालयमा अध्ययन गराएपनि चासो दिन्छन्’ अधिकारीले भन्नुभयो, ‘तर गरिव र विपन्न समुदायका बालबालिकाको शिक्षा कस्तो छ भन्ने बारेमा अभिभावकले चासो लिन सकेका छैनन् ।’ अधिकारीले शिक्षक, भौतिक पुर्वाधार लगाएतको विषयमा सुधार गर्नका लागि ४ करोडको बजेट र कार्यक्रम बनाएको भएपनि यो वर्ष ५६ लाखमा झारेर कार्यक्रम बनाईएको बताउनुभयो ।शिक्षा महाशाखा प्रमुख नारायण पौडेलले शिक्षकहरु राजनीतिकै लागि जागिर खाएको महसुस गरेको बताउनुभयो । कक्षा आठको कापी जाँच गर्ने शिक्षक नपाएको गुनासो गर्दै प्रमुख पौडेलले ३ प्रतिशत स्थायी शिक्षकले मात्र सहयोग गरेको र बाँकी अस्थायी र नीजि शिक्षकहरुले कापी जाँचेको बताउनुभयो । शिक्षकहरुलाई नै निरन्तर मुल्यांकन, ग्रेडिङ प्रणाली, पाठ्यपुस्तकको विशिष्टिकरणका विषयहरु नै थाहा नभएको पौडेलले बताउनुभयो ।

ईन्सेक दाङ र मानव अधिकार निगरानी समूहले आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी सेवा प्रदायक निकाय र सेवाग्राही विचको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव रहेको बताएका थिए । स्वास्थ्य महाशाखा प्रमुख नारायण घर्तिले औषधि खरिदसम्बन्धी स्पष्ट कानुन नहुँदा समस्या भएको बताउनुभयो । प्रत्येक वडामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि संरचना निर्माण सहितको काम सुरु भैसकेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका उपमेयर सिता सिग्देल न्यौपानेले खाद्य सुरक्षा सम्बन्धी अधिकारको बारेमा जानकारी दिदै उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण शाखा निर्माण भएको बताउनुभयो । अनुगमनका लागि वडा नं. १०, १४ र १५ मा काम भैरहेको, र अनियमितता गर्नेहरुलाई कारबाही गर्नका लागि कार्यविधि समेत निर्माण भएको बताउनुभयो । ईन्सेक नेपालगंजका फोकल पर्सन सरस्वती मल्लको स्वागत तथा विषय प्रबेशमा भएको कार्यक्रमको अध्यक्षता केशवकुमार शर्माले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण ईन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले गर्नुभएको थियो ।

Advertise with us